आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘कोप–२८ मा नेपालले उठाएका एजेण्डाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढायो’

बुधबार, ३० जेठ २०८१, १५ : ३६
बुधबार, ३० जेठ २०८१

 कृष्णा पौडेल 

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले कोप—२८ सम्मेलनमा नेपालले उठाएका एजेण्डाहरुले नेपाल र हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे चर्चा बढाएको बताएका छन् ।  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मेलनमा नेपालको तर्फबाट गरेको सम्बोधन र नेपालले उठाएका एजेण्डाहरुले विश्वको ध्यान खिचेको सचिव खरालले बताए । 

मंगलबार दुबईमा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सचिव खरालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र त्यसले पारेको सकारात्मक प्रभावका कारण पनि कोप २८ मा नेपालको उपस्थिति र प्रस्तुति सशक्त बन्न गएको बताए । उनले जलवायु परिवर्तनका कारण नेपालले व्यहोरिरहेको हानी नोक्सानीबापत न्यायमा आधारित भएर आर्थिक सहायता उपलब्ध गराउने कुरामा पनि आफूहरुले सम्मेलनमा सचेत भएर सशक्त ढंगले आफ्नो प्रस्तुति दिएको बताए । 

सचिव खरालले जलवायु परिवर्तनका कारण हिमाली मुलुकले व्यहोरेको हानी नोक्शानीबारे विश्वमै उजागर गर्नका लागि हिमाली मुलुकहरुको सम्मेलन नेपालले आयोजना गर्न लागेको पनि बताए । सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई सो निर्देशन दिएको र काठमाडौँ फर्कने बित्तिकै सो कामको तयारीलाई तीव्रताका साथ अघि बढाउने उनको भनाई थियो । समान परिवेश भएका देशहरुको समूह बनाएर आवाज नउठाएसम्म जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि नेपालले पाउनुपर्ने वित्तीय सहयोग पाउन कठिन रहेको उनले बताए ।

उनले समान परिवेश भएका देशहरुको समूह बनाएर काम नगरेसम्म ग्लोबल स्केलमा उपलब्धि हासिल गर्न सजिलो नरहेको बताएका हुन् । धेरै प्रभावशाली देशहरुले एकल प्रयासबाट सहायता पाउन सफल भएपनि आर्थिक अवस्था कमजोर भएका देशहरुका लागि एकताबद्ध भई आवाज उठाउनुपर्ने आवश्यकता रहेको उनले बताए । उनले समान अवस्था भएका देशहरुले एउटै गोलमेचमा बसेर र एउटै गठबन्धन बनाएर आवाज र उपस्थितिलाई बलियो बनाउने स्थिति नभएसम्म सहायता पाउने कुरा कठिन रहेको बताए ।  समान परिवेश भोगिरहेका देशलाई एकताबद्ध बनाएर मेहनत नगर्ने हो भने अवस्था चुनौतीपूर्ण रहेको उनले बताए ।

सचिव खरालले नेपालले आगामी दिनमा पनि जलवायु परिवर्तनले पारेको असर न्यूनीकरणका लागि विश्व समुदायबाट लिने आर्थिक सहायताका लागि चनाखो भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप