आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

एसीसी यू–१९ एसिया कप क्रिकेट : पहिलो खेलमा पाकिस्तानसँग हार्‍यो नेपाल

सोमबार, २८ जेठ २०८१, १७ : १३
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । शुक्रबारको खेलमा नेपाली टोली बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग सात विकेटले पराजित भयो । 

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एकसय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।   

पाकिस्तानका लागि दुई ब्याट्सम्यानले अर्धसतकीय योगदान गरे । तेस्रो नम्बरका ब्याट्सम्यान अजान अवाइसले अविजित ५६ रन बनाए । उनले ६२ बलको सामना गरी आठवटा चौका प्रहार गरेका थिए । चौथो नम्बरका ब्याट्सम्यान साद बेगले पनि टोलीको खातामा ५० रन थपेका थिए । 

तेस्रो विकेटका रुपमा पेभेलियन फर्किनुअघि उनले ५६ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । उनलाई आकाश त्रिपाठीले सुवाष भण्डारीमार्फत क्याच गराएका थिए । केवल २३ रनको कुल स्कोरमा दुबै ओपनरलाई गुमाएको पाकिस्तानलाई अजान र सादले एक सय ३१ रनको बलियो स्थितिसम्म पुर्‍याएका थिए । 

मोहम्मद जिसन २० रनमा अविजित रहे । उनले केवल आठ बलमा दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । नेपाली टोलीका बलर गुल्सन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा १२ रन पाएको थियो । 

पाकिस्तानको पहिलो विकेट गुल्सन झाले लिएका थिए । पहिलो ओभरको तेस्रो बलमै गुल्सनले पाकिस्तानको विकेट लिएका थिए । उनले पाकिस्तानका ओपनर ब्याट्सम्यान सामल हुसैनलाई शून्य रनमै आउट गराएका थिए । गुल्सनले आफूले गरेको बलिङमा आफैले क्याच लिएका थिए ।

पाकिस्तानको दोस्रो विकेट पनि गुल्सन झाले नै लिएका थिए । उनले सहजिब खानलाई दिपेश कँडेलद्वारा क्याच गराएका थिए । ओपनर सहजिब खानले २९ बलमा दुई चौकाको मद्दतले १५ रन बनाएका थिए । दोस्रो विकेट गुमाउँदा पाकिस्तानले ६.४ ओभरमा २३ रन बनाएको थियो । 

त्यसअघि नेपालका लागि उत्तम रंगु थापामगरले सर्वाधिक ५१ रन बनाएका थिए । दिपेश कँडेलले पनि ३१ रनको योगदान गरेका थिए । ओपनर अर्जुन कुमालले २१ रन बनाएका थिए । नेपालले अतिरिक्त रुपमा २१ रन पाएको थियो । नेपालका माथिल्लो क्रमका ब्याट्सम्यान खासै चल्न सकेनन् । 

पाकिस्तानी टोलीका बलर मोहम्मद जिसन सबैभन्दा प्रभावकारी ठहरिए । उनी एक्लैले ६ विकेट लिएका थिए । उनले ९.२ ओभरमा एक मेडन राख्दै केवल १९ रन खर्चिएका थिए । अमिर हसनले पनि दुई विकेट हात पारे । उबैद शाह र अली असफान्दले पनि एक(एक विकेट लिएका थिए । 

यूएईको दुबइस्थित आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले तिलक भण्डारीका रुपमा पहिलो विकेट गुमाएको थियो । तिलक नौ बलमा एक चौकाको मद्दतले सात रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर अमिर हसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । तिलक आउट हुँदा नेपालले २.२ ओभरमा १० रन बनाएको थियो । 

दोस्रो विकेटका रुपमा नेपालले आकाश त्रिपाठीलाई गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका आकाश २२ बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर उबैद शाहले एलबीडब्लूको धरापमा पारेका थिए । ७.४ ओभरमा उनी आउट हुँदा नेपालले २५ रन बनाएको थियो । 

नेपालले तेस्रो विकेटका रुपमा कप्तान देब खनाललाई गुमाएको थियो । १३ बलको सामना गरेका उनले खातासम्म खोल्न सकेनन् । चौथो नम्बरमा क्रिज समाल्न आएका देबलाई पाकिस्तानी बलर मोहम्मद जिसनले अली असफान्दद्वारा क्याच गराएका थिए । ११.४ ओभरमा उनी आउट हुँदा नेपालले ३३ रन बनाएको थियो ।

चौथो विकेटका रुपमा नेपालले ओपनर ब्याट्सम्यान अर्जुन कुमाललाई गुमाएको थियो । ओपनर ब्याट्सम्यान अर्जुन ३७ बलमा तीन चौकाको मद्दतले २१ रन बनाउँदै आउट भएका थिए । १६ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ४३ रन बनाएको थियो । अर्जुनलाई पाकिस्तानी बलर मोहम्मद जिसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । जिसनले लिएको यो दोस्रो विकेट थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको थियो । राष्ट्रिय टोलीका प्रभावशाली सदस्य समेत रहेका गुल्सन चार बलमा एक रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर अली असफान्दले बोल्ड गरेका थिए । १७ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले पाँच विकेट गुमाएर ४६ रन बनाएको थियो । 

छैटौँ विकेटका रुपमा नेपालले दिपेश कँडेललाई गुमाएको थियो । उनी ३१ रन बनाउँदै आउट भएका थिए । उनले जिम्मेबारीपूर्वक खेल्दै ५९ बलको सामना गरी एक छक्का र दुई चौका पनि प्रहार गरेका थिए । दिपेश आउट हुँदा नेपालले ३३.४ ओभरमा एक सय १४ रन बनाएको थियो । 

दीपेश र उत्तम रंगु थापामगरले नेपालका लागि ६८ रनको साझेदारी गरेका थिए । दिपेशलाई पाकिस्तानी बलर मोहम्मद जिसनले विकेटकिपर साद बेगद्वारा क्याच गराएका थिए । जिसनले लिएको यो तेस्रो विकेट थियो । यसका अतिरिक्त पाकिस्तानी विकेटकिपरले लिएको यो तेस्रो क्याच पनि थियो ।

नेपालले सातौँ विकेटका रुपमा विशालबिक्रम केसीलाई गुमाएको थियो । उनी नौ बलमा केवल एक रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनी पाकिस्तानी बलर मोहम्मद जिसनको बलमा सामल हुसैनद्वारा क्याच भएका थिए । जिसनले लिएको यो चौथो विकेट थियो । चार विकेट लिँदासम्म उनले सात ओभरमा एक मेडन राख्दै केवल १३ रन खर्चिएका थिए । विशाल आउट हुँदा नेपालले ३५.४ ओभरमा एक सय १९ रन बनाएको थियो ।

आठौँ विकेटका रुपमा विपिन रावल आउट भएका थिए । नौ बलको सामना गरेका विकेककिपर ब्याट्सम्यान विपिनले खातासम्म खोल्न सकेनन् । ३८ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले एक सय २८ रन बनाएको थियो ।  विपिनको विकेट पाकिस्तानी बलर मोहम्मद जिसनले लिएका थिए । जिसनले लिएको यो पाँचौँ विकेट थियो । जिसनले फालेको बल ‘नो बल’ भएको भन्दै थर्ड अम्पायरले निणर्यमा केही समय लगाएको थियो । पाँचौँ विकेट लिँदा जिसनले आठ ओभरमा केवल १५ रन खर्चिएका थिए । 

नवौँ विकेटका रुपमा नेपालले उत्तम रंगु थापामगरलाई गुमाएको थियो । उनी ५१ रन बनाउँदै आउट भएका थिए । उनले ७६ बलको सामना गरी दुई छक्का र तीन चौका पनि प्रहार गरेका थिए । उनलाई पाकिस्तानी बलर अमिर हसनले आफ्नो बलमा आफैले क्याच लिएका थिए । अमिर हसनले लिएको यो दोस्रो विकेट थियो । उत्तम आउट हुँदा नेपालले ३९.५ ओभरमा एक सय ३५ रन बनाएको थियो ।

नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र अफगानिस्तान पनि रहेका छन् । नेपाली टोलीले समूहको तेस्रो तथा अन्तिम खेल बलियो टेस्ट राष्ट्र भारतसँग आगामी मंगलबार खेल्नेछ ।  प्रतियोगिताको समूह ‘बी’ मा भने बंगलादेश, जापान, श्रीलंका र आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । दुबै समूहको पहिलो र दोस्रो स्थानमा रहने टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल डिसेम्बर १७ तारिखमा हुनेछ । 

यू—१९ एसिया कप क्रिकेटलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी यू–१९ विश्वकप क्रिकेटको तयारीका रुपमा लिइएको छ । यू-१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी ४ तारिखसम्म दक्षिण अफ्रिकामा आयोजना हुँदैछ । 

नेपाली टोलीले मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कपको उपाधि जित्दै यू- १९ एसिया कपमा स्थान बनाएको थियो । एसीसी यू–१९ प्रिमियर कपमा उपविजेता बनेको यूएई र तेस्रो स्थानमा रहेको जापान पनि यू—१९ एसिया कपमा छनोट भएका थिए ।

यसैगरी नेपाली टोलीले यूएईलाई उसैको घरेलु मैदानमा हराउँदै यू१९ विश्वकपमा स्थान पक्का गरेको थियो । यू- १९ विश्वकपमा भने नेपाल समूह ‘डी’ मा परेको छ । नेपालको समूहमा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले अन्तिम विकेटका रुपमा आकाश चन्दलाई पाँच रनमा गुमाएको थियो । उनलाई पनि जिसनले नै बोल्ड गरेका थिए । सुवाष भण्डारी आठ रनमा अविजित रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप