आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घुर्मीमा हामी चिहान खन्दैछौँ : गोपाल किराँती

सोमबार, २८ जेठ २०८१, २१ : २९
सोमबार, २८ जेठ २०८१

विराटनगर । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका एक जना नेताले उदयपुरको घुर्मीमा एमालेको चिहान खन्दै गरेको बताएका छन् । एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नेता गोपाल किराँतीले आफूहरुले घुर्मी र हर्कपुरमा चिहान खन्दै गरेको बताउँदै त्यसमा को को पुरिने हो भन्ने प्रश्न गरेका हुन् ।

खोटाङको सदरमुकाम दिक्तेलमा शुक्रबार पत्रकार सम्मेलन गर्दै किराँतीले भने, ‘चिहानमा गाड्नु पर्ने हो या नपर्ने हो ? हामी शान्तिपूर्ण गर्छौं । शान्तिपूर्ण भनेर चिहानको कुरा भन्नुहोला । तर, शान्तिपूर्ण आन्दोलनमा हाम्रा साथीहरुको चिहान खने हामी छोड्नेवाला छैनौँ र छोड्दैनौँ । हामी तयारी गरिरहेका छौँ ।’

उनले एमालेका साथीहरुले एमालेलाई मात्रै किन भनेर प्रश्नसमेत गर्ने गरेको उल्लेख गर्दै भने, ‘एमाले नै जोरी खोजेर आउने, अनि के गर्नु त ?’ किराँतीले कोशी नामको पक्षमा हस्ताक्षर गर्ने ८२ जना सांसदलाई निर्णय सच्याउने दबाब दिनका लागि निषेध गरिएको बताए ।

‘जसले हस्ताक्षर गरे । उनीहरुलाई दबाब गरिरहेका हौँ । उनीहरुलाई दबाब दिनका लागि, हाम्रो कुरा सुनाउनका लागि कार्यक्रम गरिएको हो,’ उनले भने, ‘८२ सांसद जबर्जस्ती आए कालोमोसो दल्ने वा कालो झण्डा देखाउने काम हुन्छ ।’

एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई रोक्नुको कारणचाहिँ के हो नि भन्ने प्रश्नमा किराँतीले भने, ‘ओलीजीले हामीलाई आतङ्ककारी भन्नुभयो, अपराधी भन्नुभयो । योगेशजीले पहिचानवादीलाई लल्कार्नु भयो । महेश बस्नेतले तेरो बाउको बिर्ता हो भनेर धम्क्याए । त्यसकारण उनीहरुलाई हामी निषेध गर्ने, भण्डाफोर गर्ने र प्रतिरोध गर्ने हो ।’

किराँतीले पहिचानवादीलाई नै लक्षित गरेर एमालेले अभियान चलाएको दाबी गरे । ‘हामीलाई कुल्चनकै लागि यो अभियान चलाइएको हो । एमाले अध्यक्ष ओलीले दार्चुलादेखि हामीलाई गाली गर्दै आउनुभएको छ । अभियान चलाएको हो भने उहीँदेखि पहिचानवादी विरुद्ध किन बोल्दै आउनुपर्यो ?,’ किराँतीले प्रश्न गरे ।

उनले आदिवासी तथा प्रगतिशीलहरुले कि मासिनु पर्यो, कि लड्नुपर्यो भन्दै आक्रामक अभिव्यक्ति दिएका हुन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कोशी प्रदेश पहिचानवादीको बिर्ता नभएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

नेकपा एमालेले मङ्सिर १४ गते (बुधबार)देखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने पहिचानवादीको तयारी छ । यसअघि किराँतीले एमालेले जबर्जस्ती गरे आफूहरुको लासमाथि टेकेर हिँड्नुपर्ने चेतावनी दिएका थिए । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले पनि मङ्सिर २६ गतेदेखि उदयपुरको घुर्मीदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालीन बन्द आह्वान गरेको छ । मङ्सिर २६ गते नै उदयपुरको घुर्मीमा एमालेले सञ्चालन गरेको अभियान पनि आइपुग्ने कार्यक्रम छ ।

दुवै पक्ष एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशङ्कामा प्रहरीले भने एकीकृत सुरक्षा योजना लागु गर्ने जनाएको छ । ‘एकीकृत सुरक्षा योजना अनुसार त्यहाँ सुरक्षा व्यवस्था लागु हुन्छ । नेपाल प्रहरी तैनाथ छ । जसको कार्यक्रममा पनि हामी सुरक्षा दिन्छौं,’ प्रदेशका प्रहरी प्रमुख डीआइजी राजेशनाथ बाँस्तोलाले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप