आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विषादी प्रयोग

विषादी आयात बढ्दो, के–केमा हुन्छ प्रयोग ?

तीन वर्षमा २६ लाख किलो विषादी नेपाल भित्रियो
आइतबार, २४ मङ्सिर २०८०, ०७ : ३२
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । नेपालमा विषादी आयात बढ्दै गएको पाइएको छ । तीन वर्ष यता झण्डै २६ लाख किलो विषादी भित्रिएको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

तीन वर्षमा किटनाशक, ढुसीनाशक, जीवाणुनाशक,  झारनाशक, मुसानाशक र जैविक कीटनाशक विषादी २६ लाख १ सय ९५ किलो आयात भएको हो । तीन वर्ष यता कीटनाशक विषादी ७ लाख २० हजार किलो, ढुसीनाशक १२ लाख ८९ हजार किलो, जीवाणुनाशक ३ सय ८३ किलो, झारनाशक ५ लाख ७२ हजार किलो, मुसानाशक १६ हजार किलो, जैविक कीटनाशक २ सय ६५ किलो भित्र्याइएको छ ।

सन् २०१९÷२०२० मा ६ लाख ८१ हजार किलो विषादी आयात भएको तथ्याङ्कमा उल्लेख छ । यो वर्ष किटनाशक  १ लाख ६३ हजार किलो विषादी ल्याइएको थियो । यस्तै, ढुसीनाशक ३ लाख ५२ हजार किलो, जीवाणुनाशक २४      किलो, झारनाशक १ लाख ६२ हजार, मुसानाशक विषादी ३ हजार ५ सय किलो र जैविक कीटनाशक ४०  किलो आयात भएको थियो ।

सन् २०२०/२०२१ मा ७ लाख ८३ हजार किलो विषादी आयात भएको थियो । सो वर्ष कीटनाशक १ लाख ८६ हजार किलो विषादी ल्याइएको थियो । यस्तै, ढुसीनाशक ४ लाख ७ हजार किलो, जीवाणुनाशक ३५ किलो, झारनाशक १ लाख ८४ हजार मुसानाशक विषादी ४ हजार किलो र जैविक कीटनाशक ५० किलो आयात भएको थियो ।

सन् २०२१/२०२२ मा ११ लाख ३५ हजार किलो विषादी आयात भएको तथ्याङ्कमा उल्लेख छ । उक्त परिमाणमा विषादी भित्र्याउँदा १ अर्ब ६२ करोड ३८ लाख रुपैयाँ बाहिरिएको थियो । सो वर्ष कीटनाशक ३ लाख ७० हजार किलो विषादी ल्याइएको थियो ।  यस्तै, ढुसीनाशक ५ लाख २९ हजार किलो,  जीवाणुनाशक ३ सय २४ किलो, झारनाशक २ लाख २६ हजार किलो, मुसानाशक विषादी ९ हजार २ सय किलो र जैविक कीटनाशक १ सय ७५ किलो आयात भएको थियो ।

table

के–केमा प्रयोग हुन्छ विषादी ?

आयातित विषादी बालीनालीमा मात्रै नभइ अरु क्षेत्रमा पनि प्रयोग हुन्छन् । खेतबारीमा लाग्ने रोग र किरालाई नाश गर्नदेखि मानव स्वास्थ्यका लागि पनि विषादी प्रयोग भइरहेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलले बताए ।

घरमा रोपिएका फूलहरुमा समेत विषादीको प्रयोग भएको पाइएको छ । पछिल्लो समय भेटेरीनरी क्षेत्रमा पनि विषादी प्रयोग भएको छ । पशुचौपायामा लाग्ने किर्ना नाश गर्न, खाद्यान्न भण्डारणमा विषादी प्रयोग भएको पाइएको छ ।

‘जनस्वास्थ्यमा बढी प्रयोग भइरहेको छ,’ उनले भने, ‘डेंगी, मलेरिया लगायतलाई नियन्त्रण गर्नका लागि लामखुट्टे मार्न पनि विषादी प्रयोग भएको छ ।’

घरायसी प्रयोजनका लागि पनि विषादी प्रयोग भएको छ । ‘होटेल, बैंक, हस्पिटल लगायत क्षेत्रमा किर्ना मार्न, सरसफाइ गर्न विषादी प्रयोग भएको छ,’ उनले भने, ‘साङला, उडुस, उपियाँ लगायत किरा मार्न पनि विषादी प्रयोग भएको छ ।’

उनका अनुसार घरमा रोपिएका फूलहरुमा समेत विषादीको प्रयोग भएको पाइएको छ । पछिल्लो समय भेटेरीनरी क्षेत्रमा पनि विषादी प्रयोग भएको छ । पशुचौपायामा लाग्ने किर्ना नाश गर्न, खाद्यान्न भण्डारणमा विषादी प्रयोग भएको पाइएको छ ।

विषादीको प्रयोग किन बढ्यो ?

नेपालमा पछिल्लो समय विषादी धेरै मात्रामा प्रयोग भएको पाइएको छ । बाली बिरुवामा नयाँ प्रजातिका रोग र किरा देखिनु, रैथानेभन्दा विकासे र हाइब्रिड जातको बिउ प्रयोग बढी गर्नु, व्यावसायिक उत्पादन लगायत कारणले विषादी प्रयोग बढेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रकी बाली संरक्षण अधिकृत स्तुति आचार्यले बताइन् ।

विकासे र हाइब्रिड जातको बिउमा स्थानीय जातको तुलनामा रोग र किरासँग लड्न सक्ने क्षमता न्यून हुन्छ । ती बालीमा रोग र किरा बढी लाग्ने भएर विषादीको प्रयोग गरिन्छ । व्यावसायिक रुपमा बढी उत्पादन लिनका लागि रोग र किराबाट बाली जोगाउन, तरकारी फ्रेस राख्नसमेत विषादी प्रयोग हुने उनले बताइन् ।

पछिल्लो समय प्रविधिको विकास भएसँगै विभिन्न सञ्चार माध्यममार्फत प्राप्त सूचनाका आधारमा किसानले आफैँ विषादी प्रयोग गर्ने गरेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप