आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पुलिस क्लब सुदूरपश्चिमसँग हारेपछि भाग्यमानी बन्यो मधेस प्रदेश

शुक्रबार, ३२ जेठ २०८१, १३ : ४६
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिस क्लबमाथि चार विकेटको रोमाञ्चक जित हासिल गरेको छ । 

सुदूरपश्चिम प्रदेशको जितले मधेस प्रदेशलाई फाइदा पुगेको छ । समूह ‘सी’ मा रहेका तीन वटै टोलीले दुई—दुई खेल खेलिसक्दा मधेस प्रदेश, पुलिस क्लब र सुदूरपश्चिम प्रदेशको दुई—दुई अंक छ । तर, नेट रन रेटमा मधेस प्रदेश सबैभन्दा अगाडि छ । 

मधेस प्रदेशको नेट रन रेट १.४७२, पुलिस क्लबको नेट रन रेट १.०८४ र सुदूरपश्चिम प्रदेशको नेट रन रेट —३.२२९ रहेको छ । प्रतियोगितामा चारवटा समूह छन् । प्रत्येक समूहको विजेता टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने प्रावधान छ । 

पोखरा रंगशालामा मंगलबार टस जिती पहिले ब्याटिङ रोजेको पुलिस क्लबले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ५८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले १८.४ ओभरमा ६ विकेट गुमाएर एक सय ६२ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।

सुदूरपश्चिम प्रदेशका लागि किरण ठगुन्नाले अर्धसतकीय पाली खेले । छैटौँ नम्बरमा क्रिज समाल्न आएका किरणले अविजित ५१ रन बनाए । उनले आक्रामक पाली खेल्दै केवल ३४ बलमा दुई छक्का र चार चौका हिर्काएका थिए । 

सातौँ नम्बरका ब्याट्सम्यान नरेन साउदले पनि टोलीको जितमा ३९ रनको योगदान गरे । उनले ३० बलमा एक छक्का र पाँच चौका हिर्काएका थिए । नारायण जोशीले पनि टोलीको जितमा अविजित १७ रनको योगदान गरेका थिए । 

त्यसअघि ओपनर ब्याट्सम्यान राजु रिजालले १९ रन बनाएका थिए । उनी टोलीका कप्तान पनि हुन् । वसन्त कार्कीले १५ रन जोडेका थिए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा १६ रन पाएको थियो । पुलिस क्लबका बलर रसिद खानले तीन विकेट लिए । सुनिल धमला र सागर ढकालले पनि एक—एक विकेट हात पारे । 

त्यसअघि पुलिस क्लबका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट अर्धसतकीय पाली खेलेका थिए । तर, टोलीको जितमा त्यो पर्याप्त हुन सकेन । कुशलले ६७ रन बनाएका थिए । उनले केवल ५१ बलमा पाँच छक्का र पाँच चौका हिर्काएका थिए ।

कुशल र सुनिल धमलाले ओपनिङ विकेटका लागि एक सय चार रनको साझेदारी गरेका थिए । सुनिलले टोलीको खातामा ४२ रन थपे । उनले ४० बलको सामना गरी दुई छक्का र दुई चौका हिर्काएका थिए । 

तेस्रो नम्बरका ब्याट्सम्यान अर्जुन साउदले पनि २० रन बनाए । पुलिस क्लबले अतिरिक्त रूपमा १६ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर विकास आग्रीले दुई विकेट लिए । भोजराज भट्ट र वसन्त खत्रीले पनि एक—एक विकेट हात पारे । उक्त खेलमा किरण ठगुन्ना प्लेयर अफ दी म्याच घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप