आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

के विश्व ग्लोबल नर्थ र ग्लोबल साउथमा विभाजित हुँदै छ ?

मङ्गलबार, १९ मङ्सिर २०८०, १३ : ०७
मङ्गलबार, १९ मङ्सिर २०८०

मानव सभ्यताको विकाससँगै राज्यको उत्पत्ति भयो । मानवीय आवश्यकता पूरा गर्न संस्थागत रूपमा आर्थिक क्रियाकलापको सुरुवात भयो । अनि केही शक्ति राष्ट्रहरूले विश्वमा साम्राज्य फैलाउने र अधिकांश मुलुक सीमित शक्ति राष्ट्रका उपनिवेश बन्नुपर्ने अवस्था सिर्जना भयो । यो कालखण्डमा विश्व एकातर्फ साम्राज्यवादी मुलुक र अर्कातर्फ औपनिवेशिक मुलुकहरूमा विभाजित हुन पुगे । 

पहिलो विश्व युद्धमा केन्द्रीय शक्ति र गठबन्धन शक्तिका रूपमा विश्वका शक्ति राष्ट्रहरू विभाजित हुन पुगे । दोस्रो विश्व युद्धमा सहभागी हुने राष्ट्रहरू मित्र राष्ट्र र धुरी राष्ट्रका रूपमा विभाजित भए । 

दोस्रो विश्वयुद्धपछि विश्व समाजवादी आन्दोलनको नाइकेका रूपमा सोभियत रुस र विश्व पुँजीवादी आन्दोलनको नाइकेको रूपमा अमेरिका गरी दुई अति शक्तिशाली राष्ट्रको उदय भयो । सोभियत रुसले आफ्नो नेतृत्वमा बार्सा प्याक्ट र अमेरिकाले आफ्नो नेतृत्वमा नेटो जस्ता दुई परस्पर विरोधी सैनिक सङ्गठनको गठन गरे । समयको यो कालखण्डमा विश्व सोभियत खेमा र अमेरिकी खेमा गरी दुई परस्परविरोधी खेमामा विभाजित हुन पुग्यो । यही विभाजनले शीतयुद्धको जन्म भयो । यी दुवै खेमामा सहभागी हुन नचाहने राष्ट्र मिलेर असंलग्न आन्दोलन नामक अभियान स्थापना गरे । तर यी दुई शक्तिशाली खेमाको बिचमा असंलग्न आन्दोलनको भूमिका चुनौती पूर्ण बन्न सकेन । 

अमेरिकी समाजशास्त्री तथा अर्थशास्त्री इम्यानुयल वालरस्टिनले सन्, १९७० को दशकमा ‘द मोर्डन वर्ल्ड सिस्टम’ नामक पुस्तकमार्फत् विश्व व्यवस्थाका बारेमा प्रस्तुत दृष्टिकोण अनुसार विश्व अर्थव्यवस्था प्रणाली र विश्व साम्राज्य प्रणालीको कुलयोग नै विश्व व्यवस्था प्रणाली हो । विश्व अर्थव्यवस्था प्रणाली मुलुकसँग भएको साधनस्रोत र त्यसको प्रयोगसँग सम्बन्धित छ । विश्व साम्राज्य प्रणाली सामरिक शक्तिको विकास, अभ्यास र प्रयोगसँग सम्बन्धित छ । विश्व अर्थव्यवस्था प्रणालीअन्तर्गत विश्वका मुलुकहरू पेरिफेरी, सेमी पेरिफेरी र कोर मुलुकका रूपमा विभाजित छन् । अमेरिकी राजनीतिज्ञ कार्ल ओग्लेस्वीले सन्, १९६९ मा कैथोलिक पत्रिका कमनविलमा भियतनाम युद्धको बारेमा लेखिएको विशेष अङ्कमा सर्वप्रथम ग्लोबल साउथ शब्दको प्रयोग गरेपश्चात ग्लोबल नर्थको स्वतः प्रयोग हुन थाल्यो । त्यसपश्चात ग्लोबल नर्थ र ग्लोबल साउथको परिभाषित गर्ने, सङ्गठित गर्ने र विकास गर्ने अभियानको परिणामस्वरूप हाल विश्व ग्लोबल नर्थ र ग्लोबल साउथको नाममा विभाजित बन्न पुगेको छ । वर्तमान विश्व सन्दर्भमा ग्लोबल नर्थ र ग्लोबल साउथको विभाजन कुनै विचार, वाद, भूगोल तथा सैन्यशक्तिको आधारमा नभई मुलुकको सामाजिक, आर्थिक तथा राजनीतिक आधारमा रहेको छ । अर्थात् सामाजिक, आर्थिक एवं राजनीतिक विशेषताका आधारमा देशहरूको समूह विभाजन गर्ने पद्धति र प्रचलन स्वरूप निर्माण भएका समूहलाई ग्लोबल नर्थ र ग्लोबल साउथ समूह भनिन्छ । आँकडाले ग्लोबल नर्थ र संयुक्त राष्ट्र सङ्घको सम्मेलनले ग्लोबल साउथको केही मोटो शब्दावलीमा परिभाषित गरेको भए पनि सारमा समृद्धि, आर्थिक विकास, राजनीतिक र आर्थिक स्वतन्त्रता र स्थायित्व औद्योगीकरण, प्रविधिको विकास, शिक्षा, स्वास्थ, रोजगार र मानव अधिकारको स्थितिका आधारमा नै मूल रूपमा ग्लोबल नर्थ र ग्लोबल साउथ गरी दुई फरक ब्लकका रूपमा विभाजन गरिएको छ । 

ग्लोबल नर्थ

विगतमा साम्राज्य फैलाएका प्रभुत्ववादी र हाल विकसित, पहिलो विश्व वा कोर मुलुक भनिने धनी र शक्तिशाली राष्ट्रहरूको सामूहिक नाम नै ग्लोबल नर्थ हो । आर्थिक रूपमा समृद्ध, तीव्र औद्योगीकरण, उच्च प्राविधिक विकास, राजनीतिक र आर्थिक स्वतन्त्रता र स्थायित्व, तुलनात्मक रूपमा मानव अधिकारको सुनिश्चितता ग्लोबल नर्थ समूहका मुलुकहरूको साझा विशेषता वा पहिचान हो । अमेरिका, क्यानडा, ईयूका सदस्य राष्ट्रहरू, बेलायत, इजरायल, साइप्रस, जापान, सिङ्गापुर, इग्ल्यान्ड, दक्षिण कोरिया, न्युजिल्यान्ड, अस्ट्रेलिया जस्ता मुलुक यस समूहअन्तर्गत पर्दछन् । चीनको वर्तमान सामथ्र्यता र शक्तिको आधारमा ग्लोबल नर्थ समूहको रूपमा हेर्ने गरिएको भए पनि चिन स्वयं भने आफू ग्लोबल साउथमा रहेको दाबी र सोही अनुरूपको भूमिका समेत गर्दै आएको छ । यसको मूल कारण ब्रिक्स समूहको नेतृत्व गर्ने उद्देश्य भएको हुनसक्ने आशङ्का गरिएको छ । हाल ग्लोबल नर्थ सोलिडारिटिको नेतृत्व अमेरिकाले गर्दै आएको छ । 

ग्लोबल साउथ 

विगतमा कतिपय उपनिवेशका रूपमा रहेका र हाल तेस्रो विश्व, विकासशील र पेरिफेरी वा सेमी पेरिफेरी भनिने विकासोन्मुख अर्थतन्त्र, कम सामाजिक, आर्थिक, औद्योगिक, प्राविधिक विकास भएका, बाक्लो जनघनत्व र राजनीतिक, आर्थिक विकास र स्थिरता कम भएका विश्वका विकासशील राष्ट्रहरूको सामूहिक नाम ग्लोबल साउथ हो । भारत, चीन, ब्राजिल, दक्षिण अफ्रिका, पाकिस्तान, इन्डोनेसिय, नाइजेरिया, मेक्सिको जस्ता मुलुक यस समूहअन्तर्गत पर्दछन् । चीनले साझा भाग्य, साझा विकास नामक अभियान र ब्रिक्स संस्थामार्फत ग्लोबल साउथ सोलिडारिटीको नेतृत्व गर्ने अवसर र चाहनाले आफूलाई ग्लोबल साउथ समूहमा नै समावेश गर्दै आएको छ । जुन भारतका लागि टाउको दुखाइको विषय बनेको हुन सक्छ । चीन ग्लोबल नर्थ समूहमा समावेश हुने हो वा ब्रिक्सको नेतृत्वमा मात्र सीमित हुने भने ग्लोबल साउथको एकल नेतृत्व भारतमा स्वतः आउँछ । 

ब्रिक्स समूह र यसको प्रभाव 

ब्रिक्स विश्वका पाँचवटा नवउदीयमान तथा ठूला अर्थव्यवस्था भएका ब्राजिल, रुस, चीन, भारत र दक्षिण अफ्रिका सामेल रहेको अन्तर्राष्ट्रिय स्तरको संस्था हो । ब्रिक्सको स्थापना सन् २००६ भयो भने सन २००९ बाट यस संस्थाले नियमित शिखर सम्मेलन गर्दै आएको छ । जसको प्रमुख लक्ष्य अन्तर्राष्ट्रिय राजनीति हो । यसको प्रधान कार्यालय चीनको साङ्घाई सहरमा रहेको छ । सन् २०२४ को जनवरीदेखि अर्जेनटिना, मिश्र, इरान, इथियोपिया, संयुक्त अरब इमिरेट र साउदी अरब यस संस्थाको सदस्य बन्दै छन् । यसरी विश्व, इतिहासको पछिल्लो राजनीतिक कालखण्डमा ग्लोबल नर्थ ग्लोबल साउथको अतिरिक्त ब्रिक्स समूहसमेतमा विभाजित हुँदै बहुध्रुवीय बन्नेतर्फ उन्मुख देखिन्छ । जसरी विगतमा सोभियत खेमा र अमेरिकी खेमाको बिचमा असंलग्न आन्दोलनको भूमिका चुनौतीपूर्ण देखिएन त्यसरी नै ग्लोबल नर्थ र ग्लोबल साउथका बिचमा ब्रिक्स समूहको भूमिका चुनौतीविहीन हुने देखिँदैन । किनभने यस समूहमा चीन, भारत, रुस, ब्राजिल दक्षिण अफ्रिका जस्ता विश्वका शक्ति राष्ट्रहरू समावेश छन् । लक्ष्य पनि अन्तर्राष्ट्रिय राजनीति रहेको छ । निकट भविष्यदेखि समूहको सदस्य सङ्ख्यामा समेत वृद्धि हुँदैछ ।

जसले विश्व राजनीतिमा आफ्नो भूमिका खोज्दै आएका छन् । नेतृत्वको हिसाबले पनि ग्लोबल नर्थको अमेरिकाले ग्लोबल साउथको चीन र भारत दुवैको इच्छाको बाबजुद भारतले र ब्रिक्सको चीनले गर्दै आएको छ । ग्लोबल साउथको प्रभावकारी संस्थाको रूपमा रहेको गत सालको ब्रिक्स सम्मेलनमा नेपाल बेखबर बन्यो । ग्लोबल साउथका दुई सशक्त राष्ट्रका रूपमा रहेका चीन र भारतको भूराजनीतिको हिसाबले गतिशील सेतुका रूपमा रहेको नेपाल, जसले विगतमा दुई पटक संयुक्त राष्ट्र सङ्घको अस्थायी सदस्य राष्ट्रको भूमिका निर्वाह गर्याे । सङ्घको बाहालवाला महासचिव ड्याग ह्यामरसोल्डको प्लेन दुर्घटनाबाट भएको मृत्युको छानबिन गर्न गठन भएको समितिको सदस्यका रूपमा नेपालका तर्फबाट ऋषिकेश शाहलाई प्रतनिधित्व गराउने हैसियत राख्यो ।

असंलग्न आन्दोलनको संस्थापक सदस्य बनेको जस्ता गौरवपूर्ण इतिहास निर्माण गरेको मुलुकले वर्तमानमा भोग्नुपरेको यस्तो व्यवहारको प्रमुख कारण नेपालको सन्तुलित परराष्ट्रनीति र कूटनीतिक कौशलताको असफलता हो भन्दा अत्युक्ति हुँदैन । मुलुकले त्यसतर्फ विशेष ध्यान दिन आवश्यक देखिन्छ । भर्खरै मोदीले आयोजना गरेको ‘ग्लोबल साउथ : टुगेदर फर वन फ्युचर’ विषयमा आधारित भ्वाइस अफ ग्लोबल साउथको भर्चुयल माध्यमबाट सम्पन्न भएको दोस्रो शिखर सम्मेलनमा नेपालले पनि निम्तो पाएर सहभागिता जनाएकाले केही आशाका किरणहरू भने सञ्चार भएको छ ।                                  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप