आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिरहामा मिटरव्याजीले हडपेको खेतबाट धान भित्र्याए पीडितले

शुक्रबार, ३२ जेठ २०८१, १९ : २५
शुक्रबार, ३२ जेठ २०८१

सिरहा । सिरहा जिल्ला प्रशासन कार्यालयले मिटरव्याज (अनुचित लेनदेन)का उजुरीहरुको समयमै सुनुवाइ नगर्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन् । यसैको परिणामस्वरुप जिल्ला सदरमुकाम सिरहा नगरपालिका–१९, सन्हैठामा बिहीबार मिटरव्याज पीडितले साहुले हड्पेको जमिनको धान काटेर घरमा भित्र्याएका छन् ।

स्थानीय रामशरण यादवले गाउँकै योगेन्द्र यादवसँग २०६१ पुस १ गते १ लाख रुपैयाँ लिएबापत १४ कट्ठा जग्गा धितो राखेका थिए । तर आफूले ऋण तिरिसके पनि साहुले सबै जमिन हड्पेको भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । उक्त उजुरीको छिनोफानो हुन ढिला भएपछि उनले खेतको धान काटेर भित्र्याएका हुन् ।

रामशरणले एक लाख रुपैयाँ लिएबापत थप ४ लाखको कपाली र १४ कट्ठा जमिन समेत धितो बापत राजीनामा पास गरेको बताए । रकम लिएको दुई वर्षभित्रै आफूले योगेन्द्रको घर बनाउने बेलामा इँटा, बालुवा र गिट्टी आफ्नै ट्याक्टरमा लगिदिएर हिसाब मिलान गरेको उनको दाबी छ ।

त्यसपछि जमिन फिर्ता गरिदिन आग्रह गर्दागर्दै योगेन्द्रले थप दुई बिघा १० कट्ठा ६ धुर जमिन हड्पेको रामशरण यादवको आरोप छ । समाजको दबाबपछि योगेन्द्रले २०६९ माघ १८ गते योगेन्द्रको छोरा अमितको नामबाट रामशरण यादव र रामनाथ यादवको नाममा एक बिघा ४ कट्ठा जमिन फिर्ता गरिदिए । तर योगेन्द्रका छोरा, श्रीमतीले हकदाबी मुद्दा लगाएर २०७५ जेठ २ गते जमिन पुनः फिर्ता लिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले पटक पटक पत्र काटेर छलफलमा बोलाए पनि योगेन्द्र उपस्थित नहुने गरेका कारण अहिलेसम्म सुनुवाइ हुन नसकेको रामशरण बताउँछन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप