आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उद्योग, व्यवसायीको आक्रोश–अर्थ व्यवस्थाको मेरुदण्ड बोर्डरमा, नीति निर्माता काठमाडौँमा

बिहीबार, ३१ जेठ २०८१, १८ : ५८
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । मुलुकको आर्थिक व्यवस्थाको मेरुदण्डको रुपमा रहेको मधेस प्रदेश र त्यहाँको आर्थिक सम्भावनालाई केन्द्र सरकारले अवमूल्यन गरेको भन्दै उद्योगी व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘मधेस प्रदेशका औद्योगिक/व्यावसायिक समस्या विषयक नाफिज संवाद’ कार्यक्रममा बोल्दै मधेस प्रदेशका उद्योगी व्यवसायीहरुले यस्तो धारणा राखेका हुन् ।  

मधेस प्रदेश र नेपाल भारत सीमाको अर्थ–वाणिज्यको अवस्था, त्यसबाट नेपालले लिनसक्ने लाभ र उद्योगी व्यवसायीले भोगिरहेको समस्या केन्द्र सरकारलाई सुनाउन काठमाडौँ आएका उद्योगी व्यवसायीहरु सम्मिलित संवादमा उनीहरुले आफूहरू उपेक्षामा परेको बताए । 

देशको अर्थ व्यवस्था धान्ने उद्योग र व्यापारको हब रहेको मधेस प्रदेश केन्द्र सरकार (काठमाडौँ) को प्राथमिकतामा नपर्दा उद्योग धन्दा, व्यापार र जनशक्ति पलायन भएको नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेश अध्यक्ष अशोक टेमानीले बताए ।

‘उद्योग पूर्ण क्षमतामा चल्न सकेको छैन, व्यापार गर्नेहरु पलायन भइरहेका छन्, काम गर्ने जनशक्ति विदेश हिँडिरहेका छन्,’ अध्यक्ष टेमानीले भने, ‘अर्थ व्यवस्था मेरुदण्ड बोर्डरमा छ तर नीति निर्माता काठमाडौँमा ।’

नेपालको आर्थिक क्षेत्रलाई नेपाल–भारत सीमा क्षेत्रले नियन्त्रण गरेको तर व्यापारीका नेतादेखि राजनीतिक नेतृत्व र नीति निर्माताले त्यो नबुझेको अध्यक्ष टेमानीले बताए । 

मधेसको खास समस्या के–के हुन भनेर काठमाडौँलाई बुझाउन आएको भन्दै टेमानीले भने ‘हामी नेपालीलाई रोजगार कसरी दिने र अर्थतन्त्र कसरी चलायमान बनाउने भन्ने बुझाउन आएका हौ ं।’

सरकारको अवैज्ञानिक कर, तथा भन्सार नीतिका कारण व्यापारी र उपभोक्ता दुवै मारमा परेको उनको भनाइ छ । अहिले सीमा क्षेत्रमा चोरी पैठारी मौलाउँदा औपचारिक रुपमा उद्योग र व्यवसाय गर्नेहरु गम्भिर समस्यामा परेको महासंघ मधेस प्रदेश समितिको निश्कर्ष छ । 

वाणिज्य र व्यापारका नीतिहरु अर्थतन्त्रसँग झुकाव रहेका छिमेकी मुलुकसँग भन्दा पनि उन्नत मुलुकहरु यूरोप, अमेरिकाको उदाहारणबाट हेरिँदा समस्या भएको अध्यक्ष टेमानीले बताए । 

‘नेपाल भारत वाणिज्य व्यापार र एक अर्कोको मुलुकबिच सहकार्यको सम्भावनाबारे काठमाडौँले सम्भावना पहिल्याएन,’ अध्यक्ष टेमानीले भने,‘राज्यको साना उद्योगलाई सहयोग गर्ने नीति नहुनु अर्को समस्या हो ।’

कच्चा पदार्थ थोरै मात्रामा ल्याउँदा १५ प्रतिशत र धेरै मात्रामा आयात गर्दा १० प्रतिशत पार्ने नीतिले साना उद्योग मारा नीतिले मधेसको उद्योग व्यवसाय चौपट भएको उनको दाबी छ । 

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र कुमार महासेठले मधेसको कृषि,उद्योग, धार्मिक पर्यटनको सम्भावना केन्द्र सरकारको प्राथमिकतामा नपरेको बताए । भर्खरै बामे सर्दै गरेको प्रदेश सरकारले केही कामको सुरुआत गरे पनि आर्थिक सम्भावना र पर्यटनको प्रचुर लाभका लागि केन्द्र सरकारका योजनाहरु नभएको उनको भनाई छ ।

अहिले मधेस प्रदेश आफ्नो आर्थिक क्षमता र सम्भावनाबाट भन्दा पनि क्यासिनो र मदिराका लागि प्रख्यात भएको तर उक्त व्यवसायमा पनि सरकारकै अवरोध भएको उनको बुझाई छ । तराईमा उद्योग धन्दा र व्यपारसहित कृषिसमेत तहश नहस बनेको भन्दै महासेठले भने ,‘पत्याउनुस् नपत्याउनुस् मधेसका राम्रो खेतीयोग्य जमिनसमेत बाँझो हुने अवस्था पैदा हुँदैछ ।’

उद्योग व्यापार र मधेसको अर्थतन्त्रबारे केन्द्र सरकारलाई झकझक्याउन र अन्तर प्रदेश आर्थिक सम्भावना खोज्न काठमाडौँ आएको समितिले सरकारलाई ध्यानाकर्षण पत्र पनि बुझाएको छ । 

१५ बुँदे घोषणा पत्रमा मधेस प्रदेशमा ३ वटा नयाँ औद्योगिक क्षेत्रको स्थापना गर्न, निजगड विमानस्थल निर्माण गर्न, विभिन्न स्थानमा रहेको भन्सार नाकाको स्तरोन्नती  गर्न, सिमारा विमानस्थलको स्तोरोन्नती गर्न पनि सरकारसँग माग गरिएको छ । 

केन्द्र सरकारसँग मधेस प्रदेशको यस्ता आर्थिक माग पत्र यसैसाथ संलग्न छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप