आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जलवायु सम्मेलनमा पहिलोपटक इप्पानको प्रतिनिधित्व, भण्डारी र पौडेल युएई प्रस्थान

शुक्रबार, ०४ जेठ २०८१, १६ : २०
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको प्रतिनिधि मण्डल पहिलोपटक जलवायु सम्मेलनमा सहभागी भएको छ । नेपालमा करिब १ हजार ८०० मेगावाट क्षमताका १६५ भन्दा धेरै आयोजनाबाट विद्युत् उत्पादन गरेको इप्पानका सदस्य संस्थालाई कार्बन ट्रेड बापतको रकम दाबी गर्ने र बाढीबाट प्रभावित आयोजनालाई क्षतिपूर्ति दिलाउन पहल गर्ने लक्ष्यसहित इप्पान प्रतिनिधिमण्डल संयुक्त अरब इमिरेट्स (युएई) तर्फ प्रस्थान गरेको हो ।

इप्पानका विज्ञ सल्लाहकार कृष्णप्रसाद भण्डारी र कार्यसमिति सदस्य मिथुन पौडेल कोप २८ मा भाग लिन सोमबार युएई प्रस्थान गरेका छन् । कोप २८ मा भाग लिने टोलीको बिदाइ गर्दै इप्पानका महासचिव बलराम खतिवडाले भ्रमण उपलब्धिमूलक बनाउन आग्रह गरे ।  विगतमा नेपालले कार्बन ट्रेड बापतको रकम लिन पर्याप्त अध्ययन गर्न नसकेको भए पनि अब इप्पानले विज्ञ समूह बनाएर कार्बन ट्रेडवारे अध्ययन गर्ने र अरू देशका जलविद्युत प्रवर्द्धकले लिइरहेको सुविधा नेपाली प्रवर्द्धकलाई पनि दिलाउन पहल गर्ने खतिवडाले बताए ।

इप्पानका सल्लाहकार कृष्णप्रसाद भण्डारीले युएईमा जापान, अमेरिका लगायतका विकसित मुलुकका प्रतिनिधिसँग साइड लाइन वार्ता गरेर नेपालमा जलवायु सम्बन्धी फन्डहरू भित्र्याउन पहल गर्ने बताए । नेशनल हाइड्रोपावरले कार्बन विसर्जनको अध्ययन गरेको उल्लेख गर्दै भण्डारीले नेपालमा सञ्चालनमा आएका सबै जलविद्युत आयोजनाले यस बारेमा अध्ययन गर्ने हो भने प्रवर्द्धकहरूले कार्बन विसर्जन गरेबापत ठुलो रकम पाउने पनि बताए ।

इप्पानका कार्यसमिति सदस्य मिथुन पौडेलले ऊर्जा उत्पादकहरूको छाता संस्था इप्पानबाट ४५० बढी हाइड्रोपावरको प्रतिनिधित्व गरेर जलवायु सम्मेलनमा सहभागी हुन लागेको भन्दै इप्पानको लागि जलवायु सम्बन्धी च्यारीटी फन्डहरू ल्याउन पहल गर्ने बताए । इप्पानका प्रमुख कार्यकारी भीम गौतमले कार्बन विसर्जनको दुई तिहाइ हिस्सा निजी क्षेत्रको भए पनि लाभ जति सबै सरकारी पक्षले मात्रै लिएको भन्दै अव निजी क्षेत्रले पनि लाभ पाउने गरी कोप २८ मा इप्पानका एजेन्डा प्रस्तुत गर्न आग्रह गरे ।

कोप २८ का लागि सोमबार युएई प्रस्थान गरेको टोली बिहीबार नेपाल फिर्ता हुनेछ । कोप २८ मा सहभागी हुने इप्पानको टोलीलाई उपाध्यक्ष आनन्द चौधरी, महासचिव बलराम खतिवडा र उपमहासचिव प्रकाश दुलालले बिदाइ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप