आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तपाईँमा यी लक्षणहरु छन् ? स्मार्टफोनको लत लागिसक्यो

शुक्रबार, ०४ जेठ २०८१, १६ : ०४
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । हिजोआज जसको हातमा पनि समार्टफोन नै भेटिन्छ । चिया खाँदा होस् वा खाना खाइरहेको बेलामा, शौचालयमा होस् वा साथीभाइसँगको भेटघाटको बेलामा जो जतिबेला पनि स्मार्टफोनमै झुन्डिरहेका हुन्छ । 

घरमा बाहिर जहाँ सुकै होस् एक ठाउँमा बसीबसी स्मार्टफोनबाटै अधिकांश काम गर्न सकिन्छ । हरेक चिजमा यसैको प्रयोग छ । यस्तोमा मानिसहरुमा स्मार्टफोनको लत नै बसिसकेको छ । चाहिने बेलामा भन्दा नचाहिने बेलामा पनि फोन चलाइरहेका हुन्छौँ हामी । बाहिरी संसारलाई भुलेर स्मार्टफोनकै संसारमा हराइरहेका हुन्छौँ । तर यसको धेरै प्रयोगले हाम्रो आँखा कमजोर हुनसक्छ । मानसिक स्वास्थ्यसम्बन्धी अनेकौँ समस्या पनि आउनसक्छ । फोनले हाम्रो तनावको स्तर बढाइदिन्छ र एङ्जाएटी तथा डिप्रेशनजस्ता गम्भीर समस्याको कारण बन्न सक्छ । त्यसैले सकेसम्म फोनको अत्यधिक उपयोग गर्नबाट बच्नुस् ।

स्मार्टफोनको प्रयोग थोरै मात्र घटाउँदा पनि मानसिक स्वास्थ्यमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने कयौँ अध्ययनले देखाएको अमेरिकाको युनिभर्सिटी अफ रोचेष्टर मेडिकल सेन्टरको रिपोर्टमा भनिएको छ । जर्मनीमा सन् २०१९ को अप्रिलदेखि सन् २०२० को नोभेम्बरसम्म गरिएको अध्ययनमा पत्ता लागेको थियो कि एक हप्तासम्म दैनिक एक घण्टा मात्रै कम स्मार्टफोन चलाउँदा पनि एङ्जाएटी र डिप्रेसनको स्तरमा कमी आउनेछ । कम फोन प्रयोग गर्दा शारीरिक गतिविधिमा पनि सुधार आउन सक्छ ।

त्यसोभए कुनै व्यक्तिमा स्मार्टफोनको लत छ कि छैन कसरी पत्ता लगाउने ? रिसर्चको अनुसार व्यक्तिको केही बानी र लक्षणबाटै स्मार्टफोनको एडिक्शन हो कि होइन भनेर थाहा पाउन सकिन्छ । कहिलेकाहीँ घर बाहिर गएको बेलामा फोन छुट्यो भने मान्छे चिन्तित हुन थाल्छ । तपाईँलाई पनि यस्तै हुन्छ भने सावधान हुने आवश्यकता छ । फोन साथमा नभएको बेलामा असहज वा असहाय महसुस गर्ने स्थितिले पनि एडिक्शनतर्फ नै औँल्याउँछ । यसबाहेक अन्य केही संकेतहरु पनि छन्:

–बिना सोचविचार फोनको एप चेक गर्ने वा इन्टरनेट ब्राउज गर्ने

–फोन एक्सेस भएन भने चिन्तित वा बेचैन महसुस गर्ने

–फोन चलाइरहेकै कारण घर वा अफिसको काम अधुरो रहने  स्थिति

–गाडी चलाइरँदा वा बाटो काटिरहेको अवस्थामा पनि फोन चलाइरहनु

–फोनमा कुनै पनि म्यासेज वा नोटिफिकेशन आउने बित्तिकै तुरुन्त हेरिहाल्ने बानी

–काममा व्यस्त भएको बेलामा पनि बिना कारण बारम्बार फोन चेक गरिरहने 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप