आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टी-२० विश्वकपमा छनोट हुने अन्तिम राष्ट्र बन्यो युगान्डा, बाहिरिए जिम्बाबे र केन्या

मङ्गलबार, २९ जेठ २०८१, १५ : ३९
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । युगान्डा सन् २०२४ मा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ । युगान्डा अफ्रिकी महादेशबाट आगामी टी-२० विश्वकपका छनोट हुने दोस्रो राष्ट्र बनेको हो । यसअघि अफ्रिकी महादेशबाट नामिबिया आगामी विश्वकपमा छनोट भइसकेको छ । 

युगान्डा आगामी टी-२० विश्वकपमा छनोट हुने २०औँ तथा अन्तिम राष्ट्र पनि हो । नामिबियामा जारी अफ्रिकी महादेशको अन्तिम चरणको छनोट प्रतियोगितामा बिहीबार युगान्डाले रुवान्डालाई नौ विकेटको फराकिलो अन्तरले हरायो । उक्त जितसँगै युगान्डा विश्वकपमा छानिएको हो । युगान्डाको जितसँगै दुई बलिया टोली जिम्बाबे र केन्या भने विश्वकपमा छनोट हुन असफल भए ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको रुवान्डाले १८.५ ओभरमा अलआउट हुनुअघि ६५ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको युगान्डाले भने ८.१ ओभरमा केवल एक विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । 

युगान्डाको जितमा ओपनर ब्याट्सम्यान सिमोन सेसाजीले अविजित २६ रनको योगदान गरे । उनले २१ बलमा पाँच चौका पनि हिर्काए । अर्का ओपनर रोनक पटेलले २० बलमा चार चौकाको मद्दतले १८ रन बनाए । रोजर मुकासाले पनि आठ बलमा दुई चौकाको मद्दतले अविजित १३ रन जोडे । युगान्डाले अतिरिक्त रूपमा नौ रन पायो । 

यसअघि पहिले ब्याटिङ गरेको रुवान्डाका लागि ओपनर ब्याट्सम्यान एरिकले सर्वाधिक १९ रन बनाएका थिए । मुहम्मद नादिरले टोलीको खातामा ११ रन थपेका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो सँख्यामा रन बनाउन सकेनन् । युगान्डाका बलर ब्राइन मासाबा, हेनरी सेनयोन्दो, दिनेश नकरानी र अल्पेस रमजानीले दुई-दुई विकेट लिए । 

सन् २०२४ को टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । प्रतियोगिता आगामी जुन ४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । यसपटक टी-२० विश्वकपमा २० वटा राष्ट्रको सहभागिता रहनेछ । 

अमेरिका र वेस्ट इन्डिज आयोजकको रूपमा विश्वकपमा सहभागी हुनेछन् । अघिल्लो टी-२० विश्वकप तालिकाको माथिल्लो आठ स्थानमा रहने टोलीले भने स्वतः सन् २०२४ को विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । सोही प्रावधान अनुरूप अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलङ्का विश्वकपमा छनोट भइसकेका छन् । 

यसैगरी आईसीसी टी-२० वरीयतामा माथिल्लो स्थानमा रहेका आधारमा अफगानिस्तान र बंगलादेश पनि विश्वकपमा छनोट भइसकेका छन् । यसका अतिरिक्त छनोट चरण पार गर्दै युरोप महादेशबाट आयरल्यान्ड र स्कटल्यान्ड विश्वकपमा पुगेका हुन् । 

पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट पपुवा न्यु गिनी विश्वकपमा छनोट भएको छ । अमेरिकी महादेशको छनोट प्रतियोगिताबाट क्यानडा विश्वकपमा पुगेको छ । एसिया महादेशको छनोट प्रतियोगिताबाट भने नेपाल र ओमानले विश्वकपमा स्थान पक्का गरिसकेका छन् । अफ्रिका महादेशबाट नामिबिया र युगान्डा विश्वकपमा पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप