आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपा संयुक्त बैठकको दोस्रो दिन : के–के विषयमा भयो छलफल ?

बिहीबार, २७ वैशाख २०८१, २० : ३९
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको दोस्रो दिन तीन वटा प्रस्तावमाथि छलफल भएको छ ।

मधेस प्रदेशको महोत्तरीस्थित जलेश्वरमा मंगलबारदेखि जारी संयुक्त बैठकमा दोस्रो दिन पार्टीको लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।  

उपाध्यक्ष डीपी अर्यालका अनुसार पार्टी स्थापनादेखि अहिलेसम्म सवा ६ करोड पार्टीको आम्दानी र करिब पाँच करोड खर्च देखिन्छ । रास्वापाले निर्वाचन आयोग र कर कार्यालयमा समयमै आफ्नो पार्टीको आर्थिक प्रतिवेदन बुझाएको लेखा आयोगको प्रस्तुत प्रतिवेदनमा उल्लेख रहेको उनको भनाइ छ ।

पार्टीको प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले अहिलेसम्म प्रशिक्षण सम्बन्धी भए गरेका कुरा पेस गरेका थिए । यस्तै सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले बैठकमा पार्टीको सांगठनिक प्रतिवेदन पेस गरेका थिए । बैठकमा प्रस्तुत प्रतिवेदनमाथि लिखित र मौखिक सुझावहरु आएको उपसभापति अर्यालले जानकारी दिए ।

१६५ वटा निर्वाचन क्षेत्रमध्ये १५२ क्षेत्र समिति बनेको बुर्लाकोटीको प्रतिवेदनमा उल्लेख छ । बैठकमा महाधिवेशनको एजेण्डा पनि प्रवेश भएको अर्यालले बताए । यस्तै पदाधिकारी थप्न विषय बैठकको एजेण्डामा नरहेको बताए ।

‘पदाधिकारी थप्ने विषयमा मलाई थाहा छैन । मसँग कुनै छलफल भएको छैन । पदाधिकारी थप्ने निर्णय हुँदैन । यो एजेण्डा नै छैन । जे हो मैले त्यही बताउने हो,’ अर्यालले रातोपाटीसँग भने । आज संयुक्त बैठकअघि बसेको संसदीय दलको बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय  दलकोतर्फबाट प्रतिवेदन पेस गरेका थिए ।

यसअघि सोमबारको बैठकमा केन्द्रीय अनुशासन आयोग र प्रदेशहरूबाट साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । पहिलो दिन रास्वपाका सांसदहरुले रिपोर्ट पनि प्रस्तुत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप