आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनसेल प्रकरणमा आर्थिक लेनदेन भएको उपमहासचिव  पुनको आरोप

सोमबार, २८ जेठ २०८१, २० : ५३
सोमबार, २८ जेठ २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले एनसेल खरिद–बिक्री प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्नेगरी आर्थिक लेनदेन भएको हुनसक्ने बताएका छन् । 

पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाले आज आयोजना गरेको प्रशिक्षणमा पूर्वमन्त्री पुनले एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको आरोप लगाए । 

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तदारुकताका साथ एनसेल प्रकरण छानबिन अघि बढाएको उल्लेख गर्दै नेता पुनले तथ्य र प्रमाणका आधारमा राज्य ठगी गर्ने काममा संलग्न जोकसैलाई पनि कारबाही हुने बताए । 

“सञ्चार माध्यममार्फत एनसेल प्रकरण सार्वजनिक हुँदा प्रधानमन्त्री कोप–२८ को सिलसिलामा देशबाहिर हुनुहुन्थ्यो । उहाँ आउने बित्तिकै सत्तारुढ गठबन्धनको शीर्ष नेताको बैठक बोलाएर छानबिन गर्नका लागि सहमत गराउनुभयो”, उनले थपे, “भोलिपल्टै मन्त्रिपरिषद्ले उच्चस्तरीय समिति बनाएर छानबिन अघि बढाएको छ, राज्यविरुद्धको अपराध र ठगीमा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन ।”

सिङ्गो पार्टी र जनता माफियाकरण विरुद्धको अभियानमा साथमा रहेको बताउँदै उपमहासचिव पुनले बालुवाटार जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण र मिटरब्याजीविरुद्धको अभियानमा जनताले सरकारलाई साथ दिएको बताए । 

नेता पुनले सरकार केही ठूला भ्रष्टाचार प्रकरणका फाइल खोल्ने तयारीमा रहेको जानकारी दिँदै सुशासनसँगै अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी विकास निर्माणका कामलाई तीव्र गतिमा बढाउने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप