आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्यार्थीको प्रयोगात्मक परीक्षा नम्बरमा मनोमानी गर्दै आरआर कलेज

सोमबार, २८ जेठ २०८१, १५ : १०
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस काठमाडौँले विद्यार्थीको नतिजामा मनोमानी गर्दै आएको पाइएको छ । स्नातक तहका विद्यार्थीहरूको नतिजामा कलेजले मनोमानी गरेको पाइएको हो । 

स्नातक तह दोस्रो वर्ष अंग्रेजी विषयको प्रयोगात्मक परीक्षाको नतिजामा मनोमानी गरेको पाइएको हो । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको मानविकी तथा सामाजिक विज्ञान संकायको नतिजामा अंक फेरबदल गरेको पाइएको हो । २०७९ साउनमा सञ्चालित परीक्षाको नतिजा गत असार मसान्तमा सार्वजनिक गरिएको थियो । नतिजा अनुसार विषय शिक्षकले दिएको अंकमा क्याम्पस प्रशासन र परीक्षा शाखाले मनोमानी रूपमा थपघट गरेको पाइएको हो । विद्यार्थीहरूले उक्त नतिजा सच्याउन र त्यस्तो कार्य गर्नेमाथि कारबाहीको माग गरेका छन् । 

१०० भन्दा बढी विद्यार्थीको नतिजामा लापरबाही गरेको पाइएको विद्यार्थीहरूले बताएका छन् । हाल तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी संगम राईले विषय शिक्षकले दिएको अंक भन्दा मार्कसिटमा दिएको नम्बर फरक रहेको बताए । 

कक्षामा नियमित आउने, पढाइमा राम्रो भएका र विषयगततर्फ राम्रो अंक आएका विद्यार्थीको प्रयोगात्मकतर्फ भने कम अंक रहेको बताए । तर, विषय शिक्षकले त्यो बेला प्रयोगात्मक परीक्षा हुँदा दिएको अंक भने बढी रहेको बताए । 

यसअघि गत जेठमा स्नातक पहिलो वर्षको नतिजा सार्वजनिक हुँदा पनि त्यस्तै समस्या देखिएको थियो । त्यो बेला धेरै विद्यार्थीहरूको नतिजा अनुपस्थित देखाएको थियो । 

एक जना विद्यार्थीको विषय शिक्षकले दिएको अंक २५ थियो । तर, पनिकाबाट प्रकाशित नतिजा अनुसार मार्कसिटमा १२ अंक देखिएको छ । त्यस्तै अर्का एक जना विद्यार्थीको विषय शिक्षकले दिएको अंक १५ थियो । तर, उनको मार्कसिटमा २७ अंक देखिएको छ । 

स्नातक तह पहिलो वर्षको नतिजा धेरै विद्यार्थीको नतिजा अनुपस्थित र अंक थपघट भएको थियो । त्यो बेला क्याम्पस प्रमुख जीवनधर ज्ञवालीले छानबिन गर्ने प्रतिबद्धता जनाएका थिए । तर, यो विषयमा समेत कुनै कारबाही नभएको अवस्थामा दोस्रो वर्षको नतिमा समेत गम्भीर लापरबाही देखिएको हो । 

यतिसम्म कि कहिल्यै कलेज नआउने विद्यार्थीहरूको समेत मार्कसिटमा ३० मा २९ अंकसम्म्म दिएको पाइएको छ । 

दोस्रो वर्षको परीक्षामा नियमित कक्षामा हाजिर हुने, कक्षा कार्य गर्ने विद्यार्थीलाई भन्दा क्याम्पस नै नआउने र कक्षा कार्यसमेत नगर्ने विद्यार्थीलाई आन्तरिक परीक्षामा मनोमानी नम्बर दिएको संगमको भनाई छ ।

छात्रा गरिमा खनालले मिडिया रिसर्च विषयक शिक्षकले ३० पूर्णाङ्कमा २९ नम्बर दिएको तर, मार्कसिटमा १८ नम्बर मात्रै आएको बताइन् । आफूलाई दिएको भन्दा कहिल्यै क्याम्पस नआउने र कक्षा कार्य पनि नगर्ने अन्यलाई भने बढी नम्बर दिएको पाइएको उनको भनाई छ । 

यसमा क्याम्पस प्रशासनले मनोमानी गरेको उनको भनाई छ । यसअघि प्रथम वर्षको नतिजा समेत लापरबाही देखिएपछि विषय शिक्षक लोकनाथ कोइरालाले राजीनामा नै दिने तयारी गरेका थिए । तर, पछि विद्यार्थीहरूले विषय शिक्षकबाट भन्दा कलेज प्रशासन र परीक्षा शाखाबाट लापरबाही भएको भन्दै कोइरालालाई राजीनामा दिनबाट रोकेका थिए । 

आफ्नो कम अंक कसरी आयो भने सोध्दा सहायक क्याम्पस प्रमुख रामबहादुर कार्कीले २५ टाइप गर्दा १५ भएको हुन सक्ने बताएको खनालको भनाई छ । कार्कीले परीक्षा नियन्त्रण कार्यालयलाई भनेर सच्याउँछु भनेको तर अहिलेसम्म सुधार नभएको बताइन् । 

एक विद्यार्थी कलेज नै नगई पनि प्रयोगात्मक परीक्षामा २४ अंक आएको छ । जबकि विषय शिक्षकले उनलाई १२ मात्रै दिएका थिए ।  

तत्कालीन सहायक क्याम्पस प्रमुख गोविन्दप्रसाद आचार्यले नतिजा सुधार भएर आउने जनाएपछि मार्कसिट वितरण भएपछि सम्पर्कविहीन बनेको राईको भनाई छ । 

क्याम्पस प्रमुख ज्ञवालीले भने प्राविधिक कारणले नतिजा बिग्रिएको बताए । उनले केही विद्यार्थीको मात्रै नतिजा बिग्रिएको भन्दै सुधारका लागि परीक्षा नियन्त्रण कार्यालयसँग कुरा भइरहेको बताए । 

कोभिडका बेला केही विद्यार्थीको नतिजा त्रुटि हुने पुगेको बताए । तर, विद्यार्थीहरूले भने क्याम्पस प्रशासन र परीक्षा शाखाका कर्मचारीको गम्भीर लापरबाहीका कारण प्रत्येक वर्ष यस्तो समस्या देखिने गरेको बताएका छन् । त्यस्तो कार्यमा संलग्न कर्मचारीमाथि कारबाही गर्न विद्यार्थीहरूको माग छ ।

गत वैशाखमा सार्वजनिक भएको बिए प्रथम वर्ष २०७७ का विद्यार्थीको नतिजामा यस्तै खालको समस्या देखिएको थियो । अंग्रेजी विषयको आन्तरिक मूल्यांकनको परीक्षामा अधिकांश विद्यार्थीको अनुपस्थित देखिएको थियो । जबकि विषय शिक्षक लोकनाथ कोइरालाले भने आफूले दिएको अंकभन्दा मार्कसिटमा निकै फरक परेको प्रष्ट पारेका थिए । 

त्यो बेला क्याम्पस प्रमुख ज्ञवालीले प्राविधिक समस्या भएको कारण गडबडी भएको बताएका थिए । अहिले पनि त्यही समस्या दोहोरिएको हो । त्यो बेला सहायक क्याम्पस प्रमुख गोविन्द प्रसाद आचार्य थिए । त्यस्तै विद्यार्थी कल्याण शाखाको अध्यक्षमा देवी प्रसाद घिमिरे थिए । उनीहरूकै चलखेलका कारण उक्त समस्या देखिएको आरोप विषय शिक्षक कोइरालाले लगाएका थिए ।  

क्याम्पस प्रमुखले प्रतिबद्धता गरेअनुसार काम नगरेपछि विद्यार्थीहरूले फूलमाला दिएर धन्यवाद दिएका थिए । प्रयोगात्मक परीक्षामा आफूहरूलाई अनुपस्थित देखाएको भन्दै क्याम्पस प्रमुखलाई फूलमाला लगाएर धन्यवाद दिएका थिए । यो पटक दोस्रो वर्षको परीक्षाको नतिजा आउँदा समेत त्यस्तै समस्या देखिएको हो । 

‘एक पटक यस्तो भएको भए यसलाई हामी भूलबस भयो भन्थ्यौं होला । तर, प्रत्येक वर्ष यो समस्या दोहोरिरहेको छ । कसलाई बढी नम्बर दिन चलखेल गरिरहेका छन् ? यसमा हाम्रो आशंका भनेको आर्थिक चलखेल नै भइरहेको छ । यसमाथि अब क्याम्पस भन्दा पनि विश्वविद्यालयले छानबिन गर्नुपर्छ भन्ने हाम्रो माग हो’ विद्यार्थी राईले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप