आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहायक क्याम्पस प्रमुखलाई ११ लाख ४३ हजार रुपैयाँ भुक्तानी गर्न श्रम अदालतको फैसला

सोमबार, २८ जेठ २०८१, १६ : ४५
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । श्रम अदालतले सहिद रामनाथ दाहाल स्मृति एकेडेमीले तत्कालीन सहायक क्याम्पस प्रमुख उमेश चन्द्र अधिकारीलाई ११ लाख ४३ हजार रुपैयाँ पारिश्रमिक भुक्तानी गर्नुपर्ने फैसला गरेको छ । अदालतका न्यायाधीशत्रय वासुदेव आचार्य, प्रेम कुमार राई र निशा बानियाँको संयुक्त इजलासले वनस्थलीमा रहेको उक्त एकेडेमीले पारिश्रमिक भुक्तानी गर्नुपर्ने फैसला गरेको हो । 

अधिकारी उक्त एकेडेमीमा २०६५ वैशाख ४ देखि नेपाली विषयको प्राध्यापकको रूपमा कार्यरत रहेकोमा २०७३ फागुन १ देखि सहायक क्याम्पस प्रमुखको जिम्मेवारीमा थिए । 

तर एकेडेमीले सहायक क्याम्पस प्रमुखको जिम्मेवारी दिए पनि पेस्कीको रूपमा मात्रै पारिश्रमिक दिएको थियो । अधिकारीले २०७८ असार २१ मा राजीनामा दिँदा एकेडेमीले पाउनुपर्ने जति तलब नदिएपछि उनी श्रम तथा रोजगार कार्यालयको शरणमा पुगेका थिए । सो कार्यालयले एकेडेमीकै पक्षमा हुनेगरी निर्णय गरेपछि उनले श्रम अदालतमा पुनरावेदन दिएकोमा हाल आएर पारिश्रमिक दिनुपर्ने फैसला भएको हो ।  

अदालतको फैसलामा भनिएको छ, ‘पुनरावेदकले प्रत्यर्थी प्रतिष्ठानमा कार्यरत भई सेवा गरेको र मिति २०७८।०३।२१ मा राजीनामा दिई सेवा बापतको बाँकी रकम भुक्तानी माग गरेकोमा उक्त प्रतिष्ठानबाट मिति २०७३ फागुन देखि २०७६ असारसम्मको पाउन बाँकी रकम ११ लाख ४३ हजार ५६ रहेको भन्ने मिसिल संलग्न विवरणबाट देखिएको र सो रकम भुक्तानी भएको भन्ने प्रमाण प्रतिष्ठानले पेस गर्न सकेको नदेखिँदा दाबीको रकम भुक्तानी गर्नुपर्ने देखियो ।’ 

श्रम तथा रोजगार  कार्यालयले गरेको निर्णय भुक्तानीका सम्बन्धमा बोलेको नदेखिँदा सो हदसम्म नमिलेको देखिँदा बदर हुने ठहर पनि अदालतले गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप