लागूऔषध सहित ३ जना समातिए
पोखरा – तीन लागूऔषध कारोबारीलाई प्रहरीले शनिवार पोखरामा नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार लागूऔषध र नगदसहित उनीहरुलाई समातिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार नाईट्रोभ्याट १० लेखिएको ट्यावलेट १२० चक्की र नगद रु ९६ हजार ४ सय ५० उनीहरुको साथबाट बरामद गरिएको छ ।
शंका लागेर चेकजाँच गर्दा कारमा सवार ४६ वर्षीय सुवास गुरुङको साथमा रहेको कालो रंगको झोलामा लागूऔषध र नगद भेटिएको प्रहरीले जनाएको छ। रामबजार बस्ने सुवाससहित लमजुङ घर भई पोखरा – ११ रानीपौवा बस्ने २१ वर्षीय युवराज गुरुङ र सोहि ठाउँ बस्दै आएकी २२ वर्षीया आशा गुरुङलाई प्रहरीले नियन्त्रण लिएको हो ।
शंका लागेर चेकजाँच गर्ने क्रममा झोलाबाट लागूऔषध र पैसा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले बताए ।
तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पोखरा महेन्द्रपुलबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।