आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

५८ वर्षको उमेरमा सन्न्यास फिर्ता लिएर मैदानमा फर्कँदै ब्राजिलियन फुटबल लिजेन्ड रोमारियो

आइतबार, ०२ असार २०८१, १७ : ०६
आइतबार, ०२ असार २०८१

काठमाडौँ । आफ्नो समयका प्रभावशाली फुटबलर हुन्, रोमारियो । उनी ब्राजिललाई फिफा विश्वकप फुटबलको उपाधि जिताउने टोलीका महत्वपूर्ण सदस्य पनि हुन् । उनले सन् १९८७ देखि सन् २००५ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए ।

रोमारियोले ब्राजिलको राष्ट्रिय टोलीबाट ७० खेल खेल्दै ५५ गोल गरेका थिए । उनी उमेर समूहको विभिन्न टोलीमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीसम्म पुगेका थिए । यी प्रभावशाली स्ट्राइकरले विभिन्न क्लबबाट ब्यवसायिक फुटबल पनि खेलेका थिए । 

कुशल फुटबलरका अतिरिक्त उनी ब्राजिलका चर्चित राजनीतिज्ञ पनि हुन् । राजनीतिज्ञका रुपमा उनले संसद सदस्यको भूमिका समेत निर्वाह गरिसकेका छन् । खेलाडीको भूमिकाबाट विदा लिएपछि उनले प्रशिक्षकको भूमिका पनि काम गरिसकेका छन् । 

रोमारियो हाल उमेरले ५८ वर्ष पुगिसकेका छन् । उनले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको पनि १५ वर्षभन्दा बढी समय बितिसकेको छ । अहिले आएर उनले एउटा अप्रत्यासित निर्णय लिएका छन् । उनी सन्न्यास फिर्ता लिएर पुनः खेलाडीको भूमिकामा मैदानमा सक्रिय हुने तयारी गर्दैछन् । 

ब्यवसायिक खेलजीवनबाट सन्न्यास लिनुअघि उनी ब्राजिलियन क्लब अमेरिका आरजेमा आबद्ध थिए । अहिले फेरि उनी आफ्नो सन्न्यास फिर्ता लिएर त्यही क्लबबाट  ब्यवसायिक फुटबल खेल्न चाहन्छन् । उनले अमेरिका आरजेबाट ब्यवसायिक फुटबल खेल्न आफ्नो नामसमेत दर्ता गरिसकेको पनि बताएका छन् ।
रोमारियोसहितको ब्राजिलियन टोलीले सन् १९९४ मा फिफा विश्वकपको उपाधि उचालेको थियो । अमेरिका आरजे क्लबले हाल रियो राज्य च्यापिम्यनसिपअन्तर्गत दोस्रो डिभिजनको प्रतियोगिता खेलिरहेको छ । अमेरिका आरजे क्लब पहिलो डिभिजनमा उक्लन सँघर्षरत छ ।

‘म आफ्नो सबैभन्दा मन पर्ने क्लब अमेरिकालाई थोरै भए पनि सहयोग गर्न चाहन्छु । मेरो अभियानमा साथ दिने सबैप्रति आभार पनि ब्यक्त गर्न चाहन्छु,’ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत रोमारियोले भनेका छन् । 

रोमारियोका छोरा ३० वर्षीय रोमारिन्हो पनि सोही क्लबबाट ब्यवसायिक फुटबल खेल्छन् । रोमारिन्हो पनि स्ट्राइकर नै हुन् । ‘सन्न्यास फिर्ता लिएर मैदानमा फर्कने पछिल्लो निर्णयले मेरो अर्को सपना पनि साकार हुनेछ । म आफ्नो छारासँगै मैदानमा दौड्ने छु,’ रोमारियोले भनेका छन् । 
उनले अमेरिका आरजे क्लबबाट थोरै समयमात्र खेल्ने पनि बताएका छन् । रोमारियो अमेरिका आरजे क्लबका अध्यक्ष पनि हुन् । उन यही जनवरीमा क्लबको अध्यक्ष बनेका थिए । उनले सन् २००८ मा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए । उनले आफ्नो सक्रिय खेलजीवनमा सात सयभन्दा बढी गोल गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप