आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रास्वपाको मधेस रणनीति

के मधेसमा बज्ला रवि लामिछानेको 'घण्टी' ?

शुक्रबार, ३२ जेठ २०८१, १६ : १५
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पछिल्लो समय मधेसमा केन्द्रित देखिएको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, डा.सीके राउत नेतृत्वको जनमत पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीको हालीमुहाली रहेको मधेसमा राष्ट्रिय स्वतन्त्र पार्टीले सक्रियता बढाएको छ ।

मंसिर ८ गतेदेखि मधेस छिरेका रास्वपाका सभापति रवि लामिछानेले मधेस प्रदेशका आठ वटै जिल्लामा सम्मेलन गरिसकेका छन् । अहिले महोत्तरीको जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक चलिरहेको छ ।

महोत्तरी जलेश्वरमा राजनीतिक गतिविधि प्रायः हुँदैन । महोत्तरीको बर्दिवासमा या धनुषाको जनकपुरमा केन्द्रित हुने राजनीतिक गतिविधिलाई भत्काउँदै सभापति लामिछानेले मधेसमा आफ्नो सन्देश छाड्न जलेश्वरलाई रोजेका हुन् ।

तर पहाडमा जसरी रवि लामिछानेको चुनाव चिह्न ‘घण्टी’ बजेको छ, त्यसरी मधेसमा बज्छ कि बज्दैन भन्नेबारे सर्वत्र चासो छ । मधेसको मुद्दा तथा संघीयताको विषयमा रास्वपा स्पष्ट नभएका कारण मधेसमा ‘घण्टी’ बजाउन गाह्रो हुने बताउँछन् जनकपुरका प्राध्यापक भोगेन्द्र झा ।

उनी भन्छन्, ‘अहिले परम्परावादी दलको विकल्प जनताले खोजिरहेका छन् तर मधेसमा रवि लामिछानेको स्वतन्त्र पार्टी विकल्प हुनसक्छ भन्ने ग्यारेन्टी छैन किनभने त्यो पार्टी मधेसको मुद्दाप्रति स्पष्ट छैन ।’

संघीय, गणतन्त्रप्रति जो स्पष्ट हुँदैन, त्यो मधेसको हुन नसक्ने उनले प्रस्ट पारे । उनले मधेसको मुद्दा, नागरिकताको सवाल, संघीयता, गणतन्त्रको विषयमा स्पष्ट नभएसम्म मधेसमा रास्वपाको ‘घण्टी’ बज्ने सम्भावना नरहेको बताए ।

यद्यपि जनताको मुभमेन्टलाई कसैले पहिचान गर्न सकेका छैनन्, जनता विकल्पको नाममा भिडको पछाडि कुद्न थालेका कारण रवि लामिछानेले पनि त्यसको फाइदा लिनसक्ने प्राध्यापक झा बताउँछन् ।

त्यसो त, बारा–२ मा भएको उपचुनावमा रास्वपाले रमेश खरेललाई उम्मेदवार बनाएको थियो । तर नतिजा उत्साहजनक भएन । खरेलको जमानत नै जफत भएको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित हुँदा खरेलले २ हजार ८२९ मत मात्र ल्याएका थिए ।

सप्तरीका सामाजिक अभियन्ता बलराम यादवले भने, ‘रवि लामिछानेका लागि पहाडजस्तो सजिलो मधेस छैन, पहाडमा उपेन्द्र यादवको पनि संगठन छ तर चुनावमा नतिजा ल्याउन सक्दैन, त्यस्तै मधेसमा आफ्नो उपस्थिति देखाउनका लागि रविजी आउनु भएको होला तर यहाँ उहाँको घण्टी बज्दैन ।’

रास्वपा मधेसको एजेण्डामा स्पष्ट नभएको उनको जिकिर छ ।  ‘जलेश्वरमा बैठक चलिरहेको छ । आशा गरौँ, मधेसको मुद्दा र संघीय लोकतन्त्रको बारेमा स्पष्ट गर्लान् । त्यसपछि मधेसी जनताले त्यो पार्टीको बारेमा आफ्नो धारणा बनाउँछन्,’ अभियन्ता यादवले भने ।

तर मधेसी जनतालाई लोभ्याउन सजिलो रहेको बताउँदै उनले ठुलाठुला गफ दिएपछि मधेसी जनताले झट्ट विश्वास गरिहाल्ने भएकाले रवि लामिछानेको पार्टीले त्यस्तो अवस्थाको फाइदा उठाउन सक्ने उनले स्वीकार गरे । यद्यपि अवस्था त्यति सजिलो नरहेको उनको भनाइ छ ।

रास्वपाले पहिलो पटक मधेसमा पार्टीका केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आयोजना गरेको हो । रास्वपामा पदाधिकारीसहित ३९ र संघीय सांसद २१ जना छन् । 

रास्वपाले २०७९ मंसिरको आम निर्वाचन र २०८० वैशाखको उपनिर्वाचनमा मधेसमा अपेक्षित मत पाएको थिएन । समानुपातिकतर्फ ११ लाख ३० हजार ३४४ मतसहित चौथो दल बनेको रास्वपा मधेस प्रदेशमा आठौँ स्थानमा थियो । उसले मधेस प्रदेशका आठ जिल्लाबाट ७२ हजार ९३५ मत पाएको थियो ।

मधेस प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमध्ये करिब २५ क्षेत्रमा मात्र रास्वपाले उम्मेदवार खडा गरेको थियो । मधेसमा रास्वपाका कुनै पनि उम्मेदवार प्रतिस्पर्धामै आउन सकेनन् । मधेसमा रास्वपाका कुनै पनि उम्मेदवारले चार हजारभन्दा बढी मत पाउन सकेनन् ।

त्यही कुरालाई मध्यनजर गर्दै रास्वपाले रणनीतिक ढंगबाट मधेसमा ‘इन्ट्री’ गरेको सिरहाका प्राध्यापक अनिरुद्र ठाकुर बताउँछन् । उनले भने, ‘मधेसका जनता पनि विकल्पको खोजीमा छन् तर रवि लामिछानेको पार्टी विकल्प हुनसक्छ भन्ने छैन, रवि लामिछाने आफैँमा ठिक भए पनि मधेसमा उनको नेता तथा कार्यकर्ता छैनन्, त्यही भएर त्यो पार्टीप्रति झुकाव देखिएको छैन ।’

उनले रवि लामिछानेले मधेसमा संगठन बढाउन मधेसी जनताको मन जित्नुपर्ने बताए । तर तत्काल त्यस्तो सम्भावना नदेखिएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप