आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘कहाँ जाने ? जहाँ मन शान्त हुन्छ...’

आइतबार, ०५ असोज २०७६, १९ : ३९
आइतबार, ०५ असोज २०७६

‘कहाँ जाने ?
त्यहीँ, जहाँ जान आवश्यक छ
जहाँ अपमान होइन सम्मान हुन्छ
जहाँ पीडा बिसाउन सकिन्छ
जहाँ मन शान्त हुन्छ
जहाँ खुशी साटासाट गर्न सकिन्छ
जहाँ जानु प्रिय हुन्छ।...।’

विमानस्थलमा संसदीय समितिको कार्यक्रम नसकिँदै हिँड्न खोज्दा सोधियो, ‘कहाँ जाने ?’ 

विमानस्थल जानुभन्दा पनि अघिल्लो कार्यक्रमलाई पनि छोट्याएर हिँड्न लाग्दा त्यही सोधिएको थियो, ‘कहाँ जाने ?’ 

‘कहाँ जाने ? कहाँ जाने ?’ लगातारका प्रश्नले सत्तारूढ नेपाल कम्युनिस्टपार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाललाई दिक्क लगाएपछि उनी जवाफ दिन बाध्य भए, “त्यहाँ जाने, जहाँ जाँदा मन शान्त हुन्छ ।”

राजनीतिक नेताहरू साहित्यिक र सांस्कृतिक कार्यक्रममा आउँदा विश्राम पाएको महसुस गर्ने गर्छन् । प्रायः राजनीतिक कार्यक्रममा व्यस्त रहने र समयको पालना गर्ने नेता नेपाललाई त्यस्तै अनुभव भएको हुनुपर्छ, त्यसो त उनका पिता मङ्गलकुमार नेपाल पनि वाङ्यमयप्रेमी अन्वेषक थिए ।

विमानस्थलमा दिइएको ‘त्यहाँ जाने’ भन्ने उक्त जवाफ पूर्वप्रधानमन्त्री नेपालले शमी साहित्य प्रतिष्ठानको ११ औँ वार्षिकोत्सवका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आइतबार आयोजित कार्यक्रममा मञ्चमा रहेका संस्कृतिविद् सत्यमोहन जोशी, प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वकुलपति वैरागी काइँला, पूर्वउपकुलपति प्रा. डा. वासुदेव त्रिपाठी, डा. मोदनाथ प्रश्रित, प्रा. डा. चन्द्र भद्रा, तेजेश्वरबाबु ग्वङ्गः लगायतलाई काव्यिक शैलीमा सुनाए ।

कतै भेटिएको र मन परेको त्यस उक्तिलाई उनले केही मिलाएर रोचकरूपमा प्रस्तुत गरेपछि भाषण सुन्ने तरखरमा रहेका सहभागीहरु कविता सुनिएकामा आश्चर्यमा परेका थिए ।

सभाध्यक्ष प्रतिष्ठानका अध्यक्ष पूर्वमन्त्री प्रदीप नेपालले यसलाई साहित्यको शक्तिका रूपमा लिए । अध्यक्ष नेपालले भने, “साहित्यले नेता नेपाललाई आज कवि बनायो । यो साहित्यको देन हो ।”

वरिष्ठ नेता नेपालले पूर्वीय साहित्य समृद्ध भएको र संसारको ध्यान वेद, पुराण र उपनिषद्का ज्ञान र खोजतर्फ आकर्षित हुन थालेकाले नेपालीहरु हिनताबोधमा रहनुनपर्ने जनाउँदै भने, “ हामीले नकारात्मकताबाट होइन सकारात्मताबाट सिक्नुपर्छ । गरेर देखाउनुपर्छ । सपना देख्नुपर्छ तर सपनालाई विपनालाई रूपान्तरण गर्नका लागि ठोस योजना बनाउन सक्नुपर्छ । सही योजना नभए सपनालाई कहिल्यै विपनामा रूपान्तरण गर्न सकिँदैन । योजनाको अनुगमन पनि सहीरूपमा गर्न सक्नुपर्छ ।”

पार्टीभित्रको असन्तुष्टिलाई सङ्केत गर्दै उनले सरकारको रकम त्यत्तिकै खर्च हुने तर काम नहुने अवस्थाको अन्त्यका लागि नियमित अनुगमन गर्न, राम्रोलाई पुरस्कृत र नराम्रोलाई दण्डित गर्न सक्नुपर्नेमा जोड दिए ।

नेता नेपालले मूलधारको राजनीतिबाट असन्तुष्ट भई हिंसात्मक गतिविधिमा लागेका नेत्रविक्रम चन्दको समूहलाई वार्तामा आउन र जनताको मत लिएर शासन सत्तामा आउन सक्ने प्रबन्ध संविधानले गरेको स्मरण गराए । यति बोल्दा बोल्दै नेता नेपाललाई अन्यत्र जान हतार भइसकेको थियो । समयको व्यवस्थापन गर्न आयोजक, जोशी र उप्रेतीको पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी समापन गराएको थियो । स्रष्टाहरुसँग सामूहिक तस्बीर लिएर नेता नेपाल फटाफट निस्र्कि । 

कार्यक्रममा रु एक लाख एक हजार १०१ राशिको ‘शमी साहित्य साधना सम्मान’ माधव भँडारीलाई, रु २५ हजार १०१ राशिको ‘शमी युवा प्रोत्साहन पुरस्कार’ गायिका मेलिना राईलाई, रु २० हजार १०१ राशिको ‘सम समता लैङ्गिक अध्ययन पुरस्कार’ गत वर्षको कक्षा १२ मा लैङ्गिक अध्ययनमा सर्वोत्कृष्ट हुने विद्यार्थी आश्वासन दाहाललाई प्रदान गरियो । सो संस्थाले विसं २०६७ देखि सम्मान वितरण आरम्भ गरेको हो । 

यसैगरी, प्रतिष्ठानबाट प्रकाशित प्रा. डा. वीणा पौडेलको ‘वेदपुराणका रत्नहरु’, घनश्याम राजकर्णिकारको ‘प्रनितिधि नियात्रा’ र दाहाल यज्ञनिधिको ‘जदौ’ पुस्तक लोकार्पण गरियो ।

समालोचक प्रा. राजेन्द्र सुवेदी र प्रा. डा. खगेन्द्रप्रसाद लुईंटेलले स्रष्टा भँडारीले नेपाली साहित्यमा दिएको योगदानलाई प्रतिष्ठानले उचित मूल्याङ्कन गरेको बताए । स्रष्टा भँडारीले आफू इलामको कुनामा लुकेर लेखिरहेको व्यक्तिलाई सम्झिएकामा खुशी व्यक्त गरे । 

    समालोचक डा. ज्ञानु अधिकारीले ‘शमी’ मासिकको दोस्रो अङ्कको समीक्षा गर्दै पत्रिकामा साहित्यिक बहस छेड्ने खालका समालोचनाहरु प्रकाशन गर्न सुझाव दिए । 

कार्यक्रममा संरक्षक डोलिन्द्रप्रसाद शर्माले जन्मस्थल बाग्लुङको तित्याङमा ‘लेखक गाउँ’ स्थापनाका लागि आफ्नो पैत्रिक सम्पत्तिको आठ रोपनी जग्गा प्रतिष्ठानको नाममा हस्तान्तरण गर्ने घोषणा गर्दै ‘शमी’ साहित्यिक मासिकलाई निरन्तरता दिइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप