आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जब गौतम गम्भीर र श्रीशान्थबिचको झगडा खेल मैदानबाट सामाजिक सञ्जालसम्म पुग्यो

शुक्रबार, ३२ जेठ २०८१, १३ : ३२
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । गौतम गम्भीर र शान्थकुमारन श्रीशान्थ दुवै आफ्नो समयका चर्चित भारतीय क्रिकेट खेलाडी हुन् । यी दुवै खेलाडी भारतलाई टी—२० र एकदिवसीय विश्वकपको उपाधि चुमाउने टोलीका प्रभावशाली सदस्य पनि हुन् ।

भारतले सन् २००७ मा टी—२० विश्वकप र सन् २०११ मा एकदिवसीय विश्वकपको उपाधि जित्दा यी दुवै खेलाडी टोलीमा थिए । अहिले यी दुवै खेलाडीले सक्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका छन् । तर, बुधबार एक खेलका क्रममा यी दुई खेलाडीले देखाएको अप्रिय व्यवहारले भने धेरै समर्थकलाई आश्चर्यमा पार्‍यो ।

सक्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका खेलाडीबिच ‘लिजेन्ड्स लिग क्रिकेट’ आयोजना हुने गरेको छ । सोही प्रतियोगिताका क्रममा बुधबार सुरतमा गौतम गम्भीर र श्रीशान्थको टोलीबिच खेल थियो । तर, खेलका क्रममा यी दुई खेलाडी आपसमा बाझाबाझ गर्न पुगे ।

खेलका क्रममा आफूलाई लामो समयसम्म घोरिएर हेरेको भन्दै गौतम गम्भीर श्रीशान्थसँग रिसाएका थिए । त्यसपछि श्रीशान्थले पनि गौतम गम्भीरलाई ‘नामुद झगडिया’ को संज्ञा दिन पछि परेनन् । उनीहरूबिचको झगडाको भिडियो अहिले सामाजिक सञ्जालमा पनि ‘भाइरल’ बनेको छ ।

‘लिजेन्ड्स लिग क्रिकेट’ मा श्रीशान्थ गुजरात जाइन्ट्सबाट र गौतम गम्भीर इन्डिया क्यापिटल्सबाट खेल्छन् । खेलका क्रममा श्रीशान्थले फालेको बलमा गौतम गम्भीरले लगातार छक्का र चौका हिर्काएका थिए । त्यसबाट रुष्ट देखिएका श्रीशान्थले लामो समयसम्म गौतम गम्भीरले घोरिएर हेरेका थिए ।

सोही विषयलाई लिएर यी दुई चर्चित क्रिकेटरबिच तुष बढेको थियो । खेलमा गम्भीरले ३० बलमा ५१ रन बनाएका थिए । इन्डियन क्यापिटल्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर दुई सय २३ रन बनाएको थियो । गुजरात टाइटन्सले भने निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय ११ रनमात्र बनाउन सकेको थियो । श्रीशान्थले ३५ रन खर्चिएर एक विकेट लिएका थिए ।

खेल सकिएपछि श्रीशान्थले सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा एउटा भिडियो ‘अपलोड’ गरेका थिए । त्यसमा उनले गौतम गम्भीरमाथि आक्रोश पोख्दै गाली पनि गरेका छन् । उनले उक्त भिडियोमा गौतम गम्भीरलाई ‘मिस्टर फाइटर’ भनेर सम्बोधन गरेका छन् ।

‘मैले यो भिडियोमार्फत खेल मैदानमा मिस्टर फाइटरसँग के भएको थियो भनेर स्पष्ट पार्न खोजेको मात्र हुँ । उनी आफ्ना साथीहरूसँग झगडा गर्न माहिर छन् । उनी साथीहरूसँग झगडा गर्न सधैँ तत्पर रहन्छन् । उनलाई झगडा गर्न कुनै कारण पनि चाहिँदैन । साथीहरू र आफूभन्दा सिनियर खेलाडीप्रति पनि उनको कुनै सम्मान छैन । बीरु भाइ (वीरेन्द्र सहवाग) प्रति पनि उनको सम्मान छैन । आज मसँग पनि त्यस्तै एउटा घटना भएको हो । उनी कुनै कारण नै नभई मसँग जंगिए । मलाई गाली गरे,’ सामाजिक सञ्जालमा भिडियो अपलोड गर्दै श्रीशान्थले भनेका छन् ।

आफूलाई गाली गर्दा  गौतम गम्भीरले प्रयोग गरेका खराब शब्दहरू पनि छिट्टै सार्वजनिक गर्ने जानकारी श्रीशान्थले दिएका छन् । ‘मेरो कुनै गल्ती थिएन । उनी किन ममाथि खनिए भन्ने कुरा म आफैलाई थाहा छैन । तर, उनले क्रिकेट मैदानमा प्रयोग गरेका शब्दहरू ज्यादै अप्रिय छन् । छिट्टै सार्वजनिक पनि गर्नेछु । उनको व्यवहारले मेरो परिवार, मेरो प्रतिष्ठा र सिङ्गो क्रिकेट खेलमा आघात परेको छ । म यसको प्रतिवाद गर्न चाहन्छु । मलाई तपाईंहरूको साथ चाहिएको छ,’ श्रीशान्थले भनेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप