आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इङ्ल्यान्डले वेस्ट इन्डिजलाई हराएपछि शृङ्खला रोचक मोडमा

मङ्गलबार, २६ मङ्सिर २०८०, ०९ : ५९
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । इङ्ल्यान्डले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजलाई ६ विकेटले हराएको छ । इङ्ल्यान्डको जितसँगै तीन एक दिवसीय खेलको शृङ्खला रोचक मोडमा पुगेको छ । यसअघि पहिलो एक दिवसीय खेलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई चार विकेटले हराएको थियो ।

शृंखलाको तेस्रो एक दिवसीय खेल शनिवार खेलिने छ । आईसीसी एक दिवसीय विश्वकपमा निराशाजनक प्रदर्शन गरेपछि इङ्ल्यान्डको क्रिकेट टोली अहिले वेस्ट इन्डिजको भ्रमणमा छ । दोस्रो दिवा-रात्रि खेलमा टस हारी ब्याटिङको निम्तो पाएको घरेलु टोली वेस्ट इन्डिजले ३९.४ ओभरमै अलआउट हुनुअघि दुई सय दुई रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली इङ्ल्यान्डले ३२.५ ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाउँदै विजय लक्ष्य पार गरेको थियो । इङ्ल्यान्डको जितमा विल ज्याक्सले ७३ रनको योगदान गरे । उनले ७२ बलको सामना गरी चार छक्का र ६ चौका पनि हिर्काए ।

ज्याक्स र फिल साल्टले ओपनिङ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । फिल साल्ट भने २१ रन बनाउँदै पेभेलियन फर्किएका थिए । कप्तान जोस बट्लरले पनि टोलीका लागि अर्धसतकीय योगदान गरेका थिए ।

विकेटकिपर ब्याट्सम्यान बट्लरले अविजित ५८ रन बनाए । उनले ४५ बलमा तीन छक्का र चार चौका पनि प्रहार गरे । बट्लर र ह्यारी ब्रुकले टोलीलाई विजय लक्ष्य पार गराएका थिए । ब्रुकले अविजित ४३ रन बनाए । उनले ४९ बलमा दुई छक्का र दुई चौका पनि हिर्काएका थिए ।

क्यारेबियन टोलीका बलर गुडाकेस मोटीले दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजलाई सस्तोमा समेट्ने क्रममा इङ्ल्यान्डका बलर साम कुर्रन र लियाम लिभिङ्स्टोनले तीन—तीन विकेट लिएका थिए । गस एटकिन्सन र रेहन अहमदले पनि दुई—दुई विकेट हात पारे ।

घरेलु टोलीका लागि दुई ब्याट्सम्यानले अर्धसतक बनाएका थिए । माथिल्ला तीन ब्याट्सम्यानलाई सस्तैमा गुमाएको वेस्ट इन्डिजका लागि कप्तान साई होपले ६८ रन बनाए । विकेटकिपरसमेत रहेका होपले ६८ बलमा एक छक्का र ६ चौका पनि प्रहार गरे ।

सेरफन रुथरफोर्डले पनि टोलीको खातामा ६३ रन थपे । उनले ८० बलको सामना गरी एक छक्का र सात चौका हिर्काएका थिए । क्यारेबियन टोलीका अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप