आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केएमसी कम्प्युटर क्लबले आयोजना गर्दैछ ई-स्पोर्टस् प्रतियोगिता

शुक्रबार, ३२ जेठ २०८१, १६ : २७
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । पछिल्लो समय नेपालमा पनि लोकप्रिय बन्दै गएको खेल हो, ‘ई-स्पोर्टस्।’ थुप्रै नेपाली खेलाडीले ‘ई-स्पोर्टस’ खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन पनि गरिसकेका छन् । 

हालै चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा समेत यो खेललाई समावेश गरिएको थियो । खासगरी युवाहरुमाझ यो खेलको लोकप्रियता आकासिँदो छ । यही तथ्यलाई ध्यानमा राखी काठमाडौँ मोडेल सेकेन्डरी स्कुल (केएमसी) का विद्यार्थीहरुले पनि ‘ई-स्पोर्टस’ प्रतियोगिता आयोजना गर्दैछन् । 

केएमसीको ‘कम्प्युटर क्लब’ मा आबद्ध विद्यार्थीहरुले ‘ई-स्पोर्टस’ प्रतियोगिता आयोजना गर्न लागेका हुन् । ‘पछिल्लो समय नेपाली युवामाझ ई-स्पोर्टस्खेल निकै लोकप्रिय बन्दै गएको छ । खासगरी कम्प्युटर प्रविधिसँग जोडिएको यो खेल अन्तर्राष्ट्रिय स्तरमा पनि उत्तिकै लोकप्रिय छ । त्यसैले युवावर्गको रुचिलाई ध्यानमा राखी हामीले ई-स्पोर्टस्प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ केएमसी कम्प्युटर क्लबका सचिव सहमत दाहाल भन्छन् । 

उनको बुझाइमा नेपालका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पदक भित्राउने पर्याप्त सम्भावना बोकेको खेल पनि हो, ई-स्पोर्टस्। ‘अहिले पनि कतिपय अभिभावक आफ्ना छोराछोरीले यो खेल खेलेको खासै रुचाउनु हुन्न । तर यथार्थ के हो भने, विज्ञान र प्रविधिले निकै ठुलो फड्को मारेको आजको युगमा ई-स्पोर्टस्खेल अन्तर्राष्ट्रिय जगतमा देशको गौरव बढाउने प्रभावकारी माध्यम हो । भविष्यमा यो खेलमा लाग्ने खेलाडीले गतिलो नाम र दाम पनि आर्जन गर्न सक्छन्,’ सहमत भन्छन् ।

आगामी आगामी आइतबार सुरु हुने ई-स्पोर्टस्प्रतियोगिता सात दिनसम्म चल्नेछ । प्रतियोगितामा सहभागिता जनाउन चाहनेहरूका लागि रजिस्ट्रेसन पनि खुला भइसकेको जानकारी सहमतले दिए । केएमसीमा दिप्सन शर्माको अध्यक्षतामा १० सदस्यीय कम्प्युटर क्लब गठन गरिएको छ । सहमतका अनुसार, क्लबले विभिन्न रचनात्मक कार्य र प्रविधिसँग जोडिएका खेलकुद गतिविधि पनि आयोजना गर्दै आएको छ ।

‘यसपटक हामीले सबैसँग सल्लाह गरेर ई-स्पोर्टस्प्रतियोगिता आयोजना गर्ने निर्णय लिएका हौँ । विद्यालय प्रशासनले पनि हाम्रो हौसला बढाउनु भएको छ । प्रतियोगिता सफल हुनेमा हामी विश्वस्त छौँ,’ उनी भन्छन् । विद्यार्थीले आयोजना गर्न लागेको यो प्रतियोगितालाई आईएमई पेले पनि साथ दिएको उनी बताउँछन् । 

प्रतियोगितामा ३२ वटा टोलीको सहभागिता रहने जानकारी उनले दिए । उनका अनुसार, प्रतियोगितामा पहिलो हुने टोलीले ३० हजार र दोस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार पनि प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी हुन चाहने टोलीका लागि एक हजार पाँच सय रुपैयाँ रजिस्ट्रेसन शुल्क निर्धारण गरिएको छ । 

प्रत्येक टोलीमा बढीमा सातजना खेलाडी सहभागी हुनेछन् । तर, एकपटकमा बढीमा पाँचजना खेलाडीले मात्र आफ्नो कौशल प्रदर्शन गर्न पाउने छन् । प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थी खेलाडीले भने अनिवार्य रूपमा अभिभावकको सहमति लिनु पर्ने प्रावधान राखिएको छ । 

यो प्रतियोगितामा देशभरिका खेलाडीले सहभागिता जनाउन पाउने जानकारी पनि सहमतले दिए । ‘देशभरका खेलाडीले यो प्रतियोगितामा भाग लिन पाउँछन् । तर, विद्यार्थी खेलाडीले भने अनिवार्य रूपमा अभिभावकको सहमति लिनु पर्नेछ,’ उनले भने । 

प्रतियोगिताको पहिलो चरणको खेल ‘अनलाइन’ खेलाइने छ । त्यसपछि दोस्रो चरणमा क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेल भने आयोजकले निर्धारण गरेको ‘भेन्यू’ मै पुगेर खेल्नु पर्ने प्रावधान राखिएको छ । खासगरी सन् २०२० पछि विश्वव्यापी रूपमा ई-स्पोर्टस्खेल सुरु भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप