आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केपी ओली कप क्रिकेट : मधेस प्रदेशले सजिलै हरायो सुदूरपश्चिम प्रदेशलाई

मङ्गलबार, ०१ जेठ २०८१, १६ : ०९
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशको टोलीलाई आठ विकेटले हराएको छ । समूह ‘सी’ अन्तर्गतको खेलमा मधेस प्रदेशको यो पहिलो जित हो ।

यसअघि आइतबार खेलिएको आफ्नो पहिलो खेलमा मधेस प्रदेशको टोली नेपाल पुलिस क्लबसँग ५७ रनले पराजित भएको थियो । समूह ‘सी’ मा एक खेल खेलेको विभागीय टोली नेपाल पुलिस क्लब दुई अंकसहित पहिलो र दुई खेल खेलेको मधेस प्रदेश दुई अंकसहित दोस्रो स्थानमा छन् । 

एक खेल खेलेको सुदूरपश्चिम प्रदेशले भने अंक जोड्न सकेको छैन । सोमबार पोखरा रंगशालामा खेलिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले १५.५ ओभरमा अलआउट हुनुअघि ५८ रनमात्र बनाउन सकेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको मधेस प्रदेशले भने ४.४ ओभरमै केवल दुई विकेट गुमाएर ६२ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । मधेस प्रदेशको जितमा ओपनर अनिल साहले २५ रनको योगदान गरे । उनले केवल ११ बलमा दुई छक्का र तीन चौका हिर्काएका थिए । 

इमरान शेखले पनि टोलीका लागि अविजित १७ रनको योगदान गरे । उनले केवल नौ बलमा एक छक्का र दुई चौका पनि प्रहार गरे । पवन सर्राफले केवल पाँच बलमा एक छक्का र दुई चौकाको मद्दतले अविजित १४ रन बनाए ।

मधेस प्रदेशका कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान हरिशंकर साह भने खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । सुदूरपश्चिम प्रदेशका बलर गजेन्द्र बोहराले दुई विकेट लिए । मधेस प्रदेशले अतिरिक्त रुपमा ६ रन पाएको थियो ।

त्यसअघि सुदूरपश्चिम प्रदेशलाई सस्तोमा समेट्ने क्रममा मधेस प्रदेशका बलर हरिशंकर साह एक्लैले चार विकेट लिएका थिए । उनले चार ओभरमा केवल ११ रन खर्चिएका थिए । रुपेश सिंहले तीन विकेट हात पारेका थिए । विशाल पटेल, प्रदिप पासवान र विशाल सुसलिङले पनि एक—एक विकेट लिए ।

सुदूरपश्चिम प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । तल्लोक्रमका ब्याट्सम्यान नरेन साउदले सर्वाधिक १८ रन बनाए । भोजराज भट्ट र किरण ठगुन्नाले १०—१० रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप