आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला

मङ्गलबार, १९ मङ्सिर २०८०, ०९ : १६
मङ्गलबार, १९ मङ्सिर २०८०

चितवन । जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका हुन ।

इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउछन्् । उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए । अहिले बजारमा राम्रो मूल्य पाएको बताउँदै उनले भने, “कम उत्पादन भएका कारण मूल्य राम्रो पाएको हो ।”

उनले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फर्कनुभएका ३३ वर्षीय बोहोरा सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताउछन् । बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्दै लाँदा अहिले आम्दानीको मुख्य स्रोत नै सुन्तला खेती भएको उनले बताए ।

उनले भने, “अहिले सुन्तलाको मूल्य पाएको देखेर आफू सन्तुष्ट छु । अन्य साथीहरु पनि सन्तुष्ट हुनुहुन्छ ।” अझै सुन्तलाको मूल्य बढ्नेमा उनी विश्वस्त रहेको बताउछन् । गएका वर्षहरुमा यति बेला प्रतिकिलो रु ७० हाराहारीमा सुन्तला बिक्री हुने गरेको थियो ।

सुन्तलाले मूल्य पाउँदा इच्छाकामना गाउँपालिकाका किसान निकै हर्षित छन् । इच्छाकामना गाउँपालिका–३ माझगाउँका सीताराम गुरुङले चार बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । उनले अहिले उत्पादन भएको सुन्तलाले बजार मूल्य राम्रो पाएको भन्दै यही मूल्य कामय रहे यस वर्ष किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने, “अहिले होलसेल मूल्य नै प्रतिकिलो रु ९० देखि १०० सम्म परेको छ । यो बढ्दै जाने देखिन्छ ।” 

बजार भाउ स्थिर रहन नसक्ने भएकाले अहिलेको मूल्यबाट घटवढ हुनसक्ने भन्दै उहाँले बजारको व्यवस्था गर्न सके व्यावसायिक सुन्तला खेती गर्ने किसानले राम्रो आम्दानी लिन सक्ने बताए । उनले भने “अहिले थोरै उत्पादन भएको छ । त्यही कारणले मूल्य पाउन सकेको हो  । २४ वर्षको उमेरदेखि सुन्तला खेती गर्दै आएको अनुभव सुनाउँदै ६० वर्षीय गुरुङले अगौटे सुन्तलाले राम्रो मूल्य पाएको बताउनुभयो । आफू सुन्तला खेतीबाट सन्तुष्ट रहेको उनले बताए । उनले वार्षिक रु चारदेखि पाँच लाखसम्मको सुन्ताल बेच्दै आएका छन् ।

इच्छाकामना गाउँपालिकाको कृषि विकास शाखा प्रमुख आशिष त्रिपाठी अहिले बजारमा आएको सुन्तलालाई बजारको अभाब नभएको बताउछन् । उनले भने, “बजारको अभाव पनि छैन र सुन्तालाले राम्रो मूल्य पनि पाएको छ ।”

केही किसानले ठेकेदारमार्फत सुन्तला बजारमा ल्याउने हुँदा मूल्य पाए पनि पैसा नपाउने समस्या भएको भन्दै उहाँले यो समस्या समाधानका लागि शाखाले सहकार्य गर्ने प्रयास गरिरहेको बताए । यस पालिकामा ३५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आइएको छ । जहाँ वार्षिक तीन सय मेट्रिक टन सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका–२९ को पहाडी क्षेत्रमा सुन्तला खेती गरिँदै आइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप