आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शर्मा नेतृत्वको एनआरएनएद्वारा परराष्ट्रमन्त्री लाई ५ बुँदे ज्ञापन पत्र

सोमबार, १७ असार २०८१, १७ : १८
सोमबार, १७ असार २०८१

काठमाडौँ । आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले परराष्ट्रमन्त्री एनपी साउदलाई पाँच बुँदे ज्ञापन पत्र बुझाएको छ । 

नेपाली नागरिक तथा प्रवासमा कार्यरत गैर आवासीय नेपाली नागरिकहरूसँग सम्बन्धित विषयलाई यथाशीघ्र सम्बोधन गर्न आग्रहसहित परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको अध्यक्ष शर्माले रातोपाटीलाई टेलिफोनमार्फत जानकारी दिए । उनका अनुसार हमास समूहले इजरायलमा हमला गरी नेपाली युवा विपिन जोशीलाई बन्धक बनाएको दुई महिना पुरा भएको अवस्थामा उनको रिहाइका लागि कूटनीतिक पहल तीव्र बनाउन आग्रह गरिएको छ । 

यस्तै अवैध बाटो हुँदै नेपाली नागरिकहरू विदेशी सेना (रुस) मा भर्ना भएका र भर्ना भएकाहरू मध्य केही नेपालीको निधन भएका समाचारहरू सार्वजनिक भएको उल्लेख गर्दै ज्ञापन पत्रमा यस विषयमा नेपाल सरकारले स्पष्टसँग आफ्नो धारणा सार्वजनिक गरेर भर्ना भएका नेपाली नागरिकहरूलाई यथाशक्य छिटो नेपाल फर्काउन सार्थक पहल गर्न आग्रह गरिएको छ । 

यसैगरी मध्यपूर्वको बाटो हुँदै अवैधरुपमा विभिन्न देशमा पुग्ने नेपालीहरू ठगिने क्रम जारी नै रहेकाले यसलाई नियन्त्रण गर्नका लागि प्रत्येक दूतावासमा प्रहरी सहचारीको आवश्यकता रहेको जानकारी गराइएको छ ।  यसको लागि यथाशीघ्र व्यवस्था गर्न परराष्ट्र मन्त्रीको ध्यानाकर्षण गराइएको छ । 

यस्तै मध्यपूर्वमा अहिले सबैभन्दा ठुलो समस्याको रूपमा पासपोर्ट नवीकरणको विषय रहेको ज्ञापन पत्रमा उल्लेख छ । ‘अहिले पनि इराकमा झन्डै १२ हजार भन्दा बढी नेपालीहरू बस्दै आएकोमा अहिले त्यहाँ ६ सय भन्दा बढीको पासपोर्टको म्याद सकिएको अवस्था छ । जसले गर्दा उनीहरू इराकबाट बाहिर जान पाइरहेका छैनन् । यो विषयमा हामीले केही समयदेखि परराष्ट्र मन्त्रालयमा अनुरोध गर्दै आएका छौँ । अझै सम्म त्यहाँ घुम्ती टोली नपुगेको हुँदा यथाशक्य छिटो घुम्ती टोली पठाई पासपोर्ट नवीकरणको लागि सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौँ’, शर्मा र महासचिव बुद्धि सागर सुवेदीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ । 

यस्तै गैरआवासीय नेपाली नागरिकता वितरण भइरहेकोमा खुसी व्यक्त गरिएको छ भने अझै सहज तरिकाले पाउने व्यवस्था गर्न आग्रह गरिएको छ । ‘अहिले पनि कतिपय ठाउँहरूमा एनआरएन नागरिकताको अधिकारको विषयमा बुझाइमा एकरूपता आउन नसकेकाले सरकारी कार्यालयमा अप्ठेरो परेको कुराहरू हामीसँग आइरहेका छन्। यस विषयमा पनि परराष्ट्र मन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छौँ’, ज्ञापन पत्रमा भनिएको छ । 

यस्तै हालै पोर्चुगलमा राजदूतावास स्थापना गर्ने निर्णय गरेर राजदूतमा सिफारिस गरेकोमा नेपाल सरकारलाई बधाई ज्ञापन गर्दै माल्टा, रोमानिया लगायत अन्य मुलुकहरूमा पनि राजदूतावास स्थापनाको पहल गर्न अनुरोध गरिएको छ । 

यस्तै माल्टा, रोमानिया लगायतका देशमा नेपालीहरूको संख्या बढ्दै गएको र दूतावास नहुँदा राहदानी नवीकरण लगायतका कुराहरू अप्ठेरो परेको पनि जानकारी गराइएको छ । ती देशमा नेपाल सरकारले राजदूतावास स्थापना गर्ने निर्णय पनि गरिसकेको अवस्थामा कार्यान्वयन प्रक्रिया छिटो अघि बढाउन पनि अनुरोध गरिएको छ ।

संघको तर्फबाट ज्ञापन पत्र बुझाउन पूर्वअध्यक्ष रविना थापा, महासचिव बुद्धि सागर सुवेदी र कोषाध्यक्ष ठाकुर ढुंगाना मन्त्रीकहाँ पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप