आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लमजुङमा सहकारीको रकम घोटाला, क्याम्पस प्रमुख सहित ७ जना पक्राउ

बुधबार, ३० जेठ २०८१, १२ : २५
बुधबार, ३० जेठ २०८१

पोखरा ।सहकारीको रकम अपचलन गरेको आरोपमा लमजुङ स्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापा पक्राउ परेका छन् । कालिका बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना भएको उजुरी बचतकर्ताले दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अहिलेसम्म सञ्चालक सहित ३५ जना विरुद्ध पक्राउ पुर्जी जारी भैसकेको जिल्ला प्रहरी कार्यालय प्रमुख गङ्गाबहादुर थापाले जानकारी दिए ।

‘पक्राउ परेकाहरूको स्टाटस  हामीलाई जानकारी छैन । तर अहिलेसम्म ७ जनालाई पक्राउ गरिसकेका छौं । त्यसमध्ये १ जना सर हुनुहुन्छ,’ उनले भने । थापालाई सोमबार नै जिल्ला अदालत लमजुङबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको छ । यसबाहेक ६ जनालाई मङ्सिर १० गते नै पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ । सहकारीका सञ्चालक तथा पूर्व अध्यक्ष मृगेन्द्र घिमिरे र कोषाध्यक्ष उनकी श्रीमती विनीता घिमिरे बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसबाहेक सहकारीका अध्यक्ष शिवराम सिलुवाल, उपाध्यक्ष श्रीकृष्ण लामिछाने, सचिव कृष्ण केसी, सदस्य मिलन शर्मा दनाई, प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया र लेखापरीक्षक महेन्द्र शर्मा पौडेल पनि पक्राउ परेका छन् । उनीहरु विरुद्ध २ पटक म्याद थप भई अनुसन्धान चलिरहेको छ । बचतकर्ताको उजुरीपछि लमजुङ प्रहरीले मङ्सिर १० गतेभित्र निवेदन दिन सूचना जारी गरेको थियो । ३५ जना भन्दा बढीले उजुरी दर्ता गराएका छन् । २०७७ असार १ गते साबिकको सम्पदा बचत तथा ऋण सहकारी र कर्पुरेश्वर बचत तथा ऋण सहकारी संस्थालाई मर्ज गरेर कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड चलाइएको हो ।

बेंसीसहर ८ मा प्रधान कार्यालय रहेको सहकारीले मध्य नेपाल नगरपालिका ७ रामबजार, सुन्दरबजार नगरपालिका ८ र दोर्दी गाउँपालिका ४ मा पनि सेवा केन्द्र सञ्चालन गरेको थियो । ४ हजार ५ सय ९ जना शेयर सदस्य रहेको सहकारीमा २ करोड ११ लाख रुपैयाँ शेयर पुँजी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप