मोफसलको फुटबललाई एन्फाको कडाई
बुधबार, १८ भदौ २०७६, २२ : २७
काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फा) ले मोफसलमा सञ्चालन हुने फुटबल प्रतियोगिताका लागि कडा नियमावली ल्याएको छ । एन्फाले काठमाडौं बाहिर आयोजना हुँदै आएका प्रतियोगितालाई व्यवस्थित गर्न नियमावली जारी गरेको हो । यस नियमावलीले गोल्ड कपहरुलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरेको छ । नियमावलीमा प्रतियोगितामा सहभागी हुने टोली, पुरस्कार राशी र व्यवस्थापनलाई आधार बनाएर गोल्डकपको श्रेणी विभाजन गरिएको छ ।
नियमावलीमा क र ख श्रेणीको प्रतियोगितका लागि १० टोली र ६ वटा ए डिभिजन क्लबको सहभागिता अनिवार्य गरिएको छ । ग श्रेणीको गोल्डकपमा आठ टोली र चार वटा ए डिभिजन क्लब हुनुपर्ने उल्लेख छ । नियमावलीमा क वर्गको प्रतियोगिता आयोजना गर्दा २० हजार, ख वर्गको गर्दा १५ हजार र ग वर्गको गर्दा एन्फालाई १० हजार रुपैयाँ दस्तुर बुझाउनुपर्ने पनि उल्लेख छ ।