आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

अनलाइन मार्फत यौनधन्दा : ७० हजारसम्म ‘डिल’

दुई समूहका ७ जना पक्राउ
शुक्रबार, ०४ जेठ २०८१, १९ : ५८
शुक्रबार, ०४ जेठ २०८१

काठमाडौँ । काठमाडौँमा अनलाइन मार्फत यौनधन्दा मौलाउँदै गरेको प्रहरीको अनुसन्धानबाट देखिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले दुई वटा समूहका ७ जनालाई त्यस्तो धन्दा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेका सुरेश कुमार श्रेष्ठ र सुरज खड्का गिरोहको ‘नाइके’ रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सोमबार पक्राउ गरिएका सुरेश कुमार श्रेष्ठ काभ्रेको भुम्लु गाउँपालिकाका बासिन्दा हुन् । २७ वर्षीय सुरेश लाजिम्पाटमा बस्छन् । उनी ट्याक्सी पनि चलाउँछन् ।

काठमाडौँको कलंकी घर भएका २७ वर्षीय सुरज खड्का काठमाडौँमा सञ्चालिन क्यासिनोहरुमा गइरहने युवक हुन् । समाजका हाइप्रोफाइल र प्रहरी अधिकृतहरुसँग पनि उठबस गर्ने खड्काले क्यासिनोमा खेल्न आउने नेपाली र भारतीयलाई युवतीहरु ‘सप्लाई’ गर्ने गरेको भेटिएको छ ।

सुरेश र सुरजले महँगो मूल्यमा ‘यौन डिल’ गर्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोेमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए । उनले भने, ‘७० हजारसम्म डिल गरेको तथ्य भेटिएको छ ।’

ग्राहकको माग अनुसारको युवती होटलमा पठाउन खड्काले सुरेशलाई आग्रह गर्ने गरेका थिए । काठमाडौँको नयाँ बसपार्क क्षेत्रलाई आफ्नो ‘जक्सन’ बनाएका सुरेशले माग अनुसारका युवती बोलाएर ट्याक्सीमा होटल लैजाने गर्थे ।

सामाजिक सञ्जाल ह्वाट्स एपलाई उनीहरुले ग्राहकसँग ‘डिल’ गर्ने माध्यम बनाउने गरेको भेटिएको छ । ग्राहकलाई ह्वाट्स एपमा युवतीहरुको फोटो पठाएर उनीहरुले डिल गर्ने गरेका हुन् ।

आरोपितहरुले यौनधन्दामा लगाएका युवतीहरुलाई १० हजार, १५ हजार र ३७ हजारसम्म दिने गरेका थिए । अरु रकम गिरोहका नाइकेहरुले लिने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

‘क्यासिनोमा खेल्न आउने ग्राहकलाई टार्गेट गरेर सुरज र सुरेशले यौन डिल गर्ने गरेको भेटिएको छ,’ अनुसन्धानमा संलग्न एक जना अधिकृत भन्छन्, ‘ग्राहकले कन्ट्याक्ट गरेमा सुरजले सुरेशलाई भन्ने गरेको देखिन्छ ।’

क्यासिनोमा जानेहरुसँग सुरजले डिल गर्ने अनि सुरेशले ग्राहकले भनेको होटलमा युवतीलाई लगेर छाड्ने गरेका हुन् ।

५ जनाको अर्को गिरोह

मङ्सिर १७ मा प्रहरीले ५ जनाको अर्को समूहलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामेछापको दोरम्बा घर भएका २७ वर्षीय छत्र बहादुर रोक्का, ओखलढुंगाका ३३ वर्षीय गोपाल थापा, सिन्धुली घर भएका ४४ वर्षीय सेते सार्की, सल्यान घर भएका २५ वर्षीय शिवराज परियार र नुवाकोट घर भएका ३० वर्षीय अमृत रोका छन् ।

सामाजिक सञ्जाल ह्वाट्स एप मार्फत आरोपितहरुले माग अनुसार युवतीहरुलाई यौन सम्पर्कका लागि पठाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पाँच जनाको समूहमा आवद्ध आरोपितहरुले ग्राहकसँग एक जना युवती पठाएबापत ४५ हजारसम्म माग्ने गरेका थिए । बार्गेनिङ गरेपछि ५ हजारसम्ममा उनीहरुले युवतीहरुलाई पठाउने गरेको तथ्य भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी राठौरले रातोपाटीलाई बताए ।

सो समूहले पनि भारतीय नागरिकलाई टार्गेट गरेर यौनधन्दा चलाउने गरेका थिए । भारतबाट घुम्न आउनेहरुलाई उनीहरुले सम्पर्कमा राखेर अन्य भारतीय आउँदा पनि ‘युवती चाहिए सम्पर्क गर्न लगाउनु’ भन्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप