आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एम्नेस्टी इन्टरनेसनल नेपालको विधान संशोधन

सोमबार, २८ जेठ २०८१, १० : २५
सोमबार, २८ जेठ २०८१

दाङ ।  एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) ले आफ्नो ३२ औं वार्षिक साधारण सभा दाङको घोराहीमा सम्पन्न गरेको छ। मङ्सिर १५ र १६ गते दुई दिन चलेको उक्त साधारण सभाले संस्थाको विधान संशोधन लगायतका विषयहरूमा निर्णयहरू गरेको हो ।

साधारणसभाले एम्नेस्टी नेपालको वार्षिक प्रतिवेदन, आगामी वर्षको कार्ययोजना र बजेटमाथि छलफल गरी पारित गरेको छ। साथै संस्थाको सदस्यता र गभर्नेन्सको संरचना र प्रक्रियालाई पुनर्परिभाषित तथा परिमार्जन गर्ने उद्देश्यले एम्नेस्टी नेपालको नेसनल बोर्डद्वारा प्रस्तावित संस्थाको विधान र नियमावलीहरू संशोधनको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको छ।

‘३२औँ साधारणसभाले नेसनल बोर्डद्वारा प्रस्ताव गरेको एम्नेस्टी नेपालको विधान र नियमावली संशोधनसम्बन्धी प्रस्तावउपर वृहत् छलफल गरी सर्वसम्मतिले अनुमोदन गरेको छ। यो संस्थाको परिवर्तन र नयाँ दिशाको लागि एउटा निकै नै महत्त्वपूर्ण कदम हो । यसले एम्नेस्टी नेपालमा आबद्ध रहेर मानवअधिकार आन्दोलनमा सक्रिय हुन चाहने सदस्य र समर्थकहरूमा नयाँ रक्त सञ्चारको अनुभूति गराएको छ,’ एम्नेस्टी नेपालका निर्देशक निराजन थपलियाले भने ।

नेपालका विभिन्न जिल्लाहरूमा रहेका एम्नेस्टी नेपाल शाखाका समूह र युथनेटवर्कहका प्रतिनिधिका साथै एम्नेस्टी नेपालको नेसनल बोर्ड र अपिल कमिटीका सदस्यहरू, पूर्व अध्यक्षहरू, कर्मचारी, स्वयंसेवक र पर्यवेक्षकहरूसमेत गरी करिब ३०० जनाले साधारणसभामा सहभागिता जनाएका थिए ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता रेखा शर्मा साधारण सभाको उद्घाटन सत्रको प्रमुख अतिथिको रूपमा रहेकी थिइन्। राष्ट्रिय सभाका सदस्य अनिता देवकोटा, लुम्बिनी प्रदेशसभा सदस्य लोका वि.क., घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उदय जिएम., जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, द्वन्द्वपीडित साझा चौतारीका संस्थापक अध्यक्ष सुमन अधिकारीलगायतका अतिथिहरूले उद्घाटन सत्रमा एम्नेस्टी नेपालको साधारणसभाको सफलताको शुभकामना दिँदै मन्तव्य राखेका थिए। उद्घाटन सत्रमा दाङका नागरिक समाजका सदस्य र पत्रकारहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप