आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा

शुक्रबार, ३२ जेठ २०८१, १३ : १७
शुक्रबार, ३२ जेठ २०८१

मन्थली । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ । माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुले ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो ।

रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ । स्थानीय रुपमा ढोलक, मादल र झ्याली पाइन छोडेपछि ड्रम र चाँप बजाएर विधि पुर्‍याउने गरिएको स्थानीयवासी बलबाहादुर माझीले बताए ।

पछिल्लो समय युवा पुस्ताले बेवास्ता गर्नु, रोजगारी तथा शिक्षाका लागि गाउँ छोड्नु, सामग्री बनाउने कच्चा वस्तुको अभाव हुनुलगायत कारणले ढोलक, मादल र झ्याली लोप हुँदै गएका उनको भनाइ थियो । सिमान्तकृत समुदायमा पर्ने यस जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन लोप हुँदै गएपछि संस्कृति संरक्षणमा स्थानीय सरकार जुटेको छ ।

माझी समुदायको संस्कृति संरक्षण गर्न मन्थली नगरपालिकाको आर्थिक सहयोगमा जिल्लास्थित नेपाल माझी उत्थान सङ्घले ढोलक, मादल र झ्याली विभिन्न समूहमा वितरण छ ।   सङ्घका अध्यक्ष हरि माझीका अनुसार माझी जातिको संस्कृतिअन्तर्गत एक सेट बाजामा दुई मादल, एक ढोलक र एक झ्याली आवश्यक हुन्छ । उनका अनुसार संस्कृति संरक्षणमा नगरपालिका चासो दिएपछि माझी खुसी भएका छन् । 

पछिल्लो सयम माझी समुदायको संस्कार संस्कृत लोपहुँदै जाँदा उनीहरुको अस्तित्व नै सङ्कटमा पर्ने खतरा बढेकाले वाद्यवादनसहित संस्केति संरक्षणमा पालिकासँग माग गरिएको स्थानीयवासी समाजसेवी बालकृष्ण माझीले बताए । 

संस्कृतिसँग जोडिएका बाजा लोपहुँदै जाँदा माझीको अस्तित्व नै सङ्कटमा पर्ने अवस्था देखेर उनीहरुका मागका आधारमा नगरपालिकाले वाद्यवादनका सामग्री उपलब्ध गराएको नगर प्रमुख लव न्यौपानेले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप