आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

डोमिनिकाले टी-२० विश्वकपका खेलहरु नखेलाउने भएपछि आईसीसी अप्ठ्यारोमा

बिहीबार, ०६ वैशाख २०८१, ११ : १४
बिहीबार, ०६ वैशाख २०८१

काठमाडौँ । टी-२० विश्वकपको नवौँ संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रतियोगिता सन् २०२४ को जुन ४ देखि ३० तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको मिति नजिकिँदै गर्दा क्यारेबियन राष्ट्र डोमिनिकाले टी—२० विश्वकपको कुनै पनि खेल आफ्नो देशमा नखेलाउने घोषणा गरेको छ । 

डोमिनिकाको उक्त निणर्यपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) पनि दबाबमा परेको छ । आईसीसीले डोमिनिकामा आगामी टी—२० विश्वकपको तीनवटा खेल खेलाउने निणर्य गरिसकेको छ । तर, अन्तिम समयमा आएर डोमिनिकाले प्रतियोगिताको आयोजनाबाट नाम झिकेपछि आईसीसीसँगै वेस्ट इन्डिज क्रिकेट बोर्ड पनि समस्यामा पर्ने देखिएको छ । 

आगामी टी—२० विश्वकपमा २० वटा राष्ट्रले सहभागिता जनाउँदैछन् । टी-२० विश्वकपमा पहिलो पटक यति धेरै राष्ट्रले सहभागिता जनाउन लागेका हुन् । आगामी टी—२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउने निश्चित भइसकेको छ ।

प्रतियोगितामा सहभागी हुने २० वटै टोलीको टुंगो पनि लागिसकेको छ । आईसीसीले डोमिनिकाको विन्डसर पार्क स्पोर्टस स्टेडियम र बेन्जामिन पार्कमा विश्वकपका खेलहरु खेलाउने निणर्य गरेको थियो । यसअघि ती दुई रंगशालामा समूहगत चरणको एक र ‘सुपर आठ’ चरणको दुई खेल खेलाउने बताइएको थियो ।

प्रतियोगिताको मिति नजिकिँदै गएको र प्रतियोगिताका लागि निर्धारण गरिएको मापदण्ड पुरा गर्न नसकिने भएकाले आफूहरुले विश्वकप आयोजना नगर्ने निणर्य लिएको डोमिनिकाका खेल अधिकारीहरुले जनाएका छन् । 

‘विश्वकपका लागि आवश्यक भौतिक पूर्वाधार तयार पार्न ताकिएको मापदण्ड पूरा गर्न अप्ठ्यारो परेकाले यस्तो निणर्य लिइएको हो,’ डोमिनिकाका एक खेल अधिकारीले भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप