आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

वन र पर्यटनले समृद्धिको लक्ष्य पुरा गर्न भूमिका निर्वाह गर्ने मुख्यमन्त्री कार्कीको विश्वास

शुक्रबार, ३२ जेठ २०८१, १६ : १०
शुक्रबार, ३२ जेठ २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वन तथा पर्यटन मन्त्रालयले प्रदेश सरकारको लक्ष्य प्राप्तिमा अहम् भूमिका निर्वाह गर्ने बताएका छन् । 

पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले यस्तो बताएका हुन् । उनले वन र पर्यटन क्षेत्रले मानव कल्याणका अलावा वन्यजन्तुको कल्याण गरेको पनि बताए । 

‘अरू मन्त्रालयले मानव कल्याण गर्ला तर यसले मानव र वन्यजन्तु दुवैको कल्याणको काम गर्छ,’ उनले भने, ‘वनको रक्षा गर्ने, वन्यजन्तुको संरक्षण गर्ने काम गर्दै यस मन्त्रालयले पर्यटकलाई आकर्षित गर्छ । जसबाट आर्थिक उपार्जन हुन्छ, यसले समृद्धिको यात्रालाई अझ सहज बनाउँछ ।’

पछिल्लो समय वन—जङ्गल मासिँदै गएपछि हात्ती, बाघलगायत वन्यजन्तु मानववस्तीमा पसेर आक्रमणमा उत्रिएको स्मरण गराउँदै मुख्यमन्त्री कार्कीले यसको दीर्घकालीन समाधान निकाल्न सुझाव दिए । ‘अहिले प्रदेशका विभिन्न भागमा हात्ती आतङ्क छ । यसको कारक तत्त्व मानव नै हो,’ उनले थपे, ‘वन मासेर बस्ती बसाइयो, वन्यजन्तुको आहारालाई मान्छेले उपभोग गर्न थालेपछि वन्यजन्तुले सताउँछ त !’ 

कर्मचारी अभाव र बेरुजुलाई हटाउनेगरी सरकारले काम गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जनताको हितमा रहेर आफ्नो कर्मलाई निरन्तरता दिन कर्मचारीलाई निर्देशन दिए । 

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ले महिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने मानसिकता त्यागेर काम गर्न कर्मचारीलाई निर्देशन दिए ।

‘महिना–महिना दिनमा र ६–६ महिनामा सरकार परिवर्तन हुने भएकाले जे गर्दा पनि हुन्छ भन्ने रोगी मानसिकता यो प्रदेशमा अङ्कुराएको छ । त्यो मानसिकता त्यागेर काम गरौँ,’ मन्त्री उप्रेतीले भने, ‘कोशीको वर्तमान सरकार स्थायी रूपमा अगाडि बढ्छ । त्यसैले ढुक्क भएर काम गर्नुहोस् ।’

सरकारको लक्ष्य प्राप्तिका सन्दर्भमा चुक्न कसैलाई पनि छुट नभएको बताउँदै मन्त्री उप्रेतीले काममा पारदर्शिता, अनियमितता र ढिलासुस्ती मौलाएमा व्यवस्थाप्रति आक्रोश सिर्जना हुने बताए । ‘यो मन्त्रालय मुलुकमा समृद्धि हासिल गर्न सघाउ पुर्‍याउने थलो हो । सरकारको लक्ष्य पूरा गर्न सघाउ पर्याउनेमध्येको एक महत्त्वपूर्ण मन्त्रालयमा हामी छौँ,’ उनले थपे, ‘यसैले यहाँ अपारदर्शीता र ढिलासुस्तीको अन्त्य गरेर जनतालाई सुशासनको अनुभूति दिनेगरी काम गर्नुपर्छ ।’

मन्त्री उप्रेतीले सरकार परिणाममुखी काममा तल्लीन रहेको बताउँदै उनले यसका लागि एकजुट भएर अगाडि बढ्न सुझाए । परिणाममुखी काम गर्ने कर्मचारीलाई आफूहरूको साथ रहेको उनको भनाइ छ । 

कार्यक्रममा कोशी प्रदेशका मुख्य सचिव दीपक काफ्ले, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष कृष्णप्रसाद वली, वन निर्देशनालय कोशी प्रदेशका प्रमुख धनञ्जय लामिछाने, मन्त्रालयका सचिव विशाल घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप