आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
पूर्वी तराईमा हात्तीको आतङ्क

१३ दिनमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु

शनिबार, २३ मङ्सिर २०८०, १९ : ४९
शनिबार, २३ मङ्सिर २०८०

विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीको चुरे फेदीमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । १३ दिन यतामात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधारणको मृत्यु भइसकेको छ ।

मङ्सिर ५ गते हात्तीले आक्रमण गर्दा झापा, दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भयो । शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

यस्तै मङ्सिर १३ गते राति सुनसरीको इटहरीमा जङ्गली हात्तीको आक्रमणबाट इटहरी–२ का रविन खड्काको मृत्यु भयो । चारकोशे झाडीबाट बस्तीमा छिरेको हात्तीको बथान धपाउने क्रममा खड्कालाई हात्तीले आक्रमण गरेको हो । प्रहरीका अनुसार इटहरीको १९, २०, २ र ३ नम्बर वडामा हरेक रात हात्तीको बथानले भौतिक क्षति गर्दै आएको छ ।

मङ्सिर १५ गते झापाको हल्दिबारी–३ स्थित रणकाली सामुदायिक वनका चौकीदार ४० वर्षीय धनबहादुर वनको पनि हात्तीको आक्रमणबाट मृत्यु भयो । जङ्गलबाट आएको एउटा हात्तीले उनलाई लछारपछार गरी कुल्चिएर मारेको हो ।

मङ्सिर १८ गते बिहान मोरङको बेलबारीमा एक जनालाई हात्तीले मारेको छ । लेटाङ–३ का ५३ वर्षीय कमल माझीलाई हात्तीले बेलबारी–१०, भाउन्नेमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीमा केही समय यता जङ्गली हात्ती हुलका हुल पसिरहेका छन् । लस्करै हिँड्ने हात्तीको बथानले विभिन्न ठाउँमा आतङ्क मच्चाइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा डीएसपी रञ्जन दाहालका अनुसार मोरङको बेलबारीमा देखिएको हात्तीको समूहमा २०–२१ वटा हात्ती छन् । दुई हप्ता अगाडिदेखि मोरङ र सुनसरीको चुरे आसपासको क्षेत्रमा हात्ती घुमिरहेका छन् ।

भारत हुँदै झापाको बाहुनडाँगीबाट प्रवेश गरेर हुम्सेदुम्से, शान्तिनगर, बुधबारे हुँदै मोरङको उर्लाबारी, लेटाङ, मिक्लाजुङ, बेलबारी, कानेपोखरी, केराबारी, पथरी क्षेत्रका जङ्गल क्षेत्रमा हात्ती आउने गरेका छन् । ‘प्रत्येक वर्ष हात्ती आउँछन् । गत वर्ष पनि हात्तीको आक्रमणबाट बेलबारी क्षेत्रमा दुई जना सर्वसाधारण मारिएका थिए,’ दाहालले भने ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णु घिमिरेका अनुसार सलकपुर, बेलबारी र उर्लाबारीको मंगलबारेमा रहेको डिभिजन वन कार्यालयबाट सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन सुरक्षाको टोली साइरनसहित हात्ती धपाउन परिचालन गरिएको छ ।

साउनदेखि अहिलेसम्म जङ्गली हात्तीले मिक्लाजुङमा मात्रै ११ जनाको घर भत्काएर पाँच सय बिघाभन्दा बढी क्षेत्रफलको धानवाली नष्ट गरेको सो गाउँपालिकाको तथ्याङ्क छ । पालिकाले तीन महिनामा स्थानीयलाई ८ लाख बराबरको क्षतिपूर्ति तिरिसकेको छ ।

मिक्लाजुङ–६ को कसेनी, खामेझोडा, कतले र बेतनी, वडा ७ को मावाडाँगी र वडा ८ को मावा तोरीबारीका स्थानीयका लागि तीन महिना यता हरेक रात जङ्गली हात्ती लखेट्नु दैनिकी बनेको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयका वार्डेन रमेशकुमार यादवका अनुसार हात्ती बर्सेनि दुई वटा मौसम (कात्तिक–मङ्सिर र जेठ–असार)मा आउँछ । हात्तीबाट मानिसको मृत्यु हुनुमा मानवीय कमजोरी नै प्रमुख रहेको उनको भनाइ छ ।

‘मानिसको मृत्यु हुनुको मुख्य कारण हाम्रै लापरबाही हो । हामी जानीजानी हात्तीलाई आक्रमण गर्न जान्छौँ,’ उनले भने, ‘अनि नजिक आएपछि सेल्फी हान्न जान्छौँ । अनि हात्तीलाई ढुङ्गामुढा गर्छौं । त्यसो हुँदा हात्ती रिसाएर आक्रमण गर्छ । हात्तीलाई लखेट्नु हुँदैन ।’

हात्तीले जनधनको क्षति गरेको अवस्थामा राज्यले क्षतिपूर्ति दिने उनी बताउँछन् । गत वर्ष सुनसरीमा हात्ती पनि मारिएको थियो । भारतबाट आएका यी हात्ती उदयपुरसम्म पुग्ने गरेका छन् ।

‘हात्तीको लागि अहिलेको सिजनमा घाँस हुँदैन । त्यसपछि मान्छेले लगाएको उखुबारी र केराबारी खान जान्छ,’ यादवले भने, ‘यिनीहरु माघसम्म यतै बस्न सक्छन् । त्यसबेलासम्म हामीले होसियारी अपनाउनु पर्छ ।’

अहिले झापा, मोरङ र सुनसरीमा विभिन्न समूहमा हात्ती छन् । पूर्वी नेपालमा ५० भन्दा बढीका तीन वटासम्म समूहमा हात्ती रहेको उनको अनुमान छ । यद्यपि यसको प्रमाणिक विवरण छैन । सुनसरीको कोशी खण्डमा मात्रै ५ वटा हात्ती निरन्तर हिँडिरहेको छ । सुनसरी तालतलैयाको ग्रुप अर्को हो ।

हात्ती विज्ञ डाक्टर नरेन्द्रबाबु प्रधान पनि हात्ती लखेट्न जानु नै ठूलो कमजोरी भएको बताउँछन् । ‘हात्ती धपाउने काम नै नगरौँ । हात्तीले बाली खान्छ होला ! तर, त्यसको लोभमा ज्यान फाल्नु भएन,’ प्रधानले भने, ‘बालीनालीको त राज्यले क्षतिपूर्ति दिन्छ नि ! हात्तीलाई जति चलायो, त्यति बहुलाउँछ । हात्तीलाई लखेट्न जाँदा धेरै मानिस मरिरहेका छन् ।’

उनले पनि पहिलेपहिले भारतबाट नेपालमा डेढ सयभन्दा बढी संख्यामा हात्तीको हुल आउने गरेको बताए । अहिले पनि त्यही हुल आएको हुनसक्ने उनको अनुमान छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप