आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रंगेली प्रिमियर लिग पुसको पहिलो साताबाट हुने

बिहीबार, २१ मङ्सिर २०८०, १८ : २३
बिहीबार, २१ मङ्सिर २०८०

विराटनगर । प्रथम संस्करणको टी– २० रंगेली प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । खेलकुद विकास समिति रंगेलीको आयोजनामा पुस ८ गतेदेखि क्रिकेट प्रतियोगिता हुने भएको हो ।

आयोजकले रंगेलीमा शनिबार पत्रकार सम्मेलन गरी पुस ८ गतेदेखि २२ गतेसम्म स्थानीय जनता क्याम्पसको खेलमैदानमा प्रतियोगिता हुने जानकारी गराएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँको साथै आकर्षक ट्रफी रहेको छ । उपविजेताले नगद ५१ हजार रुपैयाँ पाउनेछन् । रंगेलीको खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले क्रिकेट प्रतियोगिता आयोजना गरिएको खेलकुद विकास समिति रंगेलीका अध्यक्ष वेदमणि घिमिरेले जानकारी दिए । ‘अहिले राखिएको प्रतियोगिताको पुरस्कार राशि बढ्न पनि सक्नेछ,’ उनले भने, ‘सहयोग गर्ने दाता राम्रो आउँदा हामी विजेता र उपविजेताको राशि बढाउने छौँ ।’

प्रतियोगितामा रंगेलीका ६ वटा टिमको सहभागिता रहने  खेल संयोजक अभिषेक मण्डलले जानकारी दिए । रंगेली नगरपालिका भित्रको खेलाडीको टिमहरू रहने उनले बताए । लिग चरणको आधारमा प्रतियोगिता हुनेछ । प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार रहेको छ । प्रतियोगिताको म्यान अफ द सिरिज हुने खेलाडीलाई नगद १० हजार, बेस्ट ब्याट्स म्यानलाई ५ हजार १ सय, बेस्ट बलरलाई ५ हजार १ सय, बेस्ट फिल्डरलाई ३ हजार ५ सय रुपैयाँ रहेको खेलकुद विकास समितिका सचिव राजन पनेरुले जानकारी दिए ।

प्रतियोगितामा दर्शकले क्याच गरेमा हरेक क्याचको १ सय रुपैयाँ पुरस्कार राखेको छ । हरेक खेलको म्यान अफ द म्याच हुने खेलाडीलाई १ हजार १ सय रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनलको म्यान अफ द म्याच हुने खेलाडीलाई २ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।  प्रतियोगिता सम्पन्न गर्न करिब १४ लाख ७५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप