बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट, जिउँदै जलाउने धम्की
सिरहाको नरहा गाउँपालिका–३ चन्द्र अयोध्यापुर खोरियामा बोक्सी आरोपमा एक महिलामाथि निर्घात कुटपिट गरिएको छ ।
छिमेकी युवकलाई बोक्सी मन्त्र र टुनामुना गरी बिरामी बनाएको भन्दै ४५ वर्षीया बौवावती महतो कुटिएकी हुन् ।
घरमा पालिएका पशु–चौपायालाई घाँसपानी गरिरहेका वेला स्थानीय हुल बाँधेर आएका छिमेकीहरुले लछारपछार गर्दै कुटपिट गरेको पीडित महतोले बताइन् ।
कुटपिटबाट उनको शरीरका विभिन्न ठाउँमा नीलडाम पर्नुका साथै चोटपटक लागेको छ । घटनाबारे जानकारी पाएर पनि इलाका प्रहरी कार्यालय मिर्चैयाले दोषीलाई पक्राउ नगरेको पीडितको आरोप छ ।
यता, घटनाको विषयमा मौखिक उजुरी आए पनि लिखित जाहेरी नआएकाले पक्राउ गर्न नसकेको प्रहरीको भनाइ छ ।
नरहा गाँउपालिका ३ का अमिरी सदायका छोरा करिब १७ वर्षीय सुजितकुमार सदायलाई भूतप्रेत लगाएको आरोप लगाउँदै छिमेकी सुजितकी आमा, दिदी बहिनीलगायतले लछारपछार पार्दै चौतारामा लगि कुटपिट गरेको महतोले सुनाइन् ।
‘घरबाट घिसार्दै चौतारोमा लगेर बोक्सी हुँ भन्न दबाब दिए,’ उनले भनिन्, ‘बोक्सी नस्विकारे जिउँदै जलाउँछौँ भन्ने धम्की दिए ।