आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
भूकम्प प्रभावित क्षेत्रमा जनार्दन : आफैँ निर्माणमा खटिन्छन्, घर–घरमा पुगेर हौसला दिन्छन्
जाजरकाेट भूकम्प

भूकम्प प्रभावित क्षेत्रमा जनार्दन : आफैँ निर्माणमा खटिन्छन्, घर–घरमा पुगेर हौसला दिन्छन्

मङ्सिरभित्र अस्थायी आवास निर्माण गरिसक्ने लक्ष्य
सोमबार, ३१ वैशाख २०८१

रुकुम पश्चिम (आठबिसकोट) । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ कार्तिक १७ गतेको भूकम्पपछि निरन्तर आफ्नो निर्वाचन क्षेत्रमा खटिएका छन् । भूकम्पमा परेर ज्यान गुमाउनेले गुमाए तर, बाँचेकाहरुले चिसोका कारण ज्यान गुमाउने हुन् कि भन्ने चिन्ता छ शर्मालाई । त्यसैले शर्मा यतिबेला तीन हजारभन्दा बढी स्वयंसेवकको कमान्ड गरेर आफैँ युद्धस्तरमा अस्थायी आवास निर्माणका लागि फिल्डमै खटिएका छन् ।

भूकम्प पीडितहरुले त्रिपालमुनि बिताइरहेको कष्टकर दैनिकीलाई मङ्सिरभित्रै अन्त्य गरी अस्थायी आवासमा सारिसक्ने लक्ष्य शर्माको छ ।

यतिबेला भूकम्प प्रभावित रुकुम पश्चिमका बस्तीबस्तीमा शर्माले स्वयंसेवक परिचालन गरेर भग्नावशेष हटाउने, स्थानीयको आवश्यकता अनुसारको अस्थायी आवास निर्माण गर्ने काम गरिरहेका छन् । शर्मा निर्देशनमात्र दिँदैनन्, आफैँ निर्माणका काममा खटिन्छन् ।

उनी भूकम्प प्रभावितहरुको मनोबल उच्च बनाउन घर–घरमा पुग्छन्, हौसला प्रदान गर्छन् । उनी सबैलाई ‘नमस्कार’ गरेर उनीहरुको गुनासो सुन्छन्, सकेको पहल गर्ने बताउँछन् ।

पूर्वमन्त्री शर्मा भूकम्प गए यता प्रायः जिल्लामै केन्द्रित छन् । उनले पार्टीको जिल्ला कमिटीलाई नै भोलेन्टियरका रुपमा रुपान्तरण गरे । रुकुम माओवादीको आधार इलाका हो । शान्ति प्रक्रियापछि जिल्लामा सामाजिक, सांस्कृतिकसँगै आर्थिक रुपान्तरणको अभियान चलाइरहेका शर्मा भूकम्पले आफ्ना जनतामाथि निम्तिएको समस्याबाट चिन्तित छन् ।

गत बिहीबार बिहान आठबिसकोट नगरपालिका–१४ छेपारेमा भेटिएका शर्माले दिनभर कुन समूहले के काम गर्ने कसरी गर्ने भन्ने विषयमा स्वयंसेवकलाई सुझाव दिँदै दिए । शर्माको निर्देशनपछि स्वयंसेवक अस्थायी टहरा निर्माण तथा भग्नावशेष पन्छाउने क्षेत्रतर्फ लागे ।

१०–१० जनाको समूह बनाइ प्रभावित विभिन्न गाउँमा टोली परिचालन भयो । शर्मा भने सोही वडाकै सवारी गाउँ पुगे, जहाँ भूकम्पले धेरै नागरिक घरविहीन बनेका थिए ।

शर्माको अगुवाईमा त्यहाँ ७ वटा अस्थायी आवास निर्माण गरिए । यद्यपि जस्तापाता नहुँदा छानो भने हाल्न काम बाँकी रह्यो । शर्माले एउटा आवासको जस्तापाता पनि लगाइदिए ।

दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म शर्मा आफैँ निर्माण कार्यमा खटिएका थिए । उनी भग्नावशेष पन्छाउनेदेखि किलाकाँटी ठोक्ने, काठ मिलाउनेसम्मका काम आफैँ गर्दछन् । राष्ट्रियस्तरकै नेता आएर आवास निर्माण गरिदिएपछि स्थानीय पनि दङ्ग छन् ।

बेलुका पुनः शर्मा छेपारे हुँदै भेरी पारी रिम्ना बजार पुगे । जाजरकोटको भेरी नगरपालिका–१ मा पर्ने उक्त बजारक्षेत्रका अधिकांश कच्ची घर तहसनहस अवस्थामा छन् । शर्माले रुकुमको मात्र नभई छिमेकी जिल्ला जाजरकोटको पुनर्निर्माण, अस्थायी आवास निर्माण लगायतका विषयमा चासो दिने गरेको पाइयो ।

उनले राति माओवादी केन्द्र जाजरकोटका नेता तथा कार्यकर्ताहरुलाई तत्काल आवास निर्माण गर्न सबै एकजुट भएर लाग्नुपर्ने र नागरिकको ज्यानको सुरक्षामा अग्रपंक्तिमा रहेर काम गर्नुपर्नेमा जोड दिए ।

शुक्रबार बिहान ५ बजे नै चिया पिएर शर्मा पुनः प्रभावितहरुको घरदैलोमा पुग्ने, नागरिकलाई हौसला दिनेदेखि आफैँ काममा खटिन थाले । रिम्नाबाट बिहान ६ बजे उनी आठबिसकोट–१३, गाउँबारी लागे । त्यहाँ शर्माको टोलीले ६ वटा टहरा निर्माण ग¥यो । ‘म आफ्ना नागरिकको पीडाबाट टाढा रहन सक्दिन, यिनैसँग बस्छु, यिनैसँग खान्छु,’ शर्मा भन्छन्, ‘विपद्को यस्तो अवस्थामा नागरिकलाई छाडेर बाहिर जान मन लाग्दैन ।’

उसो त शर्माले माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत बागमती प्रदेशको कमान्ड गरिरहेका छन् । त्यहाँबाट हरेक दिन नेता, कार्यकर्ताहरु प्रशिक्षणका लागि आउने वातावरण मिलाउन फोन गरिरहन्छन् ।

IMG_1277 (1)

‘मैले यहाँ बागमतीको पनि प्रतिनिधित्व गरेको छु भनेर उहाँहरुलाई टार्छु,’ शर्मा भन्छन्, ‘नेता भनेको जनताको हुनुपर्छ, जनताको दुःख, सुखमा साथ दिनुपर्छ ।’

आवास निर्माण पश्चात शर्मा पुनः छिमेकी जिल्ला जाजरकोटको नलगाड नगरपालिकामा पुगे । शर्मा जहाँ पुग्छन्, त्यहाँ सामान्यतया एक श्रमिककै भूमिकामा पुग्छन् । स्वयंसेवकका लागि बनाइएको ड्रेस लगाउँछन् । आफ्ना स्वयंसेवकलाई काम गर्न हौसला दिन्छन् ।

नलगाड पुगेर त्यहाँका नगरप्रमुख डम्बर बहादुर रावल लगायत जनप्रतिनिधि, नेता, कार्यकर्ताहरुलाई चाँडोभन्दा चाँडो अस्थायी आवास निर्माण गरी पालमुनि रहेका जनतालाई अस्थायी आवासमा सार्ने गरी युद्धस्तरमा काम गर्न शर्माले निर्देशन दिए । नगरप्रमुख रावललाई सम्पूर्ण शक्ति लगाएर अब अस्थायी आवास निर्माण गर्न निर्देशन दिए । एक घण्टा त्यहाँ छलफल गरेपछि पुनः उनी भेरी पारी आठबिसकोटका विभिन्न बस्तीमा पुगे । विशेषगरी भूकम्पबाट नदी वारीपारीका बस्ती तहसनहस छन् ।

दुई जिल्लाका दर्जनौँ बस्तीमा अहिले जताततै घरका भग्नावशेषमात्रै छन् भने नागरिकहरु त्रिपालमा छन् । कतै राजनीतिक दलहरुले बनाइदिएका अस्थायी टहरा छन् ।

सांसद शर्मा तिनै बस्तीमा पुगेर नागरिकहरुलाई पछिल्लो अवस्थाबारे सोध्छन्, सकेको पहल गर्छु भन्छन् ।

शुक्रबार दिउँसो ३ बजेपछि उनी आठबिसकोट अन्तर्गत भेरी किनाराका गताशैन, चौरागाउँ लगायतका बस्तीमा पुगे । खटाइएका स्वयंसेवकले गरेको कामको अनुगमनसँगै अभाव सोधे ।

‘हामीले चाँडोभन्दा चाँडो नागरिकलाई त्रिपालमुक्त बनाउनुपर्ने हुन्छ, तपाईंहरु सक्रिय भएर काम गर्नुहोस्, अभाव के छ मलाई भन्नुहोस्,’ निर्माणमा जुटिरहेका स्वयंसेवकलाई शर्माले भने ।

तीन बजेदेखि बेलुकी पाँच बजेसम्म नगरपालिकाको केन्द्र राडीबजारसम्म उनले प्रत्येक प्रभावितको घरमा पुगेर अभाव सोधे र सकेको पहल गर्ने आश्वासन दिए । ­­­

गताशैनकी ४९ वर्षीय तुलसा बुढाथोकी त्रिपालमा खानेकुराको जोहो गर्दैथिइन् । एकातिर भत्किएको घर, त्यसैको आडमा त्रिपाल बिछ्याइएको छ । एक्कासी सांसद शर्मा उनको घरमा पुगे । काम गर्ने स्वयंसेवकले लगाउने ड्रेस लगाएका शर्मालाई देखेर उनी अचम्ममा परिन् ।

IMG_1279 (1)

शर्माले सबै अवस्थाबारे उनीसँग सोधे । भत्किएको घरलाई अन्य स्वंयसेवक पन्छाउँदै थिए । शर्मा एकछिन उनीहरुलाई सहयोग गर्नतर्फ लागे । भूकम्प गएको रात तुलसाका बुढाबुढी मात्रै घरमा सुतेका रहेछन् । कार्तिक १७ मध्यराति भूकम्प आएपछि जसोतसो दुवैजना बाँच्न सफल भएका रहेछन् । तुलसाले भनिन्, ‘यति ठुलो मान्छे दुःख परेबेला यसरी हाम्रो घर–घरमा आइरहेपछि हामी पनि खुसी हुन्छौँ । नेता त यस्तै जनताको सुखदुःखमा साथ दिने खालको हुनुपर्छ ।’

शर्माले तत्काल काम सक्न निर्देशन दिए र अरु प्रभावितहरुको घरतिर लागे । शर्मा पुगेपछि नागरिकहरु उत्साहित देखिन्थे ।

धेरैजसो भूकम्प पीडितले शर्मासमक्ष जस्तापाता लगायतका सामग्रीहरुको अभाव रहेको सुनाए । केही समयका लागि पुग्ने खाद्यान्न पाएको र चाँडो अस्थायी आवासमा नसरे चिसोले ज्यान जाने जोखिम बढ्ने पनि उनीहरुले शर्मालाई सुनाए ।

शर्माले पूर्ण रुपमा टोलीहरु युद्धस्तरमा खटाइएको र मङ्सिरभित्रै जिल्लाभर अस्थायी आवास बनाइसक्ने गरी लागिपरेको सुनाए । बरु स्वयंसेवकलाई स्थानीयले पनि आवश्यक सामग्रीहरु दिएर सहयोग गर्न उनले अनुरोध गरे ।

बेलुका साढे पाँच बजे शर्मा आठबिसकोट नगरपालिकाको कार्यालय पुगे, जहाँ नगरप्रमुख रवी केसीहरु राहत व्यवस्थापन र अस्थायी आवासको विषयमा छलफल गरिरहेका थिए । गाउँगाउँमा खटिएका स्वयंसेवकका टिम लिडरहरु पनि त्यहाँ आए । शर्माले सबैको बिफ्रङ सुने ।

आठबिसकोट–१२ को अरबारेमा भग्नावशेषहरु पन्छाउने कार्य भइरहेको र दैनिक ५० भन्दा बढी अस्थायी आवास निर्माण भइरहेको रिपोर्ट त्यहाँ सुनाइयो । वडा नम्बर १२ र १३ मा जिल्ला बाहिरबाट आएका नेता, कार्यकर्ताहरुलाई आवास निर्माणमा खटाउन शर्माले निर्देशन दिए ।

स्वयंसेवकहरुले भने आवास निर्माणका क्रममा आवश्यक आरा, हम्मर लगायतका हाते सामग्रीहरुको अभाव हुने गरेको गुनासो सुनाए । शर्माले उक्त समस्या पालिकाबाट सहजीकरण गरी समाधान गर्न नगरप्रमुख रवि केसीलाई निर्देशन दिए ।

IMG_1322

केही कार्यकर्ताले यही अवस्थामा काम भए अबको एक हप्तामा सबै ठाउँमा अस्थायी आवास बनिसक्ने बताए । शर्माले बाहिरबाट आउने राहतलाई बाँड्ने अनुमति नदिने बरु पालिकामा राख्ने गरी काम गर्न प्रमुख केसीलाई निर्देशन दिए ।

‘अहिले राहत वितरणको काम केही कम गर्नुप¥यो, पालिकामा राख्ने र आवश्यकताका आधारमा वितरण गर्नुस्,’ शर्माले भने, ‘भएको पूर्ण शक्तिलाई आवास निर्माणमा केन्द्रित गर्नुप¥यो ।’

केन्द्र सरकारले दिने भनेको ५० हजार रकम पनि छिटो नागरिकले पाउने गरी लगत संकलनको काम गर्न स्थानीय सरकारले तदारुकता देखाउनुपर्ने शर्माले बताए । शर्मा भन्छन्, ‘कतिपय किसानलाई भैँसी मर्ने चिन्ता बढेको पनि पाएँ, हामी त आगो बालेर भए पनि बाँचौँला तर, यो भैँसी मर्ने भयो भन्ने कुरा कतिपय पीडितहरुले भन्नुभएको छ,’ उनले भने, ‘त्यसका लागि पनि चाहिने जस्तापाताको व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’

शर्माले यो अवस्थामा राजनीतिक दृष्टिकोणको आधारमा नभइ आम प्रभावितहरुलाई राहतदेखि अस्थायी आवास निर्माणमा दलहरु एकजुट भएर काम गर्नुपर्ने तर्क राखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया