आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आर्मीले सजिलै हरायो मदन भण्डारी स्पोर्टस एकेडेमीलाई

मङ्गलबार, ०१ जेठ २०८१, १६ : ३४
मङ्गलबार, ०१ जेठ २०८१

काठमाडौँ । पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले मदन भण्डारी स्पोर्टस एकेडेमीको ‘निलो’ टोलीलाई एक सय १० रनको फराकिलो अन्तरले हराएको छ । 

समूह ‘डी’ अन्तर्गत खेलिएको यो पहिलो खेल हो । पोखरा रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको त्रिभुवन आर्मी क्लबले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ९५ रनको विशाल योगफल तयार पारेको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको भण्डारी स्पोर्टस एकेडेमीको ‘निलो’ टोलीले भने १५.४ ओभरमै अलआउट हुनुअघि ८५ रनमात्र बनाउन सक्यो । त्रिभुवन आर्मी क्लबले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेको थियो । 

आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान सन्तोष कार्कीले ४१ रनको योगदान गरे । उनले केवल ३५ बलको सामना गरी सात चौका हिर्काएका थिए । सन्तोष र कप्तान विनोद भण्डारीले ओपनिङ विकेटका लागि ६८ रनको साझेदारी गरेका थिए । विकेट किपर ब्याट्सम्यान विनोदले टोलीको खातामा ३८ रन थपे । उनले केवल २४ बलको सामना गरी तीन छक्का र तीन चौका हिर्काएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान बसिर अहमदले पनि केवल १४ बलमा एक छक्का र दुई चौकाको मद्दतले २३ रन बनाए ।

यसैगरी चौथो नम्बरमा क्रिज समाल्न आएका कुशल मल्लले टोलीको खातामा २५ रन थपे । उनले २१ बलमा तीन छक्का हिर्काएका थिए । रोहित पौडेलले ६ बलमा एक छक्का र एक चौकाको मद्दतले १२ रनको योगदान गरेका थिए ।

छैटौँ नम्बरमा क्रिज समाल्न आएका बिवेक यादवले पनि अविजित २९ रन बनाए । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल १४ बलमा दुई छक्का र तीन चौका पनि हिर्काएका थिए । सन्दीप रजालीले ६ रन बनाए भने भीम सार्कीले अविजित ६ रन जोडे । भण्डारी स्पोर्टस एकेडेमीको ‘निलो’ टोलीका बलर मेहुल श्रेष्ठले दुई विकेट लिए । धवन साहनी, सुभम खनाल र कुशल रुपाखेतीले एक—एक विकेट हात पारे । त्रिभुवन आर्मी क्लबले अतिरिक्त रुपमा पनि १५ रन पाएको थियो । 

निकै ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भण्डारी स्पोर्टस एकेडेमीको ‘निलो’ टोलीका लागि कप्तान निर्भिक पाठकले सर्वाधिक २८ रन बनाए । उनले २३ बलमा एक छक्का र पाँच चौका हिर्काएका थिए । 

रणवीर यादबले १६, ओपनर रोनिम तिवारीले १५ र साइमन रोयले १० रन बनाए । भण्डारी स्पोर्टस एकेडेमीको ‘निलो’ टोलीका अन्य ब्याट्सम्यानले भने दोहोरो संख्यामा रन बनाउन सकेनन् । त्रिभुवन आर्मी क्लबका बलर कुशल मल्लले तीन विकेट लिए ।

कुशलले १.४ ओभरमा केवल दुई रन खर्चिएका थिए । जितेन्द्र मुखिया र साहब आलमले पनि दुई—दुई विकेट लिए । जितेन्द्रले दुई ओभरमा १५ र साहब आलमले चार ओभरमा १९ रन खर्चिएका थिए । रोहित पौडेल र बिवेक यादबले पनि एक—एक विकेट हात पारे । उक्त खेलमा कुशल मल्ल प्लेयर अफ दी म्याच घोषित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप