आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

फाइनलमा बलियो आर्मी क्लबलाई हराउँदै मधेस प्रदेशले चुम्यो केपी ओली कपको उपाधि

बिहीबार, ३१ जेठ २०८१, १५ : ५४
बिहीबार, ३१ जेठ २०८१

पोखरा । केपी ओली कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशको टोलीले जितेको छ । मधेस प्रदेशले शुक्रबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै उपाधिमाथि कब्जा जमाएको हो । 

टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको त्रिभुवन आर्मी क्लबले भने निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय २४ रनमात्र बनाउन सक्यो । 

रमाइलो संयोग, यसअघि मधेस प्रदेशले सेमिफाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पनि ११ रनले नै हराएको थियो । आर्मी क्लब भने सेमिफाइनल खेलमा बागमती प्रदेशको टोलीलाई चार विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । 

फाइनल खेलमा मधेस प्रदेशका लागि तल्लोक्रमका ब्याट्सम्यान विशाल पटेलले अविजित ४९ रनको योगदान गरे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले केवल ३२ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काएका थिए । 

त्यसअघि ओपनर ब्याट्सम्यान हरिशंकर साहले टोलीको खातामा २७ रन थपेका थिए । उनले २१ बलमा दुई छक्का र तीन चौका प्रहार गरेका थिए । माथिल्लो क्रमका ब्याट्सम्यानहरुको प्रदर्शन भने ज्यादै निराशाजनक रह्यो । 

माथिल्ला पाँच ब्याट्सम्यानमध्ये कप्तान हरिशंकरले मात्र दोहोरो अंकमा रन बनाउन सके । ओपनर अनिल साह ६, ईमरान शेख आठ, पवन सर्राफ नौ र मयान यादव तीन रनमै पेभेलियन फर्किए । ५५ रनको कुल स्कोरमा मधेस प्रदेशले पाँच विकेट गुमाइसकेको थियो । 

छैटौँ नम्बरमा क्रिज समाल्न आएका हिमांशु दत्तले टोलीको खातामा १४ रन थपे । विशाल सुशलिङले १० रन बनाए । रुपेश सिंह शून्य रनमै आउट भए भने प्रदीप पासवानले अविजित चार रन बनाए । मधेस प्रदेशले अतिरिक्त रुपमा पाँच रन पाएको थियो । 

आर्मी क्लबका बलर विवेक यादव र साहब आलमले तीन—तीन विकेट लिए । विवेकले चार ओभरमा ३० रन खर्चिएका थिए । साहब आलमले भने किफायति बलिङ गर्दै तीन ओभरमा केवल पाँच रन खर्चिएका थिए । बसिर अहमद र सोमपाल कामीले पनि एक—एक विकेट हात पारे । 

जवाफी ब्याटिङ गरेको आर्मी क्लबका लागि ओपनर ब्याट्सम्यान विनोद भण्डारीले सर्वाधिक ३२ रन बनाए । विकेटकिपरको भूमिकामा समेत रहेका कप्तान भण्डारीले ३० बलमा पाँच चौका पनि हिर्काए । अर्का ओपनर सन्तोष कार्कीले १३ बलमा तीन चौकाको मद्दतले १६ रन जोडे ।

भीम सार्कीले टोलीको खातामा २२ रन थपे । पाँचौँ नम्बरका ब्याट्सम्यान भीमले २१ बलमा एक छक्का र दुई चौका पनि हिर्काए । सोमपाल कामीले १५ बलमा एक चौकाको मद्दतले अविजित १६ रन बटुले । विवेक यादव २५ रनमा अविजित रहे । उनले १४ बलमा दुई छक्का र दुई चौका हिर्काए ।

सोमपाल र विवेकले टोलीलाई जिततर्फ अग्रसर गराएका थिए । ९३ रनमा सात विकेट गुमाएको आर्मी क्लबको स्कोरलाई त्यसपछि सोमपाल र विवेकले नै एक सय २४ रनसम्म पुर्‍याएका थिए । तर, उनीहरुले टोलीलाई जित दिलाउन सकेनन् । आर्मी क्लबका अन्य ब्याट्सम्यानले भने दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन् । 

बलियो आर्मी क्लबलाई लक्ष्यसम्म पुग्न नदिन मधेस प्रदेशका बलर हरिशंकर साह एक्लैले चार विकेट लिए । उनले चार ओभरमा केवल १९ रन खर्चिए । प्रदीप पासवानले पनि चार ओभरमा २६ रन खर्चिएर दुई विकेट हात पारे । प्रतिक यादवले एक विकेट कुम्ल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप