आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश सम्मेलन

नेपाली कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन सम्पन्न : पार्टीको तल्लो तहलाई बलियो बनाउन माग

अन्तर पार्टी सञ्जाल बनाएर सबै पार्टीसँग सहकार्य गर्ने
शुक्रबार, २८ वैशाख २०८१, १८ : ३७
शुक्रबार, २८ वैशाख २०८१

बुटवल । बुटवलमा नेपाली कांग्रेसको दुई दिने प्रदेश सम्मेलन आज साँझबाट सकिएको छ । सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो।

सम्मेलनको समापनपछि पत्रकारसँग कुरा गर्दै  कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले सङ्घीय संरचनाअनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरे। उनले स्थानीय संरचनालाई क्रियाशील बनाउने र  निर्देशन गर्ने काम पार्टीको स्थानीय समितिले गर्नुपर्ने बताए । पुनले सङ्घीय सरकारले पनि संविधान अनुसार प्रदेश सरकारलाई अधिकार दिएर प्रदेशलाई चलायमान गराउन सम्मेलनमार्फत आग्रह गरिएको जानकारी दिए।  

प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्छ सम्मेलनमा सुझाव उठेको छ । मुलुकको विकास र समृद्धिका लागि अरू पार्टीसँग पनि समन्वयकारी भूमिका खेल्नु पर्ने भन्दै प्रदेश सम्मेलनले अन्तर पार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय र सहकार्य गर्ने निर्णय गरेको छ । सङ्घदेखि वडा संरचनासम्म अरू पार्टीसँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने  बताए ।   

यस्तै काँग्रेसको क्रियाशीलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनीले आग्रह गरेको छ । पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरू पनि तल्लो तहबाट स्वतः प्रतिनिधि भन्ने व्यवस्था खारेज गर्न र सबैले तलैदेखि लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ । 

शनिबार सुरु भएको लुम्बिनी प्रदेश सम्मेलनको आज बन्द सत्र भएको  थियो । बन्द सत्रमा प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेद, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश राणाद्वारा प्रस्तुत प्रतिवेदन माथि ४ वटा समूह बनाएर छलफल भएको थियो । समूहगत छलफलमा पार्टीको आन्तरिक गतिविधिसँगै मुलुकका समस्याका बारेमा पनि प्रतिनिधिहरूले सुझाव व्यक्त गरेका थिए ।

समूहगत छलफलका सुझावहरू समूहका नेताहरूले बन्द सत्रमा पेस गरेका थिए । प्राप्त सुझावलाई समेत समेटिने गरी प्रस्तुत प्रतिवेदनहरू पारित गरिएको  छ । सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरू, प्रदेश अधिवेशन प्रतिनिधि, जिल्ला सभापतिहरू, भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि गरी ७ सय सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप