अरबौं वर्षसम्म डाटा सुरक्षित राख्न सकिने डिस्क
ब्रम्हाण्डको आयु कति होला ? अनुमान मात्रै गर्न सकिने कुरा हो । वैज्ञानिकहरुले अनुमान गरेअनुसार, ब्रम्हाण्डको आयु १३.७७२ अरब वर्ष भइसकेको छ । त्यसै गरी, सूर्यको आयु ४.६०३ वर्ष र पृथ्वीको आयु चाहिँ ४.५४३ अरब वर्ष पुगिसकेको छ ।
मानव जीवनको आयुको तुलनामा यो अति धेरै, सोच्नै नसक्ने समयावधि हो ।
अब कल्पना गर्नुहोस्, के यति धेरै समयावधिभरि वा अझ भनौं, त्योभन्दा पनि बढी समयसम्म रचनाहरु, सिर्जनाहरु, फोटाहरु, भिडियोहरु सुरक्षित गरेर राख्न सकिएला ?
अहँ, त्यो त सम्भव नै छैनन नि ! सामान्य ढंगले सोच्दा हामीलाई यस्तो लाग्न सक्छ ।
तर वेलायतको युनिभर्सिटी अफ साउथएम्पटनका अनुसन्धानकर्ताहरुले त्यो असम्भवलाई सम्भव हुन सक्ने विचित्रको डिस्क आविष्कार गरेका छन् ।
सिसाले बनेको, आकारमा सानो खालको त्यो डिस्कमा डाटाहरु लेजरको मद्दतले लेखिने गरिन्छ । पाँच आयामिक (five dimensional (5D) डिजिटल डाटा नाम दिइएको यो प्रविधिको प्रयोग गरेर १३.८ अरब वर्षसम्म सुरक्षित हुने गरी डाटाहरुलाई संग्रहित गर्न सकिन्छ ।
त्यति मात्र कहाँ हो र ? त्यो एउटै डिस्कमा मात्रै ३६० टेराबाइट डाटाहरु पनि संग्रहित गर्न सकिन्छ । यो भनेको एउटा कम्प्युटरमा जडान गरिएको हार्डडिस्कको क्षमता १ टेराबाइट मान्ने हो भने ३६० वटा कम्प्युटर हार्डडिस्कमा संग्रहित गर्न सकिने डाटा बराबरको क्षमता हो ।
यो भनेको डाटा संग्रहको क्षेत्रमा अद्भुत आविष्कार हो । अहिलेका प्रविधिले एउटै डिस्कमा त्यति धेरै र त्यत्तिका लामो समयसम्म डाटा संग्रहित र सुरक्षित गर्नै सक्तैन ।
वैज्ञानिकहरुले त्यस्तो डिस्कमा मानवाधिकारको विश्वव्यापी घोषणापत्र, म्याग्नाकार्ट, राजा जेम्सको बाइबलहरु संग्रहित र सुरक्षित गरिसकेका छन् ।