आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
च्याम्पियन्स ट्रफी

भारत र पाकिस्तानबिचको राजनीतिक सम्बन्धको छाया च्याम्पियन्स ट्रफीमा पनि, प्रतियोगिता अन्यत्र सार्न दबाब

सोमबार, २८ जेठ २०८१, १८ : ४२
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपपछिको सबैभन्दा ठुलो प्रतियोगिता हो, च्याम्पियन्स ट्रफी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले च्याम्पियन्स ट्रफीको आगामी संस्करण पाकिस्तानमा आयोजना गर्ने निर्णय लिएको थियो ।

हालै सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटको अङ्क तालिकामा सातौँ स्थानसम्म आउने टोलीले च्याम्पियन्स ट्रफीको आगामी संस्करण खेल्न पाउने प्रावधान आईसीसीले राखेको थियो । आईसीसीले त्यो जानकारी पनि एकदिवसीय विश्वकपको मध्यतिर पुगेर दिएको थियो ।

 यस विषयमा आईसीसीले ढिलो जानकारी गराएको भन्दै इङ्ल्यान्ड, बंगलादेशलगायतका राष्ट्रले आपत्ति पनि जनाएका थिए । एकदिवसीय विश्वकप तालिकामा बंगलादेश आठौँ भएको थियो । तालिकामा पाकिस्तान पाँचौँ भएको थियो ।

तर, पाकिस्तानले आयोजकका रूपमा च्याम्पियन्स ट्रफी खेल्न पाउने भएपछि एकदिवसीय विश्वकप तालिकाको आठौँ स्थानमा रहेको बंगलादेशले पनि च्याम्पियन्स ट्रफी खेल्ने अवसर पाएको थियो । तर, अहिले आएर च्याम्पियन्स ट्रफी पाकिस्तानबाट अन्यत्र सार्ने तयारी भइरहेको छ ।

 समाचारमा जनाइएअनुसार, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का कारण प्रतियोगिता अन्यत्र सारिनु पर्ने अवस्था सृजना भएको हो । बीसीसीलाईले च्याम्पियन्स ट्रफी पाकिस्तानबाट अन्यत्र सारिनु पर्ने वा ‘हाइब्रिड मोडल’ मा खेलाइनु पर्ने प्रस्ताव राखेको समाचारमा जनाइएको छ ।

bcci

 यसअघि बीसीसीआईकै चर्को दबाबका कारण एसिया कप क्रिकेट पनि ‘हाइब्रिड मोडल’ मा खेलाइएको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले एसिया कप क्रिकेट पाकिस्तानमा आयोजना गर्ने निर्णय गरेको थियो ।

 तर, बीसीसीलाईले आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेपछि एसिया कप ‘हाइब्रिड मोडल’ मा पाकिस्तान र श्रीलङ्कामा संयुक्त रूपमा आयोजना गरिएको थियो । भारतको अडानपछि त्यतिबेला भारतीय टोलीले पाकिस्तानमा खेल्नु पर्ने एसिया कपका खेलहरु ‘न्यूट्रल भेन्यू’ श्रीलङ्कामा खेलाइएको थियो । एसिया कपको फाइनल खेल पनि श्रीलंकामै खेलाइएको थियो ।

 अहिले आएर च्याम्पियन्स लिगमा पनि त्यस्तै अवस्था सृजना भएको छ । बीसीसीआई भारतीय टोलीलाई पाकिस्तानी भूमिमा च्याम्पियन्स लिग खेल्न पठाउन इच्छुक देखिएको छैन । त्यसैगरी आगामी च्याम्पियन्स ट्रफी पाकिस्तानबाट अन्यत्र सारिनु पर्ने वा ‘हाइब्रिड मोडल’ मा आयोजना गरिनु पर्ने माग बीसीसीआईले राखेको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।

आईसीसीमाथि च्याम्पियन्स ट्रफी संयुक्त अरब इमिरेट्स (यूएई) मा सार्न चर्को दबाब परिरहेको बताइएको छ । पीसीबी भने च्याम्पियन्स लिग जसरी पनि आफ्नै राष्ट्रमा आयोजना हुनुपर्ने पक्षमा देखिएको छ । पीसीबीका अधिकारीहरुले यो विषयलाई लिएर आईसीसी र बीसीसीआईका अधिकारीहरूसँग पनि भेट गरिरहेको दाबी समाचारमा गरिएको छ ।

ICC-side

यसपटक आयोजक पाकिस्तानसहित अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश र इङ्ल्यान्डले आईसीसी च्याम्पियन्स ट्रफी खेल्ने तय भएको छ । श्रीलङ्का पहिलो पटक च्याम्पियन्स ट्रफीमा अनुपस्थित हुनेछ । यसका अतिरिक्त आगामी च्याम्पियन्स लिगमा वेस्ट इन्डिज पनि सहभागि हुनेछैन ।

 भारत र पाकिस्तानबिचको तिक्ततापूर्ण राजनीतिक सम्बन्धको प्रत्यक्ष छाया सधैँ क्रिकेटमा पनि पर्दै आएको देखिन्छ । एसिया कप सुरु हुनुभन्दा तीन महिना अघिदेखि नै भारत र पाकिस्तानबिच घोचपेच सुरु भइसकेको थियो ।

एसिया कपको अघिल्लो संस्करण पाकिस्तानमा मात्र आयोजना हुनुपर्ने थियो । तर, भारतले सुरक्षाको कारण देखाउँदै आफ्नो टोली पाकिस्तान नपठाउने भएपछि विवाद सुरु भएको थियो । भारत र पाकिस्तानबिचको राजनीतिक सम्बन्धको छाया क्रिकेटमा परेपछि आईसीसी र एसियाली क्रिकेट काउन्सिल (एसीसी)जस्ता नेतृत्वदायी निकायहरू पनि निरीह बन्ने गरेको प्रशस्तै उदाहरण पाइन्छन् ।

निकै ठुलो सङ्ख्यामा दुवै राष्ट्रका क्रिकेट समर्थक पनि एकअर्काको खेदो खन्न तम्तयार भएर बसेका हुन्छन् । यसले तिक्ततापूर्ण सम्बन्धमा थप मलजल गर्ने गरेको पाइन्छ । त्यसले गर्दा वातावरण झनै गम्भीर बन्न पुग्छ ।

भारतले पाकिस्तानमा एसिया कप नखेल्ने अडान लिएपछि पाकिस्तानले पनि भारतमा आयोजना हुने एकदिवसीय विश्वकप बहिष्कार गर्ने चेतावनी दिएको थियो । तर, पाकिस्तानी टोली एकदिवसीय विश्वकप खेल्न भारत पुगेको थियो ।

विश्वकपअघि भारतले आफ्ना खेलाडीलाई भिसा (प्रवेशाज्ञा) दिन आनाकानी गरेको आरोप पाकिस्तानले लगाएपछि त्यसले पनि विश्वव्यापी रूपमा ठुलै चर्चा पाएको थियो । त्यसअघि सन् २००२ मा पनि भारत र पाकिस्तानबिचको राजनीतिक सम्बन्धकै कारण एसिया कप रद्द हुन पुगेको थियो ।

यसैगरी भारत र पाकिस्तानबिचको राजनीति सम्बन्धको छाया क्रिकेटमा परेपछि विश्वकप ट्रफीमा समेत क्षति पुगेको इतिहास छ । सन् १९८३ मा भारतले पहिलो पटक आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।

 त्यतिबेला कपिल देवको कप्तानीमा रहेको भारतीय टोली इङ्ल्यान्डबाट विश्वकपको उपाधि बोकेर स्वदेश फर्किएको थियो । भारतले पहिलो पटक जितेको त्यो विश्वकप ट्रफी तत्कालीन बम्बईस्थित बीसीसीआईको मुख्यालयमा निकै सुरक्षित रूपमा राखिएको थियो ।

 तर, सन् १९९९ को जनवरी १९ तारिखमा भारतको हिन्दु राष्ट्रवादी समूह शिव सेनाले बीसीसीआईको मुख्यालयमा आक्रमण गरी तोडफोड गरेको थियो । शिव सेनाको त्यही आक्रमणका क्रममा भारतले सन् १९८३ मा जितेको विश्वकप ट्रफीमा समेत क्षति पुगेको थियो । त्यतिबेला विश्व क्रिकेटमै त्यो निकै ठुलो चर्चाको विषय बनेको थियो ।

विश्वकप ट्रफीमा क्षति पुगेपछि अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको निकै ठुलो आलोचना भएको थियो । त्यो विवाद पनि भारत र पाकिस्तानबिचको राजनीतिक सम्बन्धकै कारण सुरु भएको थियो । खासमा त्यतिबेला भारत र पाकिस्तानबिचको क्रिकेट सम्बन्धलाई लिएर शिव सेना आक्रोशित बनेको थियो ।

त्यसैले शिव सेनाका कार्यकर्ताले बीसीसीआईको मुख्यालयमा आक्रमण गरेका थिए । सोही कारणले अहिले पनि विश्वकप विजेता टोलीलाई विश्वकपको वास्तबिक ट्रफी प्रदान गरिँदैन । विजेता टोलीलाई वास्तविक ट्रफीजस्तै देखिने गरी तयार पारिएको अर्को ट्रफी प्रदान गरिन्छ ।

वास्तविक ट्रफी भने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मुख्यालयमा राखिएको छ । विश्वकपको वास्तविक ट्रफीमा आईसीसीको लोगो अङ्कित हुन्छ भने विजेता टोलीलाई दिइने ट्रफीमा विश्वकपको लोगो अङ्कित गरिएको हुन्छ । हरेक ठुला अन्तर्राष्ट्रिय प्रतियोगिताअघि यस्ता समाचार सार्वजनिक हुनु सामान्य बन्दै गएको छ । अहिले आएर च्याम्पियन्स ट्रफीमा पनि पुनः पुरानै विवाद सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप