आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ग्राउन्ड ह्याण्डलिङको मुद्दामा प्राधिकरणका कर्मचारी पनि आन्दोलनमा उत्रिए

शुक्रबार, ३२ जेठ २०८१, १३ : ५१
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । त्रिभुवन विमानस्थलको ग्राउन्ड ह्याण्डलिङको विवाद चुलिँदै गर्दा नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) सम्बद्ध कर्मचारी ट्रेड युनियनहरू समेत आन्दोलनमा उत्रिएका छन् । प्राधिकरणका चारवटा ट्रेड युनियन नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, कर्मचारी सङ्गठन, लोकतान्त्रिक कर्मचारी सङ्घ र मधेश तराई कर्मचारी युनियनले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल वायु सेवा निगमसँग ग्राउन्ड ह्याण्डलिङको सुविधा खोसेर आफै सञ्चालन गर्न नागरिक उड्ययन प्राधिकरणसँग माग गरेका हुन् । 

‘विगत केही दिनदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई प्रदान गर्ने कमर्सियल ग्राउन्ड ह्यान्डलिङ सेवाबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचार तथा सामाजिक सञ्जालमा प्रकाशित विज्ञप्तिप्रति नेपाल नागरिक उड्डयन प्राधिकरणमा क्रियाशील हामी सम्पूर्ण कर्मचारी ट्रेड युनियनहरूको गम्भीर ध्यानाकर्षण भएको छ । 

‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ५ (ठ) मा रहेको कानुनी व्यवस्था बमोजिम विमानस्थलमा भुमिस्थ प्रबन्ध सेवा (ग्राउण्ड ह्याण्डिलिंग) सञ्चालन गर्ने, गराउने आधारभूत कानुनी अधिकार प्राधिकरणमा निहित रहेको तथा विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ को उपनियम २ मा प्राधिकरणले भुमिस्थ प्रबन्ध सेवा सञ्चालन गर्ने व्यवस्थाको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबिच खुला प्रतिस्पर्धा गराई छनौट भएको संस्थालाई भुमिस्थ प्रबन्ध सेवा सञ्चालनको लागि अनुमति दिन सक्नेछ भन्ने कानुनी व्यवस्थाले प्राधिकरणलाई कि ग्राउण्ड ह्यान्डलिङ आफै गर्ने नत्र प्रतिस्पर्धाको आधारमा दिनसक्ने स्पष्ट कानुनी प्रावधान छ । यसो हुँदाहुँदै पनि यो वास्तविकतालाई नजर अन्दाज गरी नेपाल वायुसेवा निगम व्यवस्थापन तथा निगममा क्रियाशील विभिन्न कर्मचारी ट्रेड युनियनहरूद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई प्रदान गर्ने कमर्सियल गउण्ड ह्यान्डलिङ आफ्नै पुर्खाको बकौती र जन्मसिद्ध अधिकार हो भन्ने गरी गरिएका कथित प्रचारबाजी तथा मिडियावाजी प्रति हामी आश्चर्यचकित सहित सो समूहको कानुनी अल्पज्ञानता प्रति हामी खेद प्रकट गर्दछौ’ कर्मचारीहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विगतमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको कमर्सियल गउण्ड ह्यान्डलिङ सेवाबारे पटक पटक बखेडा खडा गरेर भावनात्मक वातावरण सिर्जना गराउने र राजनीतिक आर्शिवादमा उडाउने काम गरेर भन्दा ग्राउन्ड ह्यान्डलिङ मार्फत गुडाएर खान अभ्यस्त नेपाल वायुसेवा निगमलाई विना प्रतिस्पर्धा प्रदान गरिएको कमर्सियल गउण्ड ह्यान्डलिङ सेवालाई निगमबाट तुरुन्त खोसेर नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ ले प्रदत्त गरेको कानुनी अधिकार बमोजिम प्राधिकरण आफैले सेवा सञ्चालन गर्ने गरी यथाशीघ्र व्यवस्था गर्न तथा गउण्ड ह्यान्डलिङको नाममा हुँदै आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई माफियाको षडयन्त्रपूर्ण खेल तुरुन्त बन्द गर्न समेत कर्मचारी युनियनले माग गरेको छ । 

नेपालमा उडान गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले पाउनुपर्ने गाउन्ड ह्यान्डलिङ सेवालाई विना अवरोध निरन्तर सञ्चालन गर्ने व्यवस्था गर्न प्राधिकरण व्यवस्थापन समक्ष हामी जोडदार माग गर्दछौ’ कर्मचारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सोही विज्ञप्तिमार्फत कर्मचारीहरूले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदान गरिने ग्राउण्ड ह्यान्डलिङ सेवाको नाममा कर्मचारी लाई उचालेर अनावश्यक धर्ना तथा विरोध कार्यकम गरेर नेपालको हवाई सुरक्षा संवेदनशीलतामा आँच आउने वातावरण निर्माण गरी अन्तर्राष्ट्रिय बदनामी हुने काम नगर्न÷नगराउन वायुसेवा निगमको व्यवस्थापनलाई चेतावनी समेत दिएको छ । 

karmachari

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप