आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हात्तीको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्ति दिन आग्रह

आइतबार, ०६ जेठ २०८१, १८ : ५४
आइतबार, ०६ जेठ २०८१

विराटनगर । कोशीका प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेतीले हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परिवारको क्षतिपूर्तिमा ढिला नगर्न निर्देशन दिएका छन् ।

हात्तीको आक्रमणमा परी सोमबार ज्यान गुमाएका कमल माझीको परिवारलाई समवेदना प्रकट गर्न मोरङको लेटाङ–३ स्थित किर्तीमान पुगेका मन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

प्रदेशसभाको मंगलबार बसेको बैठकको शून्य समयमा सांसदहरुले हात्ती आक्रमणको विषयमा सरकारको जवाफदेहिता माग गरेपछि मन्त्री उप्रेती बुधबार बिहानै मृत्तक परिवारको घर पुगेका हुन् ।

पीडित परिवारमा समवेदना व्यक्त गर्दै उनले ५ दिनभित्र क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित सरोकारवालालाई निर्देशन दिए । ‘कानुनमा ३० दिनभित्र भनिए पनि मुचुल्का उठाउने काम २ दिनको हो । बाँकी प्रक्रियामा जाँदा ५ दिनभित्र काम सकिन्छ । ३० दिन कुर्नैपर्ने आवश्यकता छैन,’ उनले भने, ‘जनतालाई सरकारको अनुभूति दिलाउने दायित्व हाम्रै हो । त्यसैले ढिलासुस्ती नगरौँ । हामीले के गर्नुपर्छ, गर्छौं ।’

परिवारसँग भेट्ने क्रममा मन्त्री उप्रेतीले उनीहरुलाई किरिया खर्च बापत ५० हजार रुपैयाँ रकमसमेत उपलब्ध गराए । उनले प्रदेश सरकारबाट सिर्जना हुने रोजगारीमा पीडित परिवारका सदस्यलाई प्राथमिकतामा राखिने प्रतिबद्धता पनि व्यक्त गरे ।

हात्ती तथा अन्य जीवजन्तुको आक्रमणबाट हुने जनधनको क्षति न्यूनीकरणका निम्ति प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि वन्यजन्तुमैत्री जङ्गल बनाउने कार्यक्रमलाई समेटेको उनले जानकारी दिए ।

मोरङको बेलबारी–१० स्थित भाउन्नेमा जङ्गली हात्तीको आक्रमणमा परी सोमबार बिहान लेटाङ–३ किर्तीमानका ५३ वर्षीय कमल माझीले ज्यान गुमाएका थिए । लेटाङबाट साइकल चढेर बेलबारीको लक्ष्मीमार्गतर्फ आउँदै गरेको अवस्थामा माझीलाई हात्तीले आक्रमण गरेको थियो ।

माझीको शव बिहान करिब साढे १० बजे सिर्जना सामुदायिक वन क्षेत्रमा फेला परेको थियो । माझीले आफ्नो साथमा बोकेको घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ मर्चाप्रति आक्रामक भएर हात्तीले उनीमाथि आक्रमण गरेको हुनसक्ने अनुमान प्रहरी गरेको छ ।

हात्तीको आक्रमणमा परी ज्यान गुमाएका माझीको परिवारमा उनकी श्रीमतीसहित २ छोरा, बुहारी र २ जना नातिनी छन् । घरका ठुला छोरा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । घटना भएको अढाई महिनाअघि मात्रै मृत्तकको बुबाको पनि निधन भएको थियो ।

हात्तीको आक्रमणमा परी घरको अर्को अभिभावकको पनि असामयिक निधन भएपछि अहिले समग्र किर्तिमान गाउँ नै शोक शन्तप्त बनेको छ । दाजु गुमाएपछि विजयकुमार माझीलाई हात्ती सम्झिन मन भएन । यद्यपि, उनले अढाई महिनाकै अन्तरालमा एकै परिवारका दुई जनाले ज्यान गुमाएपछि ठुलो बज्रपात आइपरेको अनुभव सुनाए ।

घटनापछि परिवारसहित समग्र किर्तिमान गाउँ नै त्रसित बनेको उनले बताए । ‘हामीलाई त रात गुजारा गर्नै गाह्रो छ । कताबाट आएर आक्रमण गर्छ भन्ने त्रासमा बसिरहेका छौँ,’ उनले भने, ‘कतिपय अभिभावकले त बालबालिकालाई स्कुल पठाउन समेत बन्द गरेका छन् ।’

हात्तीको आक्रमणमा परी यसअघि पनि सुनसरीको इटहरी, झापाको हल्दिबारी र बेलडाँगीमा १/१ जनाले ज्यान गुमाएका थिए । कोशी प्रदेशमा २ साता यता हात्तीको आक्रमणमा परी ४ जनाको मृत्यु भइसकेको छ ।

डिभिजन वन कार्यालयका अनुसार हाल ३७ वटा हात्ती झापाको बाहुनडाँगीबाट मोरङ हुँदै सुनसरीसम्म पुगेका छन् । हात्ती देख्दा जिस्क्याउने, ढुङ्गा हान्ने र फोटो तथा सेल्फी खिच्ने लगायतका कारणले पनि यस्ता घटना हुने गरेको जनाइएको छ ।

कोशी प्रदेशको सुनसरी, मोरङ, झापा, इलाम र उदयपुर गरी कुल ५ जिल्लामा हात्तीको आतङ्क बढेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रदेशमा गत साउन महिना यता कुल ४२ वटा हात्ती आक्रमणका घटना भएका छन् । जसमा हालसम्म ४ जनाले ज्यान गुमाएका छन् भने ७ जना गम्भीर घाइते भएका छन् । हात्तीको आक्रमणबाट अहिलेसम्म २७ लाख ९० हजार मूल्य बराबरको घर/टहरा लगायतमा क्षति पुगेको प्रहरीको तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप