आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तीन विधामा अन्तर्दृष्टि पुरस्कार घोषणा

सोमबार, २८ जेठ २०८१, ११ : १६
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा डा. कमल लामिछानेद्वारा २०७७ सालमा स्थापित ‘अन्तर्दृष्टि पुरस्कार’ २०८० सालका लागि तीन विधामा घोषणा गरिएको छ । 

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने दृष्टिविहीन विद्यार्थीहरूको सर्वेक्षणको आधारमा अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार तथा अन्तर्दृष्टि हातेमालो पुरस्कारका लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो भने अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार समितिका सदस्यहरू होमनाथ अर्याल, डा. कमल लामिछाने, सुनिता थापा र सरिता लामिछानेको निर्णयका आधारमा गरिएको हो ।

१) अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार

अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार शिक्षकको शिक्षण सिकाइ क्रियाकलाप, उनीहरूको सामाजिक व्यवहार, अपाङ्गताप्रतिको सोच र दृष्टिकोणलगायतलाई आधार मानी विद्यार्थीले छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित गोरखाको अमरज्योति जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक किशोरकुमार श्रेष्ठलाई प्रदान गरिनेछ । 

२) अन्तर्दृष्टि हातेमालो पुरस्कार

अन्तर्दृष्टि हातेमालो पुरस्कार दृष्टिविहीन विद्यार्थीहरूले आफूसँग हातेमालो गरेका अपाङ्गता नभएका विद्यार्थीहरूको सहयोगी भूमिका, व्यवहार, सिकाइको आदानप्रदानलगायतलाई आधार मानी छनोट गरेअनुसार गण्डकी प्रदेशस्थित गोरखाको अमरज्योति माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी समीर गुरुङलाई प्रदान गरिनेछ । 

३) अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार

पत्रकारिताका माध्यमबाट अपाङ्गता भएका व्यक्तिप्रति सकारात्मक सोच र दृष्टिकोणसहित खोज, अन्वेषण एवम् उनीहरूका असीमित सम्भावना र अवसरको पहिचान गरी समावेशी विकास र समतामूलक समाजको अङ्ग बनाउन भूमिका खेल्ने पत्रकारहरूमध्ये यस वर्षको अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार उज्यालो रेडियो नेटवर्कमा कार्यरत पत्रकार अच्युत घिमिरेलाई प्रदान गरिनेछ ।

प्रमाणपत्रसहित अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कारको रकम रु. २० हजार, अन्तर्दृष्टि हातेमालो पुरस्कारको रकम रु. १० हजार र अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कारको रकम रु. १० हजार छ । पुरस्कारहरू वषन्त पञ्चमीका दिन प्रदान गरिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप