आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दूतावासको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभान्वित,  ९६ लाख राजश्व संकलन

शुक्रबार, ११ जेठ २०८१, २१ : ३३
शुक्रबार, ११ जेठ २०८१

जापान । जापानको नागोयामा दूतावासले  ४ दिनसम्म सञ्चालन गरेको घुम्ती सेवाबाट ६ सय ६५ जना लाभान्वित भएका छन् । जसबाट  ९६ लाख ८७ हजार राजश्व संकलन भएको छ।

नेपाली राजदूतावास, जापानलको आयोजना र गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान सहकार्य एवं नागोया क्षेत्रीय समितिहरुको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको घुम्ती सेवामार्फत्  ६ सय ६५ जना सेवाग्राहीले सेवा लिएको एनआरएनए जापानका उपाध्यक्ष तथा घुम्ती सेवाका लागि एनआरएनएको तर्फबाट संयोजक रहेका सुवास लामिछानेले जानकारी दिए ।
 
राजदूतावासले दिएको जानकारी अनुसार नागोयाको शिविरमा ५३१ जनाले पासपोर्टको सेवा लिएका छन् । जसमध्ये ४६६ जनाले पासपोर्ट नवीकरण गरेका छन् भने ६५ जना बालबालिकाको नयाँ पासपोर्ट बनाइएको छ । यसैगरी १० जनाले झुत्रा र खराब पासपोर्ट फालेर नयाँ बनाएका छन् । शिविरमा दिइएको जानकारी अनुसार बाँकी ६६ जनाले अन्य सेवाहरु लिएका थिए ।

जापानमा रहेका नेपाली नागरिकहरुलाई दूतावासद्वारा प्रदान गरिने सेवालाई पहुँच योग्य बनाउनुका साथै सरल र सहज रुपमा प्रदान गरिनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै गत वर्षदेखि सञ्चालन गरिएको घुम्ती सेवामा अपेक्षा गरिएभन्दा बढि नेपालीले नागोयाको घुम्ती सेवाबाट सेवा लिएको क्षेत्रीय समिति संयोजक भेषनाथ गौतमले जानकारी दिए ।

‘हामीले ४०० को हाराहारीमा सेवाग्राहीहरु आउने अपेक्षा गरेको थियौँ, तर अपेक्षा भन्दा बढी भयो । राहदानीसहित विभिन्न समस्या लिएर आउने नेपालीलाई दूतावासको समन्वयमा सेवा दिएरै पठाइयो । कोहि पनि सेवाबाट वञ्चित भएनन् ।’संयोजक गौतमले भने ।

बढी भन्दा बढि सेवाग्राहीलाई सेवा प्रदान गर्नका लागि विगतमा घुम्ती सेवा सञ्चालनका सिकाइ र अनुभवलाई आत्मसात गर्दै यस वर्ष परिष्कृत रुपमा कार्य गरिएकोले कार्यसम्पादमा सहजता आएको संयोजक गौतमको अनुभव छ।
नागोयाको घुम्ती सेवा सञ्चालनका क्रममा करिब आठ लाख भन्दा बढि खर्च भएको एनआरएनए नागोया क्षेत्रीय समितिका उप संयोजक कुशल पौडेलले जानकारी दिए। ‘घुम्ती सेवाका लागि हुने व्यवस्थापकीय कामका लागि एनआरएनए जापानले सहयोग गरेको छ।’ 

उपसंयोजक कुशल पौडेलले भने- ‘यसपटकको नागोया घुम्ती सेवाका लागि करिब आठ लाख भन्दा बढि खर्च भएको छ। घुम्ती सेवामा आउने सेवाग्राहीबाट राजश्व बाहेक थप रकम उठाइएको छैन । यसको व्यवस्थापन गर्न हामीलाई एनआरएन जापान, क्षेत्रीय समिति नागोया लगायतबाट सहयोग प्राप्त भएको छ।’ 

नागोयामा सम्पन्न घुम्ती सेवाबाट नेपाल सरकारको नाममा ९६ लाख ८७ हजार रुपियाँ राजश्व संकलन भएको नेपाली राजदूतावासले जनाएको छ। यसरी उठाइएको सबै राजश्व नेपाल सरकारको नाममा जम्मा हुने गर्दछ। यसबाट व्यवस्थापकीय खर्च गर्ने गरिँदैन।

दूतावासले राहदानी नवीकरणको १८ हजार यन तोकेको छ । यसैगरी हराएको, च्यातिएको वा अन्य कारणले प्रयोग गर्न नसकिने राहदानीको ३६ हजार यन र दश वर्षभन्दा कम उमेरका बच्चाको राहदानी नवीकरणका लागि ९ हजार यन राजश्व लिने गरेको छ । भने जाापानमा जन्मेका बच्चाको पहिलो पटक राहदानी बनाउन १५ हजार राजश्व लिने गरिन्छ।

घुम्ती सेवामा एनआरएनए जापानको तर्फबाट सेवा अवधि भर सहजीकरणका लागि सम्पूर्ण भूमिका निर्वाह गरिने एनआरएनए  जापानका अध्यक्ष नविन निउरेले बताए।

सञ्चालित घुम्ती सेवाबाट जापानबासी नेपाली नागरिकले सहज रुपमा सेवा लिन सकुन् भन्ने उदेश्यले सञ्चालित घुम्ती सेवा फुकुओका, ओसाका, गुन्माकेन, ओकिनावा, फुकुसिमा, तोचिगी र हिरोसिमामा सञ्चालन हुने दुतावासले जनाएको छ। मिति निश्चित भएका क्षेत्रहरुमा तोकिएको मितिमा र अन्य मिति निश्चित हुन बाँकी रहेका क्षेत्रको यथाशीघ्र मिति तय गरिने समेत बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप