आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा एपीएफलाई हराउँदै मधेश प्रदेश फाइनलमा, आर्मीसँग उपाधि भिडन्त

मङ्गलबार, २९ जेठ २०८१, १६ : ४६
मङ्गलबार, २९ जेठ २०८१

काठमाडौँ । मधेश प्रदेशको टोली पोखरामा जारी केपी ओली कप टी—२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । पोखरा रंगशालामा बिहीबार खेलिएको दोस्रो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमाथि ११ रनको रोमाञ्चक जित हासिल गर्दै मधेश प्रदेश फाइनलमा पुगेको हो । 

मधेश प्रदेशले अब उपाधिका लागि शुक्रबार अर्को विभागीय क्लब त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । त्रिभुवन आर्मी क्लबले बिहीबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशको टोलीलाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो । 

मधेश प्रदेश र एपीएफ क्लबबिचको दोस्रो सेमिफाइनल खेल अत्यन्तै रोमाञ्चक बनेको थियो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको मधेश प्रदेशले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ९७ रनको विशाल योगफल तयार पारेको थियो । 

निकै ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले अन्तिम समयसम्म मधेश प्रदेशलाई गतिलो चुनौति दिएको थियो । आफ्ना दुई ब्याट्सम्यानले उत्कृष्ट अर्धसतकीय पाली खेलेपछि एपीएफ क्लब जिततर्फ अग्रसर देखिएको थियो । 

तर, एपीएफ क्लब लक्ष्यसम्म भने पुग्न सकेन । एपीएफ क्लबले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय ८६ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको मधेश प्रदेशका लागि पनि दुई ब्याट्सम्यानले अर्धसतक बनाएका थिए । 

ओपनर ब्याट्सम्यान अनिल साहले ५७ रन बनाएका थिए । विकेटकिपर ब्याट्सम्यान अनिलले केवल ३६ बलमा ६ छक्का र दुई चौका प्रहार गरेका थिए । मधेश प्रदेशले २३ रनकै कुल स्कोरमा पहिलो विकेट गुमाएको थियो । ओपनर हरिशंकर साह १० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी टोलीका कप्तान पनि हुन् । 

त्यसपछि अनिल र इमरान शेखले टोलीको स्कोरलाई एक सय १५ रनको स्थितिसम्म पुर्‍याएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान इमरान शेखले पनि टोलीको खातामा ५० रन थपे । उनले केवल ३२ बलमा चार छक्का र तीन चौका हिर्काएका थिए ।  चौथो नम्बरमा क्रिज समाल्न आएका पवन सर्राफले पनि टोलीको खातामा ३३ रन थपे । उनले केवल १९ बलमा दुई छक्का र चार चौका पनि प्रहार गरे । रुपेश सिंहले पनि केवल आठ बलमा एक छक्का र तीन चौकाको मद्दतले २१ रन बटुले । 

हिमांशु दत्तले सात बलमा एक छक्का र दुई चौकाको मद्दतले १५ रन जोडे । विशाल सुशलिङ चार र मयान यादब पनि चार रनमा अविजित रहे । एपीएफ क्लबका बलर मौसम ढकालले तीन र अमर रौतेलाले दुई विकेट लिए । पुरण बीकले पनि एक विकेट हात पारे ।  जवाफी ब्याटिङ गरेको एपीएफ क्लबका लागि ओपनर ब्याट्सम्यान प्रदीप ऐरीले ५५ रनको योगदान गरे । उनले ४२ बलमा चार छक्का र तीन चौका हिर्काएका थिए । उनी टोलीका कप्तान पनि हुन् । अर्का ओपनर आसिफ शेख भने चार रनमै आउट भएका थिए । 

तेस्रो नम्बरका ब्याट्सम्यान सुमित महर्जनले १३ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका सन्दीप जोराले भने टोलीको खातामा ५४ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ३१ बलमा पाँच छक्का र तीन चौका हिर्काएका थिए । 

विकेटकिपर ब्याट्सम्यान लोकेश बमले पनि टोलीका लागि आक्रमक पाली खेल्दै केवल १५ बलमा दुई छक्का र तीन चौकाको मद्दतले ३२ रनको योगदान गरेका थिए । भुवन कार्की १४ रनमा अविजित रहे । मौसम ढकाल भने एक रनमा अविजित रहे । 

मधेश प्रदेशका बलर विशाल पटेलले तीन विकेट लिए । हरिशंकर साह र प्रदिप पासवानले पनि दुई—दुई विकेट हात पारे । उक्त खेलमा विजयी टोली मधेश प्रदेशका अनिल साह म्यान अफ दी म्याच घोषित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप