आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

दुग्धजन्य वस्तु निर्यातको चर्चा, आयात नै रोकिएन

चार महिनामा मात्र ८८ करोडको आयात
बिहीबार, ०३ जेठ २०८१, ०६ : ०८
बिहीबार, ०३ जेठ २०८१

 

विराटनगर । देशैभरि दुध बिक्री नहुँदा किसान मारमा परेका छन् । करोडौँको दुग्धजन्य वस्तु नबिकेको भन्दै डेरी उद्योगी, व्यवसायीहरू हारगुहार गरिरहेका छन् ।

तर, भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनामा मात्रै ८८ करोड मूल्य बराबरको दुग्धजन्य वस्तु आयात भएको देखिएको छ ।

सरकारले पाउडर दुध आयातमा २०७५ सालदेखि नै कडाइ गरेको छ । तर, नाम परिवर्तन गरेर अर्कै बहानामा पाउडर दुध आयात भइरहेको उद्योगीहरू बताउँछन् । भन्सार विभागको तथ्याङ्कमा भने चालु आर्थिक वर्षको साउनदेखि कार्तिक महिनासम्ममा क्रिम, स्किमिल्क दुध पाउडर, बेबी पाउडर, बटरमिल्क, बटर, घिउ, अन्य दुग्धजन्य वस्तुहरू, चिजलगायत २० वटा आइटममात्रै ८८ करोड ३९ लाख १५ हजार बराबरको आयात भएको छ ।

गत वर्ष सोही अवधिमा ७७ करोड ६२ लाख ४४ हजारको त्यस्ता वस्तु आयात भएको थियो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षभरिमा विभिन्न २६ वटा दुग्धजन्य वस्तु २ अर्ब ३८ करोड ४६ लाख ६ हजार बराबरको आयात भएको थियो ।

यो तथ्याङ्कले नेपालका डेरी उद्योगहरूले वस्तुको विविधीकरणमा जानुपर्ने देखाएको छ । दुध बढी उत्पादन हुँदा बिक्रीमा समस्या भइरहेको बेला विविधीकरणमा गए बजारमा खपत गर्न सकिने सरकारी अधिकारीहरू बताउँछन् ।

Milk Bare_page-0001Milk Bare_page-0002Milk Bare_page-0003

‘पाँच वर्ष अगाडिसम्म दुध अरू देशमा निर्यात गर्नेभन्दा मान्छे हाँस्थे । तर, अहिले हामीले दुध निर्यातमा अनुदान दिने भनेर बजेट राखेका छौँ । विकासको चरणमा निर्यातमा अनुदान दिनुपर्छ भनेर हामीले बजेट राखेका हौँ । व्यवसायीले पनि देशभित्र कति बिक्री गर्ने र देश बाहिर कति पठाउने भनेर निर्णय गर्नुपर्छ,’ उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले भने । सरकारले ०७५ सालमै पाउडर दुध आयातमा प्रतिबन्ध लगाएको बताउँदै उनले लिगल बाटोबाट आए पनि त्यो गैरकानुनी हुने भन्दै उनले पाउडर दुध आयात रोकिनुपर्ने प्रस्ट पारे ।

विराटनगरमा रहेको सूर्योदय डेरी उद्योगका सञ्चालक मनोज यादव भने विदेशबाट आयात भइरहेका दुधजन्य उत्पादनका सामग्रीहरू आफूहरू पनि उत्पादन गर्न सक्ने बताउँछन् । ‘हामीले पनि विदेशबाट आयात भइरहेका वस्तुहरू उत्पादन गर्न सक्छौँ,’ उनले भने, ‘तर, वैध तरिकाले भन्दा पनि अवैध तरिकाले पाउडर दुध बढी आउँदा समस्या छ । वैध तरिकाले आउँदा पनि नाम परिवर्तन गरेर ल्याएको पाएका छौँ ।’

उनले नेपालका बिस्कुट उद्योगहरूले पनि पाउडर दुधको खपत उनीहरूको क्षमता अनुसार नगरेको विषयमा अनुगमन हुनुपर्ने बताए ।

‘बिस्कुट उद्योगहरूले नेपालको दुध पाउडर किनिरहेका छैनन् । तर, बिस्कुट उत्पादन त भइरहेको छ । कहाँबाट पाउडर दुध आयो ?,’ उनले प्रश्न गरे, ‘सरकारले बिस्कुट उद्योगहरूको अनुगमन गरेर पाउडर आयात भइरहेको वा नभएको विषयमा यकिन गर्नुपर्छ ।’

कोशी प्रदेशमा अहिले पनि झण्डै ३ लाख किलो बटर र २ लाख किलो पाउडर दुध रहेको यादवको अनुमान छ । यसको खपत गर्न नसकेको अवस्थामा डेरी उद्योगहरू धराशायी बन्ने उनको दाबी छ ।

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध सहकारी संस्थाका अध्यक्ष यादव ढकालले काठमाडौँका गोदाममा भारतबाट आयातित २० हजार बोरा पाउडर दुध रहेको दाबी गरे । ‘मैले गोदाम पनि हेरेँ, २५० रुपैयाँ प्रतिकिलोले भारतबाट स्किन मिल्क पाउडर भनेर आयात भइरहेको छ,’ उनले भने, ‘यसलाई सरकारले रोक्नु प¥यो ।’

अन्तर्राष्ट्रिय बजारमा २५ किलोको एक बोरा पाउडर दुध नेपालमा आउँदा ५ हजार सस्तो पर्ने भएकाले चोरी पैठारी तथा नाम परिवर्तन गरेर भन्सारबाटै आउने गरेको उनको दाबी छ ।

दुधको खपत कम भएपछि कोशी प्रदेशका ९ वटा डेरी उद्योगले प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएका छन् । यस्तै डेरीजन्य अन्य उत्पादित सामग्रीहरूको पनि मूल्य घट्दा केही खपत बढेको उद्योगी बताउँछन् ।

यता, कोशी प्रदेश सरकारले पनि बटर तथा दुध पाउडर विदेश निर्यात गर्ने उद्योगलाई अनुदान दिने भन्दै ४ करोड बजेट छुुट्याएको छ । प्रदेश सरकारले बजेट छुट्याउनु राम्रो भएको तर, निर्यातका लागि वातावरण बनाउन संघीय सरकारले सहजीकरण गर्नुपर्ने डेरी उद्योगहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप