आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेको अभियान : मध्यपहाडी लोकमार्गको दूरी छोट्याउन इन्जिनियरसहितको टोली परिचालन

बिहीबार, २१ मङ्सिर २०८०, १२ : २२
बिहीबार, २१ मङ्सिर २०८०

काठमाडौँ ।  नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको दूरी छोट्याउन अध्ययनका लागि इन्जिनियहरुसहितको टोली परिचालन गरेको छ । 

मंसिर १४ गतेबाट मध्यपहाडी लोकमार्गअन्तर्गत आसपासका क्षेत्रहरुमा नागरिकसँग जोडिने अभिायन थालेको एमालेले मध्यपहाडी लोकमार्गको दूरी छोटो बनाउनका लागि विज्ञहरुसहितको टोली परिचालन गरेको हो । 

पार्टीका उपाध्यक्ष विष्णु पौडेलले अभियानमा इन्जिनियहरुसहित जाने र लोकमार्गको दूरी छोटो बनाउने उपाय र आधारबारे अध्ययन गर्ने बताए । उनले मध्यपहाडी पुष्पलाल लोकमार्गलाई कम्तिमा पनि डबल लेनमा स्तरोन्नति गर्नेतर्फ अभियानले ध्यान दिने पनि बताए । लोकमार्गका ठाउँठाउँमा सुरुङ मार्गको डिजाइन गरेर भएपनि लोकमार्गको दूरी छोटो बनाउने बारेमा एमालेले अभियानका क्रममा अध्ययन गर्ने बताए । 

उपाध्यक्ष पौडेलले दार्चुलाका बासिन्दा काठमाडौं आउँदा कैलाली झरेर नभइ मध्यपहाडी लोकमार्गबाट नै आउनसक्ने र पाँचथर, ताप्लेजुङका जनता काठमाडौं आउँदा झापा नझरी काठमाडौं आउनसक्ने गरि पुष्पलाल लोकमार्गको विकास गर्ने उद्देश्य रहेको बताए ।

नेकपा एमालेले मंसिर १४ गतेबाट महाकाली—मेची अभियान शुरु गरेको हो । तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले २०६४/६५ मा तराईमा जस्तै मध्य पहाडी भूभागलाई राजमार्गले पूर्व–पश्चिम जोड्ने उद्देश्यले पहिलो पटक मध्यपहाडी (पुष्पलाल) लोकमार्गको रेखाङ्कन गरी बजेट विनियोजन गरेका थिए ।  भट्टराई नै २०६८ मा प्रधानमन्त्री भएका बेला उक्त लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर  अघि बढाइएको थियो । 

१८ सय ७९ किलोमिटरमध्ये ४ सय ६२ किलामिटर सडक भने पहिले नै बनेको सडकलाई मध्य पहाडी लोकमार्गमा जोडिएको छ । पाँचथरको चियो भञ्ज्याङबाट शुरू हुने मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला हुँदै बैतडीको झुलाघाटमा पुगेर टुङ्गिन्छ । लोकमार्गलाई अझै छोट्याउने, डेडिकेटेट एक्सप्रेस हाइवेको रूपमा विकास गर्ने तथा आवश्यक ठाउँमा सुरुङ खन्ने लगायतका कामको योजना भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालयले गरिरहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप