आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : सरकार थोत्रो भइसकेको एमालेको जिकिर, प्रधानमन्त्रीले प्रस्ट्याए सरकारको धारणा

शनिबार, २३ मङ्सिर २०८०, २० : ४३
शनिबार, २३ मङ्सिर २०८०

आज २०८० मंसिर १८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा समसामयिक विषयमा सरकारका धारणा प्रस्ट्याए प्रधानमन्त्री प्रचण्डले, सरकार थोत्रो भइसकेको ओलीको जिकिर, विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा प्रधानमन्त्री असन्तुष्ट, ओलीले भनेका ‘देशद्रोही’माथि होला कारबाही ?, संसदीय दलको उपनेता चयनमा प्रमुख दलहरु उदासीन, राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार, सुनको मूल्यमा कीर्तिमान लगायत छन् ।

१.समसामयिक विषयमा सरकारका धारणा प्रस्ट्याए प्रधानमन्त्री प्रचण्डले
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मिडियाका सम्पादकहरुसँग कुराकानी गर्दै समसामयिक विषयमा सरकारका धारणा प्रस्ट पारेका छन् । एनसेल बिक्री प्रकरण, जाजरकोट भूकम्प पीडितका समस्या, देशको अर्थतन्त्र, टिकटकमाथिको प्रतिबन्ध लगायतका विषयमा उनले प्रस्ट पारेका हुन् ।

२. सरकार थोत्रो भइसकेको ओलीको जिकिर
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार थोत्रो भइसकेको बताएका छन् । एमालेले आयोजना गरेको संकल्प यात्रा अन्तर्गत सोमबार कर्णालीको वीरेन्द्रनगरमा आयोजित सन्देशसभामा उनले सरकारको कुनै नीति, विधिसमेत नभएको भन्दै कटाक्ष गरे ।

३. विप्लवसहितका नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा प्रधानमन्त्री असन्तुष्ट
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सोमबार सिंहदरबारमा आयोजित केही सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

४. ओलीले भनेका ‘देशद्रोही’माथि होला कारबाही ?
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले गत आइतबार अहिलेको अवस्थामा प्रतिगमनका कुरा गर्ने सबै ‘देशद्रोही’ भएको बताएका थिए । उनले लोकतान्त्रिक गणतन्त्रभन्दा राजतन्त्रलाई उत्तम ठान्ने, पछिल्लो राजनीतिक परिवर्तनलाई उपलब्धि नठान्ने र जनताको हित नचाहनेहरू ‘देशद्रोही’ भएको टिप्पणी गरे । उनले अहिलेको व्यवस्थाविरुद्ध बोल्ने र प्रतिगमनको वकालत गर्नेहरू देशद्रोही भएको बताए पनि त्यस्ता व्यक्ति वा समूह को को हुन् भन्ने खुलाएका छैनन् ।

पछिल्लो समय कुनै बेला आफ्नै पार्टीको केन्द्रीय सदस्य समेत रहेका दुर्गा प्रसाईंको समूहले हालको व्यवस्था परिवर्तन गर्ने ‘मुभमेन्ट’ चलाइरहेको छ । त्यसबाहेक पूर्वपञ्चहरु सामेल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल लगायतका केही दलहरूले पनि राजतन्त्रको शान्तिपूर्ण ढङ्गले वकालत गरिरहेका छन् । त्यसो भए के राजतन्त्रको पक्षमा वकालत गर्नेहरू देशद्रोही हुन् त ? यदि हुन् भने किन उनीहरूमाथि कारबाही हुँदैन ? ओलीको यो अभिव्यक्तिपछि यस्ता प्रश्न स्वाभाविक रूपमा उठ्न पुगेका छन् ।

५. संसदीय दलको उपनेता चयनमा प्रमुख दलहरु उदासीन
प्रतिनिधिसभा सदस्य निर्वाचन भएको एक वर्ष बितिसक्दा समेत मुख्य राजनीतिक दलले अझै संसदीय दलको उपनेता चयन गरेका छैनन् । गत वर्ष मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएको थियो । तर अहिलेसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल लगायतका दलले उपनेता चयन गर्न सकेका छैनन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनपछि रिक्त पदमा एमालेले समेत कसैलाई मनोनीत गरेको छैन ।

६. राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार
आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनले साझा उम्मेदवार उठाउने भएको छ । आगामी फागुन २० गते एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।

७. सुनको मूल्यमा कीर्तिमान
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार फेरि सुनको मूल्य बढेको जानकारी दिएको छ । महासंघका अनुसार तोलामा ८०० रुपैयाँले सुनको मूल्य बढेको हो । यससँगै, आज सुनको मूल्यले नयाँ कीर्तिमान कायम भएको छ ।

८. कोशी सरकारले कहिले पाउँछ पूर्णता ?
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो कार्यकालको ५१ औँ दिनमा बल्ल ३ जना मन्त्रीलाई विभागीय जिम्मेवारी दिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ९ मन्त्रालय रहेको प्रदेशमा अन्य ५ मन्त्रालय अझै मन्त्रीबिहीन छन् । प्रदेश सरकारले कहिले पूर्णता पाउला भन्ने अझै सुनिश्चित भइसकेको छैन ।

९. देशका पश्चिमी हिमाली क्षेत्रमा हिमपात
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा वर्षासँगै हिमपात भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हुम्ला र जुम्लामा हिमपात भएको छ भने सुर्खेत, दैलेख लगायतका जिल्लामा सामान्य वर्षा भएको छ ।

१०. दुध निर्यातको चर्चा भइरहँदा आयात नै रोकिएन
देशैभरि दुध बिक्री नहुँदा किसान मारमा परेका छन् । करोडौँको दुग्धजन्य वस्तु नबिकेको भन्दै डेरी उद्योगी, व्यवसायीहरू हारगुहार गरिरहेका छन् । तर, भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको चार महिनामा मात्रै ८८ करोड मूल्य बराबरको दुग्धजन्य वस्तु आयात भएको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप