आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
चलचित्र

मङ्सिरमा फिल्मको खडेरी किन ?

सोमबार, २८ जेठ २०८१, १३ : २५
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । हलमा नयाँ नेपाली फिल्म कुर्ने दर्शक दुई हप्तादेखि निराश छन् । गत कार्तिक २४ मा प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’पछि कुनै पनि नयाँ नेपाली फिल्म रिलिज भएकै छैन । आफ्नो फिल्म प्रदर्शनका लागि सधैँ हानथाप गर्ने निर्माता, निर्देशकहरू मङ्सिरमा मौन छन् ।

मङ्सिरको पहिलो साता कुनै पनि फिल्म रिलिज भएन । रिलिज क्यालेन्डर हेर्दा पहिलोमात्र होइन, दोस्रो र तेस्रो साता पनि नयाँ फिल्म नआउने देखिन्छ । किनभने यी दुई साताका लागि अहिलेसम्म कुनै पनि फिल्मले प्रदर्शन मिति तोकेका छैनन् ।

मङ्सिरको अन्तिमतिर अर्थात् २९ गते भने फिल्म ‘जम्प’ र ‘दुई कदम’ प्रदर्शनमा आउने देखिन्छ । ‘दुई कदम’ उदय सुब्बाले निर्देशन गरेको फिल्म हो भने ‘जम्प’का निर्देशक आशुतोषध्वज कार्की हुन् । यी दुवै फिल्ममध्ये कुनै एक २९ मङ्सिरमा नआएर त्यस अगाडिको मितिमा आउने हो भने दुवैले सिङ्गल रिलिजको अवसर पाउँथे । तर अन्य समय बलिउडका राम्रा फिल्म भएकाले सिङ्गल रिलिजको अवसर छोडेर अहिलेसम्म दुवै फिल्म २९ मङ्सिरमै एक अर्काेसँग भिड्ने मुडमा छन् ।

jump movie poster (1)

सोही अनुसार दुवै फिल्मको अहिले प्रचार प्रसार भइरहेको छ । प्रचार प्रसारमा ‘जम्प’ भन्दा ‘दुई कदम’ नै अगाडि देखिन्छ ।

कस्ता छन् फिल्म ?

नेपाली फिल्मको रिलिज तालिका कताकता नमिलेको देखिन्छ । कुनै मितिमा स्टार कलाकारले भरिएका फिल्म भिड्छन् भने कुनै मितिमा नयाँ कलाकारले भरिएको फिल्म मात्र रिलिज हुन्छ ।

मङ्सिर २९ मा प्रदर्शनको तयारीमा रहेका दुई फिल्म ‘जम्प’ र ‘दुई कदम’ हेर्ने हो मिक्स देखिन्छ । ‘दुई कदम’ सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ लगायत नाम चलेका कलाकारले भरिएको छ भने ‘जम्प’ सरोज श्रेष्ठ, सन्देश शाक्य, बिनिता थापा मगर, मन्जिल जिसी, सगुन तामाङ, रोशनी स्याङ्बो, शंकर महर्जन लगायत नाम धेरै नसुनिएका कलाकारको अभिनय छ । दुवै निर्माण युनिटले आफ्नो फिल्म नराम्रो भन्ने त कुरै भएन ।

‘दुई कदम’को एक गीतमा अभिनेत्री वर्षा सिवाकोटीको समेत अभिनय छ । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको ‘दुई कदम’ तारा देवी लिम्बुको लगानीमा तयार भएको हो ।

Ion and Barsha (1)

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायाङ्कन, ताराप्रकाश लिम्बु र विकास चौधरीको संगीत, राजु किराँतीको द्वन्द्व निर्देशन रहेको फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

त्यस्तै ‘जम्प’ साइकोलोजिकल थ्रिलर जनरामा बनेको  फिल्म हो । क्रिएटिभ माकुरा टिमका आशुतोष ध्वज कार्की, प्रसन थापा, देवेश राजकर्णिकार, अंकित सिंह, एन्जेलिका खत्री, निरोज महर्जन, विपिन कपाली, अरिश राजकर्णिकार, सम्राट खनाल र सुरज कटुवालले मिलेर फिल्म बनाएका हुन् ।

विदेशी फिल्म फेस्टिभलमा आफ्नो दरिलो उपस्थिति जनाइसकेको ‘जम्प’ले नेपाली दर्शकलाई छुट्टै स्वाद दिने बताइन्छ । फिल्मका वितरक गोविन्द शाही हुन् ।

किन फिल्मको खडेरी ?

४ शुक्रबार भएको मङ्सिर महिनामा अहिले हेर्दा एउटा शुक्रबार (२९ गते) मात्र नेपाली फिल्म रिलिज हुने देखिएको छ । त्यो हुनु भनेको यो महिना फिल्मको खडेरी देखिनु हो ।

फिल्म क्षेत्रका व्यक्ति भने मङ्सिरमा देखिएको फिल्म अभावलाई खडेरी मान्न तयार छैनन् । कोही मङ्सिर फिल्मको व्यवसायको नहुने महिना भएकाले फिल्मको अभाव भएको बताउँछन् । कोही भने निर्माता निर्देशक राम्रो मितिको पछि लागेका कारण फिल्म अभाव भएको तर्क गर्दछन् ।

चलचित्र वितरक गोपालकाजी कायस्था पहिले देखिनै फिल्मको व्यवसायका लागि मङ्सिर राम्रो नमानिने भएकाले अभाव देखिएको बताउँछन् ।'

gopal-kayastha

‘विगतका वर्षहरुमा पनि मङ्सिर र पुषमा फिल्मको अभाव हुने गरेको थियो’, कायस्थाले भने ‘त्यसको मुख्य कारण व्यवसाय हो ।’

मङ्सिरमा फिल्मको ब्यवसाय भएको आफुले अहिलेसम्म अनुभव गर्न नपाएको कायस्थाको भनाई छ ।

वितरक गोविन्द शाहीको भनाइ भने कायस्थाभन्दा फरक छ । शाही मङ्सिरमा प्रदर्शनका लागि फिल्म तयार नहुनु नै अभावको मुख्य कारण रहेको बताउँछन् ।

‘निर्माण पूरा भएका फिल्म दसैँ र तिहारमा रिलिज भए,’ उनले भने, ‘पोष्टप्रोडक्सनमा रहेका फिल्मले फागुनदेखि पछाडिको समय रिलिज मिति जुराएका छन् ।’

मङ्सिरमा मात्र होइन, पुसमा पनि फिल्म कम हुने शाहीको भनाइ छ ।

निर्माता विनयराम श्रेष्ठ भने गोपालकाजी कायस्थाको विचारसँग सहमति जनाउँछन् । उनी पनि मङ्सिरमा फिल्मको व्यवसाय नहुने देखेर फिल्म अभाव भएको बताउँछन् ।

‘अलि पहिले मेरो फिल्म सत्यदीप पनि मङ्सिरमा रिलिज गर्ने कुरो थियो’, श्रेष्ठले भने, ‘धेरैले यो समय राम्रो व्यवसाय हँुदैन भनेपछि मैले अन्य महिना रोजेँ ।’ मङ्सिरमा फिल्म अभाव देखिनुको मुख्य कारण व्यवसाय नहुनु नै रहेको श्रेष्ठको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप